• १६ माघ २०८२, शुक्रबार

हिमपातमा पनि उम्मेदवार प्रचारप्रसारमा

blog

हिमपातमा आफ्नो चुनावी अभियान सुरु गर्दै नेकपा (एमाले) का उम्मेदवारको टोली । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, माघ १६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हुम्लाका राजनीति दल र तिनका उम्मेदवार हिमपातमै पनि निर्वाचन प्रचारप्रसार अभियानमा लागेका छन् । 

हिमपात भइरहेका कारण बुधबार रोकिएको निर्वाचनको प्रचारप्रसार कार्यक्रम बिहीबार हिमपात जारी रहे पनि थालिएको छ । सिमकोट गाउँपालिका–५, खाद्यकगाउँको चौपाडीबाट आफ्नो चुनावी प्रचारप्रसार अभियान सुरु गरेको नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन मूल कमिटीका संयोजक दलबहादुर रावलले जानकारी दिनुभयो । हिमपात भइरहे पनि समय छोटो, भूगोल ठुलो र बस्ती छरिएकाले अब चिसोतातो भनेर पर्खने समय नभएकाले कठिन अवस्थामा पनि प्रचारप्रसारमा निस्किएको उहाँले बताउनुभयो । प्रचारप्रसारमा एमाले प्रचार अभियानमा संजोजक रावल, केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेदवार गोरखबहादुर बोगटी, प्रत्यक्षतर्फका उम्मेदवार दलबहादुर फडेरा, एमाले हुम्लाका अध्यक्ष ज्ञामी बुमी, उपाध्यक्ष प्रकाशबहादुर शाही, सचिव तीर्थराज बोहोरालगायतको सहभागिता छ । 

प्रतिनिधि सभा निर्वाचन प्रचार रणनीति निर्माण गर्न एमालेले जिल्लाका ४३ वटा वडामा बैठक आयोजना गरेको छ । पार्टी जिल्लाको सर्कुलर अनुसार नाम्खा–५ को लिमीबाहेकका वडा कमिटीको बैठक बस्ने काम भएको र हिमपातकै बिच सबै वडा कमिटीले बैठक आयोजना गरी वडास्तरीय निर्वाचन कार्यालय स्थापना गर्ने र वडास्तरीय प्रचार अभियानको कार्ययोजना बनाउने काम भएको एमाले हुम्लाले जनएको छ । 

त्यसै गरी हिमपातले एक दिन प्रचारप्रसार कार्यक्रम रोकेको नेपाली कांग्रेसले पुनः सिमकोट बजारमा घरदैलो अभियान सुरु गरेको नेपाली कांग्रेस हुम्लाका उपसभापति वसन्त रोकायाले बताउनुभयो । नाम्खामा हिमपातले जान नसकिने भएका कारण हाल दक्षिणी क्षेत्रमा जाने र फागुन १० पछि मात्र नाम्खा गाउँपालिकामा चुनावी प्रचारप्रसारमा जाने योजना कांग्रेसले बनाएको छ । निर्वाचन आउन ३५ दिन बाँकी रहेको अवस्थामा जिल्लाका सात वटा गाउँपालिकामा १६३ वटा बस्ती रहेका र प्रत्येक बस्तीमा पुग्न अब रातदिन नभनी प्रचारमा जानुपर्ने बाध्यता दल र उम्मेदवारलाई रहेको छ । 

यता चुनावी प्रचारप्रसार सबैभन्दा पहिले जिल्लामा सुरु गरेको नेपाली कम्युनिस्ट पार्टीले हिमपातले रोकिएको कार्यक्रम हिउँमै सुरु गरेको उक्त पार्टीका सचिव धर्मराज रोकायाले बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका टासी लाङ्जोम, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का कुम्भ बुढा र प्रगतिशील लोकतान्त्रिक पार्टीका जटिल कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले पनि हिमपातमै पनि आफ्नो चुनावी प्रचारप्रसार गरिरहनुभएको छ ।