प्रवीण कुमार शर्मा
रौतहट, माघ १७ गते । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जनकपुरधामले मनपरी सरुवा गरे पछि रौतहटको एक कार्यालयमा दुई वटा कार्यालय प्रमुख हुन् पुगेको छ ।
रौतहट र सर्लाही हेर्ने पर्यटन विकास कार्यालयमा कार्यालय गौरमा यतिबेला दुईजना कार्यालय प्रमुख भए पछि कार्यालय अस्तव्यस्त भएको छ ।
गएको माघ २ गते निमित प्रमुख सचिव स्तरबाट कार्यालय प्रमुखको जिम्मेवारीमा रहनुभएका लेखा अधिकृत आठौँ राजेश काफ्लेलाइ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले काज फिर्ता गर्दै उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयमा कार्यरत राप्रतृतीय श्रेणीका इन्जिनियर कमलेश कुमार मिश्रलाई कामकाजमा खटाएदेखि सरुवा नै बिबादित हुन् पुगेको छ ।
सरुवा गरेको २ दिन नबित्दै निमित प्रमुख सचिव स्तरबाट नै लेखा अधिकृत आठौँ काफ्लेको काज फिर्ता कार्यान्वयन नगर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बन तथा वातावरण मन्त्रालय मधेश प्रदेश र पर्यटन बिकास कार्यालय गौरलाई पत्राचार गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जनकपुरधामका उपसचिव रोहित कुमार कोइरालाले जानकारी दिनुभयो ।
प्रशासनको उपसचिवको दरबन्दी रहेको कार्यालयमा इञ्जिनियरलाइ निमित कार्यालय प्रमुखको जिम्मेवारी दिन गरिएको सरुवाका कारण प्रदेश सरकार नै विवादमा मुछिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जनकपुरधामले लेखा अधिकृत आठौँ काफ्लेको काज फिर्ता कार्यान्वयन नगर्न पत्र जारी गरे पनि उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय जनकपुरधामले इन्जिनियर मिश्रलाई माघ ६ गतेका दिन निमित कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ ।
एउटै चलानी नम्बर २५३ मिति २०८२ माघ ६ गते मिश्रले काफ्लेको काज फिर्ता र काफ्लेले मिश्रको काज फिर्ता गरेर प्रदेश सरकार मातहतको कार्यालयको बेथितिको नमुना प्रस्तुत गरेको छ ।
सरुवा सम्बन्धमा मधेश प्रदेश सरकारका कामु प्रमुख सचिव कमल प्रसाद भट्टराइले आफुलाई जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ । आफुले कार्यालयमा सचिव रामकुमार महतोलाई निमितको जिम्मेवारी दिएको समयमा गरिएको सरुवाबारे बुझन नपाएको बताउनुहुँदै कुनै समस्या उत्पन्न भएको भए नियम कानुनको परिधिमा रहेर समाधान गरिने उहाँले बताउनुभयो ।
सरुवामा मुख्य भूमिकामा रहनुभएका निमित मुख्य सचिव महतोले पर्यटन मन्त्री मनिष पटेलको आदेशमा अधिकृत आठौँ काफ्लेको काज फिर्ता गरेर इन्जिनियर मिश्रलाई खटाएको प्रतिक्रिया दिनुभयो ।
मधेश प्रदेश सरकारका पर्यटनमन्त्री पटेलले पर्यटन विकास कार्यालयको काम विकास निर्माणसँग सम्बन्धित रहेकोले प्राविधिक ज्ञान भएकालाई कार्यालय प्रमुखको जिम्मेवारी दिएको बताउनुभयो ।
प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख प्रेम पोखरेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको माघ ४ गतेको पत्र समयमा नआएकाले इन्जिनियर मिश्रको नाममा खाता सञ्चालन भएको बताउनुहुँदै कार्यालय प्रमुखको आधिकारिकता नटुङ्गेसम्म भुक्तानी आदेश रोक्का रहने बताउनुभयो ।
पर्यटन विकास कार्यालय गौरमा कार्यालय प्रमुख र लेखा अधिकृत बाहेक एउटा पनि दरबन्दी अनुसारको कर्मचारीको व्यवस्थापन मन्त्रालयले गर्न नसकेको कारण सरकार पिच्छे करारका कर्मचारी भर्ना गरेर योजना सञ्चालन हुँदै आएको छ ।
पर्यटन मन्त्री पटेलको निर्देशनमा रौतहटमा मात्र नभएर प्रदेश भित्रका चार वटै पर्यटन विकास कार्यालयको कार्यालय प्रमुख फेरिएको छ । बारा र पर्सा हेर्ने पर्यटन विकास कार्यालयमा उपसचिव स्तरको कार्यालय प्रमुख हुँदा हुँदै उपसचिवलाई हटाएर शाखा अधिकृतलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएर कानुनी राज्य, सुशासनको धज्जी उडाएको छ ।
पर्यटन विकास कार्यालय पर्सामा कार्यरत उपसचिव बबिता जयसवाललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सरुवा गरेर त्यहाँ कार्यरत शाखा अधिकृत अरविन्द यादवलाई निमित कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ ।
उपसचिव जयसवालका अनुसार जेनजीको माग, आन्दोलनको प्रभाव अहिले पनि मधेश प्रदेश सरकारमा नपरेको दुखेसो पोख्नुभयो । दरबन्दी अनुसारको कार्यालय प्रमुखलाई हटाएर निमित कार्यालय प्रमुख राखेर प्रदेश सरकारले बेथितिलाई बढावा दिन खोजेकोे बताउनुभयो ।