• १६ माघ २०८२, शुक्रबार

काभ्रेपलाञ्चोक–१ मा त्रिपक्षीय प्रतिस्पर्धा

blog

केदार तिमल्सिना 

बनेपा, माघ १६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोक जिल्लामा रहेका राजनीतिक दलले आफ्नो चुनावी अभियानलाई तिव्रता दिएका छन्।   विगतका निर्वाचनमा भन्दा यस पटक जिल्लामा निर्वाचन रोचक र प्रतिस्पर्धात्मक देखिने भएको छ।   

विगतका निर्वाचनमा भन्दा यस पटकको निर्वाचनमा जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर- १ मा राजनीतिक दलहरूले विगतका निर्वाचनमा उम्मेदवार नभएका नेतालाई उम्मेदवार बनाएपछि यो क्षेत्रमा निर्वाचन प्रतिस्पर्धात्मक देखिने भएको हो।   

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस पटक नेपाली कांग्रेस पार्टीले प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा ४० वर्षीय जिल्ला सचिव गुणराज मुक्तान, नेकपा (एमाले)ले ४४ वर्षीय केन्द्रिय सदस्य अमि (अमित) लामा, नेपाली कम्युनिस्ट पार्टीले ६२ वर्षीय चौरीदेउराली गाउँपालिकाका पूर्वअध्यक्ष दिनानाथ गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीले ५६ वर्षीय अधिवक्ता मधुकुमार चौलागाईंलाई उम्मेदवार बनाएको छ।   

यस पटकको निर्वाचनमा यो क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी १८ उम्मेदवारले उम्मेदवारी दिनुभएको छ। अघिल्लो निर्वाचनमा यस क्षेत्रमा नेकपा (एमाले)का तर्फबाट रेशमबहादुर लामा र नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनबाट सूर्यमान दोङले उम्मेदवारी दिनुभएको थियो भने निर्वाचनबाट गठबन्धनका उम्मेदवार सूर्यमान दोङ विजयी हुनुभएको थियो।   

यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा क्षेत्र नम्बर–१ मा विशेष गरी नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ। यस निर्वाचन क्षेत्रमा वर्षौदेखि पराजित हुँदै आएको नेकपा एमालेका उम्मेदवार विजयी भएर नयाँ इतिहास रच्ने दाउमा रहेको नेकपा एमाले काभ्रेपलाञ्चोकका उपाध्यक्ष देवसागर लामाले बताउनुभयो।   

“यो क्षेत्रको गत वर्षको निर्वाचनको समानुपातिक मत हेर्दा हाम्रो पार्टी पहिलो पार्टी रहेको छ, यस पटक हामी हाम्रो उम्मेदवारलाई विजयी गराउनका लागि एकजुट भएर चुनावी अभियानमा होमिएका छौँ” उपाध्यक्ष लामाले भन्नुभयो।   

विगतमा चार निर्वाचन क्षेत्र हुँदा हालको निर्वाचन क्षेत्रमा दुई निर्वाचन क्षेत्र रहेको थियो भने २०५६ को निर्वाचनमा एमालेले दुवै क्षेत्रमा जित हासिल गरेको थियो भने त्यसपछिको निर्वाचनमा एमालेले जित हासिल गर्न नसेकोले यस पटक यो क्षेत्रमा जित निकाल्ने दाउमा रहेको छ।   

यस पटकको प्रतिनिधि सभाको निर्वाचनमा क्षेत्र नम्बर–१ मा आफ्ना उम्मेदवारलाई जिताएर नेपाली कांग्रेसले पनि वर्षौपछि नयाँ रेकर्ड राख्नको लागि चुनावी अभियानमा जुटेको छ।   नेपाली कांग्रेसका जिल्ला सभापति तीर्थ लामाले जेनजी समूहको आन्दोलनको मर्म र भावना अनुसार युवा पिढीले देशमा सुशासन, विधिको शासन खोजेकोले पार्टीले युवा उम्मेदवारलाई अघि सारेको बताउनुभयो।   उहाँले कांग्रेस कुनै उम्मेदवार तथा पार्टीको विरुद्धमा नकरात्म टिका टिप्पणी नगरी पार्टीले अघि सारेको एजेन्डा बोकेर चुनावी नतिजा आफ्नो पक्षमा पार्नको लागि चुनावी अभियानमा लागेको बताउनुभयो।   

अघिल्लो निर्वाचनमा यो क्षेत्रमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठनबन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका सूर्यमान दोङ विजयी हुनुभएको थियो। यस पटकको निर्वाचनमा समेत नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भए जस्तै यस पटक पनि माओवादी केन्द्र र एकीकृत समाजवादीबाट बनेको नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बन्नु भएका दिनानाथ गौतमलाई विजयी बनाउनका लागि सोही अनुसारको रणनीति बनाएर चुनावी मैदानमा उत्रिएको छ।   

विशेष गरी प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबिच मुख्य प्रतिस्पर्धा हुने देखिए पनि पछिल्ला दिनमा पार्टीप्रति देखिएको आकर्षणलाई निर्वाचनमार्फत् प्रमाणित गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी समेत चुनावी प्रतिस्पर्धामा देखिएको छ।   

रास्वपाका उम्मेदवार चौलागाई‌ विगतमा नेकपा (माओवादी केन्द्र), एमाले, समाजवादी हुँदै पछिल्लो समय रास्वपामा प्रवेश गर्नुभएको हो। रास्वपाका उम्मेदार अन्य पार्टीका उम्मेदवारप्रति असन्तुष्ट देखिएका मतदातालाई आफूप्रति आकर्षित गरेर चुनावी परिणाम आफ्नो पक्षमा पार्ने प्रत्यत्नमा रहनुभएको छ।   यस पटक सबै पार्टीमा उम्मेदवार छनाेटको विषयमा केही न केही अर्न्तविरोध देखिएकोले सबै दलमा केही असन्तुष्टि रहेकोले सबै राजनीतिक दलका उम्मेदवारहरू  असन्तुष्ट पक्षलाई आफतर्फ आकर्षित गरी चुनावी नतिजा आफ्नो पक्षमा पार्ने दाउमा लागेका छन्।   

प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को चुनावी परिणामको समानुपातिकतर्फको मत हेर्दा प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा नेकपा एमालेले २४ हजार ७९ मत, नेपाली कांग्रेसले २१ हजार ७५५ मत, नेकपा (माओवादी केन्द्र)ले १७ हजार ३३५ मत ल्याएको थियो।   

यस्तै यो क्षेत्रमा एकीकृत समाजवादीले एक हजार ९५५ मत र राष्ट्रिय स्वतन्त्र पार्टीले नौ हजार ७९४ मत ल्याएको थियो। गत निर्वाचनमा यो क्षेत्रमा ८३ हजार ६३३ मत खसेकोमा ७९ हजार ९११ मत सदर भएको थियो। यस क्षेत्रमा प्रत्यक्ष तर्फको निर्वाचनमा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठनबन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका सूर्यमान दोङले ३४ हजार ५१२ मत ल्याई विजयी हुनुभएको थियो।   एमालेका उम्मेदवार रेशमबहादुर लामा ३० हजार ५४८ मत ल्याई पराजित हुनुभएको थियो।