• १८ माघ २०८२, आइतबार

नरैनापुरमा धार्मिक मेला सुरु

blog

मेलाको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष शाह । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, माघ १८ गते । हिन्दु मुस्लिम एकता र नेपाल भारतका नागरिकबिच सम्बन्ध प्रगाढ गर्ने प्रतिकको रूपमा बाँकेको नरैनापुरमा १५१ वर्षदेखि हरेक वर्ष लाग्दै आएको प्रसिद्ध धार्मिक मेला सुरु भएको छ । 

प्रसिद्ध मुस्लिम सुफिसन्त हजरत खलीफा नूर अहमद शाहको मजारमा प्रत्येक वर्ष आयोजना गरिने धार्मिक मेला शनिबार रातिबाट सुरु भएको हो । सो मेलामा नेपालसहित छिमेकी मुलुक भारतका हजारौं हिन्दु मुस्लिम धार्मिक श्रद्धालुहरूको सहभागिता रहेको छ ।

नेपालगन्जदेखि करिब ४७ किलोमिटर पुर्वमा अवस्थित नरैनापुर गाँउपालिका–२ स्थित खलीफा नूर अहमद शाहको मजार शरीफमा लागेको उक्त मेलाको उदघाटन नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले गर्नुभयो । मेला एकसाता सम्म सञ्चालन हुने जनाइएको छ । सो अवसरमा बोल्दै अध्यक्ष शाहले खलीफा नूर अहमद शाहको मजारलाई प्रमुख धार्मिक सदभाव पर्यटनस्थलको रूपमा विकास गर्ने गाउँपालिकाको योजना रहेको बताउनुभयो ।  

नरैनापुरका हिन्दु मुस्लिम मात्र नभई देशका विभिन्न भागका हिन्दु मुस्लिमसँगै सीमापारी भारतका पनि सयौं हिन्दु मुस्लिमको सहभागिता रहने सो मेलालाई धार्मिक एकताको मेलाको रूपमा पनि मनाइने गरिएको उहाँको भनाइ थियो । 

प्रसिद्ध सुफीसन्तकोे समाधीमा मेलाको बेला आउने हिन्दु मुस्लिम जो कोहीको पनि मनोकामना पूरा हुँदै आएकोले मेलामा आउनेहरूको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । 

विशेषगरी राति लाग्ने सो मेलामा रातिको समयमा धार्मिक प्रवचन हुँदै आएको छ भने भाकल गरेकाहरूले दैनिक रूपमा बाबाको समाधीमा फातिहा, नियाज, तथा धार्मिक क्रियाकलाप गर्ने गरेका छन् । 

धार्मिक सदभाव र एकताको प्रतिकको रूपमा रहेको सो मजारको संरक्षण र विकास सरकारले गर्नुपर्ने मेलामा सहभागीहरूको माग छ । मेलामा सहभागी हुन नेपालगन्जबाट पुग्नुभएका वडा नम्बर २ का रमजान अलि र दिनेश थापाले यो समाधीले धार्मिक एकता र सदभावलाई बढाउन अहम भूमिका निर्वाह गरेकोले यसलाई अझै व्यवस्थित गर्नुपर्ने बताउनुभयो । 

उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका निवर्तमान प्रदेशसभा सदस्य कृष्णा केसी नमुना, गाउँपालिकाका सहायक प्रशासकीय अधिकृत भरत महतो, वडाध्यक्षहरू मसुद अहमद शाह र इशाक जोलाहा, पत्रकार आलम खान तथा मेला संयोजक गुफरान शाह लगायतको सहभागिता रहेको थियो ।  

मेलामा सहभागी श्रद्धालुहरूलाई खानेपानी, आवास तथा स्वास्थ्य उपचारका लागि विभिन्न शिविरहरू सञ्चालन गरिएको नरैनापुर गाउँपालिकाले जनाएको छ ।