• १६ माघ २०८२, शुक्रबार

उद्योग वाणिज्य सङ्घद्वारा उपमहानगरलाई २५ वटा आगो निभाउने फायर स्ट्रिगुसर हस्तान्तरण

blog

आगलागी नियन्त्रणका लागि फायर स्ट्रिगुसर हस्तान्तरण गर्दै । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, माघ १६ गते । पछिल्लो समयमा नेपालगन्जका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा आगलागीका घट्नाहरू बढ्दै जाँदा नेपालगन्ज उद्योग वाणिज्य सङ्घले नेपालगन्ज उपमहानगरपालिकालाई आगो निभाउने यन्त्र हस्तान्तरण गरेको छ । 

पसल वा घरमा आगलागी भएमा तत्काल नियन्त्रणका लागि सङ्घले नेपालगन्ज उपमहानगरलाई २५ वटा आगो निभाउने यन्त्र फायर स्ट्रिगुसर हस्तान्तरण गरेको हो । 

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले सङ्घको कार्यालयमा आयोजित एक कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई २५ वटा आगो निभाउने यन्त्र फायर स्ट्रिगुसर हस्तान्तरण गर्नुभयो । 

सो अवसरमा बोल्दै नेपालगन्ज उपमहानगरका नगर प्रमुख विष्टले उपमहानगरमा भएका अधिकांश आगलागीका घट्ना विद्युत् सर्ट भए हुने गरेको पाइएको जनाउँदै घर पसल बनाउँदा गुणस्तरीय विद्युतका तार तथा उपकरण लगाउनु पर्नेमा जोड दिनुभयो । 

उहाँले नेपालगन्ज आगलागीको अत्यधिक जोखिममा रहँदै आएको जनाउँदै सो बाट जोगिनका लागि सुरक्षाका सबै उपायहरू अपनाउनुका साथै हरेक घर र पसलमा आगो निभाउने यन्त्र फायर स्ट्रिगुसर राख्नु पर्नेमा जोड दिनुभयो । 

सोही प्रकारले नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले ठुलो लगानी लगाएर घर बनाउने, पसल तथा उद्योग खोल्ने तर सुरक्षाका उपायहरूबारे ध्यान नदिने गर्दा नै आगलागी लगायतका घटनाले ठुलो क्षति हुने गरेको बताउनुभयो । 

उहाँले लाखौं लगानी गर्नेले केही हजार मात्र लगाएर आगो निभाउने यन्त्र फायर स्ट्रिगुसर राखेमात्रै पनि क्षति धेरै घटाउन सकिने बताउनुभयो । सोही अवसरमा नेपालगन्जका नगर प्रमुख विष्टले वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक शेखर खड्कालाई दुई थान आगो निभाउने यन्त्र फायर स्ट्रिगुसर हस्तान्तरण गर्नुभयो । 

उहाँले दुई थान आगो निभाउने सो यन्त्र नेपालगन्ज उद्योग वाणिज्य सङ्घलाई पनि प्रदान गर्नुभयो । बाँकी २१ वटा फायर स्ट्रिगुसर नेपालगन्ज उपमहानगरपालिकामा राखिनेछ । सो कार्यक्रममा आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, नेपालगन्ज उपमहाानगरका विपद व्यवस्थापनि समितिका संयोजक समिर प्रतापसिंह, नेपालगन्ज उद्योग वाणिज्य सङ्घको विपद व्यवस्थापन समितिका संयोजक टीकामणि उपाध्याय, नेपालगन्ज उद्योग वाणिज्य सङ्घका महासचिव भीम रानाभाट, नेपाल रेडक्रस सोसाइटीका प्रह्लाद विश्वकर्मा र युनिसेफका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । 

नेपालगन्ज उपमहानगरपालिकाको वारुण यन्त्र शाखाका अनुसार जिल्लामा भएका आगलागीका घटनाहरूमा विद्युत् सर्टका कारण मात्र ४१.३७ प्रतिशत घटना भएका छन् ।