काराकस, माघ १६ गते । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ कानुनमा हस्ताक्षर गर्नु भएको छ । यस कानुनले निजी कम्पनीलाई तेल उत्पादन र बिक्रीमा ठुलो भूमिका दिने व्यवस्था गर्दै दुई दशकभन्दा बढी समयदेखि लागु समाजवादी नीतिलाई उल्ट्याएको छ ।
यो सुधार सरकारको सबैभन्दा महत्त्वपूर्ण नीतिगत कदम मानिएको छ । लामो समयदेखि सङ्कटमा परेको तेल उद्योगमा विदेशी लगानी आकर्षित गर्ने लक्ष्यसहित राज्यको कडा नियन्त्रण खुकुलो बनाइएको हो । राजधानी काराकसमा अमेरिकी सेनाको आक्रमणपछि पूर्वराष्ट्रपति निकोलस मदुरोको सत्ता गुमेको एक महिनाभित्रै यो कानुन लागु गरिएको हो ।
राष्ट्रिय सभाबाट विधेयक पारित भएको दुई घण्टाभन्दा कम समयमा रोड्रिगेजले हस्ताक्षर गर्नु भएको थियो । सोही समयमा अमेरिकी अर्थ मन्त्रालयलले भेनेजुएलामाथि लगाइएका तेल सम्बन्धी केही आर्थिक प्रतिबन्ध खुकुलो पार्दै अमेरिकी ऊर्जा कम्पनीको गतिविधि विस्तार गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।
रोड्रिगेजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोसँग पनि वार्ता गर्नु भएको थियो । अमेरिकी पक्षले भेनेजुएलाको तेल निर्यात नियमन गर्दै त्यसबाट आउने आम्दानीको निगरानी गर्ने योजना सार्वजनिक गरेको छ । विश्वमै सबैभन्दा ठुलो प्रमाणित कच्चा तेल भण्डार भेनेजुएलामै रहेको छ ।
नयाँ कानुन अनुसार निजी कम्पनीले स्वीकृत व्यापार योजनाका आधारमा आफ्नै खर्च र जोखिममा तेल क्षेत्र सञ्चालन गर्न सक्ने छन् । यसले राज्य स्वामित्वको पिडिभिएसएको उत्पादन र मूल्य निर्धारण सम्बन्धी एकाधिकार अन्त्य गर्दछ । साथै, विदेशी लगानीकर्ताका लागि महत्त्वपूर्ण मानिने स्वतन्त्र अन्तर्राष्ट्रिय मध्यस्थताको व्यवस्था पनि समेटिएको छ ।
कानुनले रोयल्टी दर अधिकतम ३० प्रतिशतमा सीमित गर्ने र परियोजनाको प्रकृति अनुसार कार्यकारी शाखाले कर संरचना निर्धारण गर्न सक्ने व्यवस्था गरेको छ । सत्ताधारी दलका सांसदले यसले देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने दाबी गरेका छन् । विपक्षी सांसदले भने पारदर्शिता र जवाफदेहिताका प्रावधान थप्न आग्रह गरेका छन् ।
तेल कामदार र सत्ताधारी दलका समर्थकले संसद् भवनमा विधेयक पारित भएको खुसीयाली मनाएका थिए । यसअघि पूर्वराष्ट्रपति ह्युगो चाभेजले तेल उद्योगलाई कडा राज्य नियन्त्रणमा राख्दै सामाजिक कार्यक्रमको आधार बनाउनु भएको थियो । तर तेल मूल्यको गिरावट, भ्रष्टाचार, खराब व्यवस्थापन र अमेरिकी प्रतिबन्धका कारण उद्योग कमजोर बन्दै गयो र गहिरो आर्थिक सङ्कट उत्पन्न भयो । नयाँ सुधारले त्यही सङ्कटबाट बाहिर निस्कन प्रयास गरेको सरकारको भनाइ छ । रासस/एपी