भवानीदत्त भट्ट
कञ्चनपुर, माघ १८ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र–३ बाट मत खसाल्ने महिला मतदाताको सङ्ख्या तुलनात्मक रूपमा बढी रहेको छ । ३० वडा रहेका क्षेत्र नम्बर ३ अन्तर्गत एक लाख तीन हजार ८७ मतदाता हुनुहुन्छ । सो निर्वाचन क्षेत्रमा ५२ हजार ६ सय महिला मतदाता र ५० हजार ४८७ पुरुष मतदाता हुनुहुन्छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, पुरुषभन्दा दुई हजार ११३ महिला मतदाता अधिक हुनुहुन्छ । क्षेत्र–३ अन्तर्गत भीमदत्त नगरपालिकामा ७२ हजार ८ सय मतदाता, दोधारा चाँदनी नगरपालिकामा २७ हजार ६१६ र बेदकोट नगरपालिकाको वडा नम्बर ८ मा २ हजार ६७१ मतदाता हुनुहुन्छ ।
जसमध्ये, भीमदत्त नगरपालिकाको वडा नम्बर १८ मा अत्यधिक १० हजार ३४९ मतदाता हुनुहुन्छ भने वडा नम्बर १६ मा कम अर्थात् दुई हजार ५६ मतदाता हुनुहुन्छ । त्यसै गरी, दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर ७ मा अत्यधिक तीन हजार ७०४ मतदाता र वडा नम्बर ५ मा कम अर्थात् एक हजार ८०७ मतदाता हुनुहुन्छ । एक जना प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यस क्षेत्रबाट एक महिला सहित १७ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । यस निवाचन क्षेत्रमा महिला मतदाता अत्यधिक रहे पनि महिला उम्मेदवार भने एक जना मात्रै बन्नुभएको हो । आम जनता पार्टी (एकल चुनाव चिन्ह) बाट लक्ष्मी कुमारी विष्ट भट्ट उम्मेदवार बन्नुभएको छ । भीमदत्त नगरपालिका १८ निम्बुखेडा घर भएका उहाँ पहिलो पटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नुभएको हो । महिलाहरूको हकहितका लागि यस पटक चुनावमा उम्मेदवार बनेको उहाँले बताउनुभयो ।
कसले मार्ला बाजी
निर्वाचन क्षेत्र–३ मा यस अघिका प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र नेपाली काँगे्रशका उम्मेदवार बिच प्रतिस्पर्धा हुँदै आएको छ । विसं. २०७४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका डा. दीपक प्रकाश भट्ट र नेपाली काङ्ग्रेसका नेता रमेश लेखक बिच प्रतिस्पर्धा भएको थियो । २०७४ मा नेकपा एमालेका नेता भट्ट २६ हजार ३६४ मतका साथ विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रे्रेसका नेता लेखकले २६ हजार १०६ मत प्राप्त गर्नुभएको थियो ।
त्यसै गरी, विसं २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका नेता लेखक ३० हजार ५४४ मतसहित विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार निरुदेवी पालले १८ हजार ४४८ मत पाउनुभएको थियो ।
यस क्षेत्रमा नेकपा एमाले र कांग्रे्रेसका उम्मेदवार बिच प्रतिस्पर्धा हुँदै आएको छ । तर आगामी निर्वाचनमा भने, यस क्षेत्रबाट विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरू र ठुला दलहरू बिच रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ । आगामी निर्वाचनमा नेकपा एमालेबाट डा. भट्ट दोहोरिनुभएको छ भने, नेपाली कांग्रेसबाट हरिप्रसाद बोहरा, नेपाली कम्युनिष्ट पार्टीबाट मान बहादुर सुनार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ज्ञानेन्द्र सिंह महता, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पूर्णबहादुर चन्द, उज्यालो नेपाल पार्टीबाट भीमबहादुर कुमाल चुनावी मैदानमा होमिनुभएको छ ।
निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत भीमदत्त नगरपालिकामा २० मतदानस्थल र ७९ मतदान केन्द्र तोकिएका छन् । यसैगरी, दोधारा चाँदनी नगरपालिकामा १६ मतदानस्थल तथा ३३ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख हरिसचन्द्र जोशीले बताउनुभयो ।