• १० चैत २०८२, मङ्गलबार

निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ : गृहमन्त्री

blog

गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयमा सोमबार प्रतिनिधि सभा निर्वाचनमा योगदान गर्ने कर्मचारी र सुरक्षा निकायलाई मन्त्रालयमा सम्मानपछि सामूहिक तस्बिरमा । तस्बिर : रासस

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १० गते । गृहमन्त्री ओमप्रकाश अर्यालले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन ऐतिहासिक रूपमा सफल रहेको उल्लेख गर्दै यसले नयाँ मानक स्थापित गरेको बताउनुभएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले यस पटकको निर्वाचन शान्तिपूर्ण र पुनः मतदानको आवश्यकता नपर्ने गरी सम्पन्न भएको जनाउनुभयो । सामूहिक नेतृत्व प्रणाली र सरोकारवालाबिचको सशक्त समन्वयले सकारात्मक परिणाम ल्याएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यही अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मन्त्री अर्यालले गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, नेपाली सेनाका बलाध्यक्ष रथि प्रदीपजङ्ग केसी, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलाई सम्मान गर्नुभयो । मन्त्री अर्यालले काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई पनि प्रशंसापत्रद्वारा सम्मान गर्नुभयो । उहाँले निर्वाचनको सुरक्षा कमान्ड समालेका गृह मन्त्रालयका उच्च अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारी र निर्वाचनमा खटिने सबै कर्मचारी र सुरक्षाकर्मीलाई बधाईसहित सम्मान व्यक्त गर्नुभयो ।

मन्त्री अर्यालले निर्वाचनको सुरक्षा व्यवस्थापन अत्यन्तै सूक्ष्म र त्रुटिरहित रूपमा सम्पन्न भएकामा गौरवान्वित महसुस गरेको बताउँदै यसको श्रेय निर्वाचनमा खटिने सम्पूर्ण सुरक्षा निकाय, सरोकारवाला निकाय र आमनागरिक रहेको बताउनुभयो । निर्वाचन निकै उत्साहवर्धक र सक्रिय सहभागितासहित सम्पन्न भएको बताउँदै उहाँले केन्द्रदेखि जिल्ला तहसम्मका सुरक्षा समिति, निर्माण कमान्ड फोर्स, सुरक्षा सेल र जिम्मेवार सरकारी अधिकारीले निर्वाचन सफल बनाउन सक्रिय रूपमा खेलेको भूमिका ऐतिहासिक र राज्यका लागि उत्तरदायी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा खटिएका अधिकारीको सिर्जनशिलता र क्षमता अत्यन्तै प्रशंसनीय छ ।” उहाँले विगतका कतिपय घटना नेतृत्वले घटनाबारे नबुझीकन निर्देशन दिने, कसैका भनाइलाई स्क्रिनिङ नै नगरी, कुरा नबुझीकन निर्देशन दिने प्रवृत्तिको पनि यस पटक अन्त्य भएको बताउनुभयो । 

निर्वाचनमा गृह मन्त्रालयले सुरक्षा अवस्थाको राम्रोसँग स्क्रिनिङ गरी हरेक तयारी र निर्णयअघि नै विशेष तयारी, समन्वय र सम्भावित अवस्थाको आकलन गरी तयारी गरिएको उहाँले बताउनुभयो । मन्त्री अर्यालले निर्वाचनअघि, निर्वाचनको अवधि र निर्वाचनपूर्व नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबिचको समन्वय र भूमिका उल्लेखनीय रहेको बताउनुभयो । सो अवसरमा रक्षा मन्त्रालयका सचिव सुमनराज अर्यालले निर्वाचनका दौरानमा बलियो समन्वय र सहकार्यले सफलता हात परेको उल्लेख गर्नुभयो । गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेले गृह मन्त्रालयको सुझबुझपूर्ण र समन्वयकारी नेतृत्वका कारण निर्वाचन सुरक्षा र शान्ति सुव्यवस्था कामय गर्नमा सकारात्मक परिणाम हासिल भएको उल्लेख गर्नुभयो ।