गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको काम तोकिएकै समयमा सम्पन्न नहुने देखिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत भइरहेका काम सन् २०२६ को अक्टोबरभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर बजेट अभाव, निर्माण सामग्रीको आपूर्ति समस्या, नेपाल आयल निगमको डिपोलाई स्थानान्तरणलगायतका कारणले आयोजनाको काम पर धकेलिने भएको हो ।
आयोजना अन्तर्गत विमानस्थल विस्तारको काम तीन खण्डमा अगाडि बढाइएको थियो । कोटेश्वरतर्फ समानान्तर ट्याक्सीवे, पूर्वतर्फ ह्याङ्गर एप्रोन र उत्तरतर्फ इन्टरनेसनल एप्रोन बनाउने काम अगाडि बढाइएकामा हालसम्म समग्र प्रगति ८० प्रतिशत मात्रै पुगेको छ ।
प्राधिकरणका अनुसार विमानस्थलको ‘गेम चेन्जर’ परियोजनाका रूपमा हेरिएको समानान्तर ट्याक्सीवे निर्माणको काम ६२ प्रतिशत, पूर्वतर्फको ह्याङ्गर एप्रोन निर्माणको काम ४२ प्रतिशत र अन्तर्राष्ट्रिय एप्रोन निर्माणको काम ८० प्रतिशत सकिएको छ । विमानस्थलको उत्तरतर्फको अन्तर्राष्ट्रिय एप्रोन निर्माणको काम सन् २०२० बाट सुरु भएको हो । त्यस्तै विमानस्थल परिसरमा रहेको नेपाल आयल निगमको डिपो स्थानान्तरण नगरिएकाले समानान्तर ट्याक्सीवे विस्तारको कामले समेत गति लिन नसक्दा आयोजना लम्बिने भएको हो ।
प्राधिकरणका प्रवक्ता विक्रम गौतमले भन्नुभयो, “विमानस्थलमा क्षमता अभिवृद्धिको काम तोकिएको समयमा नै सम्पन्न गर्ने लक्ष्यसहित तीन वटा फरक फरक आयोजनाको काम भइरहेका छन् । निर्माण समग्री आपूर्तिलगायतका कारण बिचमा केही समय कामले तीव्रता लिन नसके पनि कामको गुणस्तर र समय हेरेर गरेर आयोजना अघि बढेका छन् ।”
गत वर्ष कात्तिक २३ गतेदेखि झन्डै पाँच महिना दैनिक १० घण्टा विमानस्थल बन्द गरेर पाँच वटा कनेक्टिङ ट्याक्सीवे निर्माणको काम भने यसअघि नै पूरा भइसकेको उहाँले जानकारी दिनुभयो । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता ८०–८५ लाख हवाई यात्रु रहेकामा आयोजना सम्पन्नपछि १० देखि १५ लाख थपिएर वार्षिक क्षमता सवा करोडसम्म धान्न सक्ने प्राधिकरणले जनाएको छ । तीन वटै आयोजना सम्पन्न भएपछि धावनमार्गको क्षमता बढ्नुका साथै पार्किङको अभावले जहाज आकाशमा होल्ड गर्नुपर्ने समस्यासमेत समाधान हुने छ ।