• १८ माघ २०८२, आइतबार

'कर्पोरेट एक्सिलेन्स' अवार्डबाट गुरुङ र आचार्य सम्मानित

blog

काठमाडौँ, माघ १८ गते । नेपालको निजी क्षेत्र र सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने उत्कृष्ट संस्था तथा व्यक्तित्वहरूलाई सम्मान गर्दै 'कर्पोरेट क्लब नेपाल'ले आफ्नो प्रतिष्ठित अवार्ड समारोहको पाँचौँ संस्करण सम्पन्न गरेको छ। एक विशेष समारोहमा 'अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स' र 'अवार्ड्स फर डिस्टिंग्विस्ड सर्भिस २०२५' प्रदान गरिएको हो।

मन्त्री अनिलकुमार सिन्हा र मन्त्री रामेश्वर प्रसाद खनालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमले मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणमा निजी क्षेत्रको भूमिकालाई उजागर गरेको छ।

पाँच महिनाको तयारी र निष्पक्ष छनोट समारोहका बारेमा जानकारी दिँदै आयोजक कमिटीकी सह-अध्यक्ष सम्झना शर्माले यस कार्यक्रमको तयारी विगत ५ महिना अघिदेखि नै सुरु भएको बताउनुभयो। 

उहाँका अनुसार, नेपाल राष्ट्र बैँकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालको संयोजकत्वमा गठित उच्चस्तरीय निर्णायक मण्डलले विगत ४ महिनादेखि अहोरात्र खटेर विजेताहरूको छनोट गरेको थियो।

निर्णायक मण्डलमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राडा. महानन्द चालिसे, पूर्व सचिव विनोद सिंह, अर्थशास्त्री डा. गजेन्द्र विष्ट, नेपाल बैङ्कर्स सङ्घका पूर्व अध्यक्ष सुनील केसी र नेपाल पत्रकार महासङ्घकी उपाध्यक्ष नितु पण्डित रहनुभएको थियो।

यस वर्षको नेतृत्व अवार्ड (पुरुष) बाट उद्यमी मीनबहादुर गुरुङ र नेतृत्व अवार्ड (महिला) बाट प्रमिला आचार्य रिजाल सम्मानित हुनुभएको छ। 

त्यसै गरी, संस्थागत विधातर्फ सिद्धार्थ बैँक, नेपाल लाइफ इन्स्योरेन्स, युनिलिभर नेपाल, बुद्ध एयर र साल्ट ट्रेडिङ लगायतका संस्थाहरूले आ-आफ्नो विधामा उत्कृष्टताको अवार्ड प्राप्त गरेका छन्।

सामाजिक सेवा र विशिष्ट योगदानतर्फ क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरी, फुटबलर सावित्री भण्डारी (साम्बा), कराँते खेलाडी अरिका गुरुङ र समाजसेवी कालु हमाल सम्मानित हुनुभएको छ। स्वास्थ्य क्षेत्रमा तिलगङ्गा आँखा प्रतिष्ठान र शिक्षा क्षेत्रमा दरबार हाई स्कुललाई उनीहरूको अविष्मरणीय सेवाका लागि पुरस्कृत गरियो।

चिकित्सा र सेवा क्षेत्रमा लामो समय योगदान पुर्‍याउनुभएका प्राडा. जगदीश लाल वैद्य र प्राडा. अशोककुमार बास्कोटालाई 'लाइफटाइम एचिभमेन्ट अवार्ड' बाट विभूषित गरिएको छ।

प्रोत्साहनको साझा मञ्च कार्यक्रममा बोल्दै सह-अध्यक्ष शर्माले भन्नुभयो, "हाम्रो उद्देश्य समाजमा सकारात्मक काम गर्नेहरूको मनोबल उच्च पार्नु र अरूलाई पनि असल कर्मका लागि प्रेरित गर्नु हो। आगामी दिनमा यसलाई समाजका हरेक क्षेत्रमा योगदान पुर्‍याउनेहरूको साझा चौतारीका रूपमा विकास गर्ने छौँ।"

यस्ता सम्मानले निजी क्षेत्रमा सुशासनको प्रवर्धन गर्ने र नयाँ पुस्ताका उद्यमीहरूलाई ऊर्जा प्रदान गर्ने विश्वास आयोजकले लिएको छ।