• १६ माघ २०८२, शुक्रबार

जनसमृद्धि अघि बढाउनु नै सहिदप्रति सच्चा सम्मानः मुख्यमन्त्री बानियाँ

blog

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ।

राममणि दाहाल
मकवानपुर, माघ १६ गते ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको समृद्धिको यात्रालाई अघि बढाउनु सहिदप्रतिको सच्चा सम्मान हुने बताउनुभएको छ । सहिद दिवस, २०८२ को अवसरमा शुक्रबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री बानियाँले यस्तो बताउनुभएको हो ।

राणा शासनदेखि प्रजातन्त्र, लोकतन्त्र प्राप्तिको लागि आफ्नो जीवनलाई सहजै देशका लागि गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दलगायतले  बलिदानी दिएको भन्दै उहाँले आज शुक्रबार माघ १६ गते, सहिद दिवसको स्मरण गर्नुभएको छ ।

प्रजातन्त्र प्राप्ति, तत् पश्चातका प्रजातन्त्र पुनः स्थापना, सशस्त्र द्वन्द्व एवम् सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका आन्दोलन एवम् जेनजी प्रदर्शनका क्रममा आफ्नो प्राण उत्सर्ग गर्नुहुने वीर सपुतहरू हामी सबैका लागि आस्थाका केन्द्र, पथप्रदर्शक तथा आदर्श व्यक्तित्वको रूपमा मन मस्तिष्कमा रहिरहनु हुने उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

नेपालमा जहाँनीया राणा शासनविरुद्ध आन्दोलन सुरु भएपश्चात् सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुँदासम्म विभिन्न कालखण्डमा भएका आन्दोलनका क्रममा आफ्नो प्राण आहुति दिनुहुने सम्पूर्ण महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री बानियाँले सन्देशमा भन्नुभएको छ, ‘सहिदहरूको बलिदानी र त्यागबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत समाजवादको लक्ष्य प्राप्त गर्दै नेपाली जनताको समृद्धिको यात्रालाई अघि बढाउन सकिएमा मात्र सहिदप्रतिको सच्चा सम्मान हुनेछ ।’

आजको विशेष दिनमा ती महान् सहिदहरूको त्याग र बलिदानको उच्च सम्मान गर्दै उहाँहरूका सपना साकार पार्न र देखाउनु भएको बाटोमा अघि बढ्नका लागि बागमती प्रदेश सरकार सदैव प्रयत्नशील रहेको भन्दै उहाँले यसका लागि सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली एकताबद्ध भएर अघि बढ्न आजको दिनले हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सहिद दिवसका अवसरमा वीर सहिदहरूप्रति उच्च सम्मान प्रकट गर्दै सन्देशमार्फत मुख्यमन्त्री बानियाँले आजको दिनको सम्झनाले हामीबिच आत्मियता, आपसी समझदारी, एकता, सामाजिक सद्भाव र देशको समृद्धि एवम् अमन चयन कायम गर्ने वातावरण निर्माण गर्ने प्रेरणा मिलोस् भन्ने कामनासमेत व्यक्त गर्नुभएको छ ।