रमेश विश्वकर्मा
गुल्मी, माघ १७ गते। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मीमा राजनीतिक दलका उम्मेदवारले निर्वाचन लक्षित गतिविधिहरु बढाउन थालेका छन् । विशेषगरी दलका उम्मेदवारहरु पार्टीको आन्तरिक भेटघाट, छलफलसँगै नेता कार्यकर्ताहरुको सल्लाह सुझावमा रणनीतिक योजनाहरु बनाउनमा व्यस्त देखिएका हुन् ।
दलका उम्मेदवारले जिल्लास्तरको छलफलसँगै क्षेत्र, पालिका, विभिन्न सम्पर्क समिति र वडास्तरका नेता कार्यकर्ताहरुबिचको भेटघाटलाई तीव्र रुपमा अगाडि बढाएका छन् । दलहरुले पनि निर्वाचनमा आफ्ना उम्मेदवार विजयी गराउने उदेश्यले रणनीतिक योजनासँगै हरेक तहमा निर्वाचन परिचालन र प्रचारप्रसार समिति समेत गठन गरेका छन् । दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा दलका उम्मेदवारहरुको सम्पर्क कार्यालय समेत स्थापना गरिएको छ ।
निश्चित योजना बनाएर चुनावी प्रचारप्रसारमा हिँड्नका लागि दलहरुले तयारी गरिरहेका छन् । मुख्य राजनीतिक कांग्रेस, एमाले, नेकपा, रास्वपालगायतका दलहरुले संगठन विस्तार, पार्टी प्रवेश तथा विभिन्न प्रशिक्षणमूलक गतिविधिहरुमा सक्रिय देखिएका छन् । यहाँ मुख्य प्रतिस्पर्धामा चार दल नै रहेका छन् । यस जिल्लामा निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु ४३ जनाले मनोनयन दर्ता गराएका छन् ।
जसमा राजनीतिक दलबाट २० जना र स्वतन्त्र २३ जना गरी दुई निर्वाचन क्षेत्रमा ४३ जनाले मनोनयन दर्ता गराएका हुन् । क्षेत्र नम्बर–१ मा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु २१ जनाले मनोनयन दर्ता गराउनुभएको छ । जसमा ११ जना स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी, नेकपा एमालेका प्रदीप कुमार ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टीका सूदर्शन बराल र राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल हुनुहुन्छ ।
यसैगरी, क्षेत्र नम्बर–२ मा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु २२ जनाले मनोनयन दर्ता गराउनुभएको छ । जसमा १२ जना स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका गोकर्णराज विष्ट, नेपाली कम्युनिष्ट पार्टीका श्रीराम महत र राष्ट्रिय स्वतन्त्र पार्टीका गोबिन्द पन्थी हुनुहुन्छ ।