• १६ माघ २०८२, शुक्रबार

जनपक्षीय काम गर्ने प्रतिबद्धता

blog

म्याग्दी जेसीजले आयोजना गरेको कार्यक्रममा सहभागी दलका उम्मेदवार ।

अमृतप्रसाद पौडेल

म्याग्दी, माघ १६ गते । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएका ८ जना उम्मेदवारले जनपक्षीय काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

म्याग्दी जेसीसले आयोजना गरेको प्रत्यक्ष सम्बाद कार्यक्रममा सहभागी भएका आठै जना उम्मेदवारले जनताको पक्षमा काम गर्ने जनाउनुभएको हो । प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका १२ मध्ये सामाजिक सञ्जालमा चर्चामा रहेको स्वतन्त्र उम्मेदवार महावीर पुन, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा, मंगोल नेशनल अर्गनाइजेसनका भिमबहादुर लामा र नेसनल रिपब्लिकन पार्टीका उम्मेदवार तुलप्रसाद गर्बुजा सहभागी हुनु भएन । 

कार्यक्रममा नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी, जनमोर्चाका छेमबहादुर बिश्वकर्मा, राप्रपाका डम्भरबहादुर सुवेदी, प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का युवराज रोका सहभागी हुनुहुन्थ्यो ।

एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले केपी ओली नेतृत्वको सरकारको पालामा खुलेको कोरला नाका अहिले प्रयोगमा आइरहेको र त्यसलाई अझै व्यवस्थित बनाउन आफ्नो जित आवश्यक रहेको धारणा राख्नुभयो । 

उहाँले जनताको प्रतिनिधि भएर जनताकै काम गर्ने बताउँदै जनताको आवश्यकतालाई नै मूल लक्ष्य रहने बताउनुभयो । विद्युत, पुल, सञ्चार, शिक्षा, स्वास्थ्यजस्ता आधारभुत आवश्यकतालाई आफू र एमालेको लक्ष्यका रुपमा अगाडि बढाउने बताउनुभयो । 

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले देशमा ब्याप्त कुशासनले जनता आक्रान्त भएको अहिलेको अवस्थामा आफ्नो जित अपरिहार्य रहेको बताउनुभयो । उहाँले जनताको पक्षमा काम गर्नु आफ्नो ध्येय हो र समृद्ध र सम्मानित नेपालका लागि आफ्नो भूमिका रहने बताउनुभयो । 

राप्रपाका डम्भरबहादुर सुवेदीले राष्ट्रिय ढुकुटीमा शुद्धताका लागि आफ्नो पहलकदमी हुने बताउनुभयो । प्रगतिशील लोकतान्त्रीक पार्टीका उम्मेदवार देवेन्द्र कामीले जुन दिन गर्नुपर्छ त्यही दिन सबैले देख्नुहुन्छ अहिल्यै प्रतिबद्धता आवश्यक नरहेको धारणा राख्नुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार युवराज रोकाले भ्रष्टाचार अन्त्य मूल मन्त्र रहेको बताउनुभयो । उहाँले पब्लिक डिबेटजस्तो कार्यक्रममा सबै उम्मेदवार आउनु पर्नेमा कतिपय उम्मेदवार नआउनु दुःखद रहेको सुनाउनुभयो ।