• १६ माघ २०८२, शुक्रबार

मातृभूमिमै बगोस् पसिना

blog

नेपालमा जन्मिएर विदेशमा रहँदा हरेक व्यक्तिको मुटुमा नेपाल धड्किरहन्छ तर बाध्यताले बिदेसिनु नेपालीको नियति बनेको छ । गाउँ होस् वा सहर, लगभग हरेक घरका व्यक्ति विदेशी भूमिमा पुगेका छन् । विदेश जानु नेपालीको संस्कार जस्तै बनेको छ ।

मानव विकासलाई हेर्दा हामी एक घुमन्ते प्राणी हाैँ । नेपालीहरू पनि विभिन्न कारणले संसार घुमिरहेका छन् । हाम्रा अघिल्ला पुस्ता छिमेकी देश जान्थे । हिजोआज रोजगारीका क्रममा साउदी अरब, कतार, बहराइन, ओमान, युएई, कुवेत आदि देश जाने नेपालीको सङ्ख्या दिनानुदिन बढ्दो छ । सबैको जीवनको उद्देश्य केही धन आर्जन गरी आफ्नो भविष्य र परिवारको जीवन अलिक सहज बनाउनु हो । 

धेरै जसो युवा अध्ययन तथा रोजगारीका लागि विदेश जाने गरेका छन् । केही युवाले अध्ययन सकेपछि उतै जागिर गर्ने, अनि उतै बस्दै जाँदा जहाँ बसेको हो त्यही देशको स्थायी बसोबासको अनुमति लिने गरेका छन् । तत्काल सहजताका लागि विदेशको नागरिकता लिए पनि हृदयमा नेपाल नै रहिरहन्छ । नेपालमा भएका बाबाआमालाई भेट्न आउने अनि आफ्नै कर्मथलो फर्किने गरेका क्रियाकलाप हामीले देख्दै र भोग्दै आएका छौँ । यस्तो अवस्थामा नेपाल फर्कन मन भएका व्यक्तिलाई आकर्षित गर्न सकिएको छैन । अब भने यसमा सरोकारवालाको ध्यान पुग्नु पर्छ । 

नेपालमा अध्ययन सकेर जागिरको खोजीमा भौतारिँदा भौतारिँदा पनि पढे अनुसारको जागिर वा आयआर्जन गर्न धेरै व्यक्ति असमर्थ हुन्छन् । नेपालमा परिवारको पालनपोषण, सन्तानलाई गुणस्तरीय शिक्षा र राम्रो स्वास्थ्यको व्यवस्थापन गर्न नसकेपछि बिदेसिनु परेको छ । ऊर्जावान् दक्ष युवा कामकै लागि बिदेसिनु, देशमा उनीहरूले राम्रो पारिश्रमिकसहितका काम नपाउनुले नेपाली युवाको सपना विदेश बन्न पुगेको छ ।

विदेश गए पनि पनि नेपालीको मन स्वदेशमै हुन्छ । सम्झना हरपल नेपालकै आइरहन्छ । हामीले धेरै विद्वान्ले भनेका लेखेका कुरा पढ्ने तथा सुन्ने गरेका छौँ । युरोप, अमेरिकालगायत पश्चिमा देश विकसित छन् । उनीहरू आफैँले मेहनत गरेर त्यो ठाउँमा पुगेका हुन् । ती देशमा भौतिक प्रगति भरपुर छ तर व्यक्तिवादी सोच हाबी छ । दिगो र पारदर्शी प्रणाली भए सरकारमा जुनसुकै दल आए पनि देशको विकासले गति लने रहेछ । पश्चिमा देशहरूले यही बाटोलाई अनुसरण गरेका हुन् । हामी प्राकृतिक रूपमा सम्पन्न छौँ । धार्मिक तथा सांस्कृतिक रूपमा धनी छौँ । यही विविधतालाई समेट्दै दिगो विकास गर्नेतर्फ अग्रसर हुने हो भने हामीले धेरै नै प्रगति गर्न सक्छौँ । युवा जनशक्तिलाई विदेश जान नपर्ने वातावरण सिर्जना गरेर नेपालको विकासमा लगाउन सके हाम्रो विकासले पनि गति लिने छ । 

पढाइलाई निरन्तरता दिन नसक्नेहरू अदक्ष वा अर्धदक्ष श्रमिकका रूपमा काम गर्न पुग्छन् । विदेशमा रोजगारीका लागि ठुलो रकम तिरेर थोरै तलबमा काम गर्न बाध्य हुने पनि छन् । फरक परिवेश, फरक रहन सहनले गर्दा विदेशमा नियाँस्रो लाग्नु स्वाभाविक नै हो । भने जस्तो काम नहुनु, काम गरे अनुसार पाउनुपर्ने तलबभत्ता नपाउनु, देश अनुसार नियम कानुन पालना गर्न कठिन हुनु विदेशमा नेपाली कामदारले भोग्ने समस्या हुन् । साथै ज्ञान र सिपको अभाव पनि विदेश काम गर्न जानेहरूमा रहेका छन् । 

अन्तर्राष्ट्रिय आप्रावासन सङ्गठन आइओएमका अनुसार २०२३ मा नेपालले अनुमानित ११ अर्ब अमेरिकी डलर विप्रेषण प्राप्त ग¥यो, जुन देशको कुल गार्हस्थ उत्पादनको लगभग २६.६ प्रतिशत बराबर हो । आधिकारिक विकास सहायता र प्रत्यक्ष विदेशी लगानीको संयुक्त प्रवाहभन्दा यो रकमा बढी हो । विदेश काम गर्न जाने नेपालीले सिपयुक्त भए उचित पारिश्रमिक पाउँछन् तर कम सिपयुक्त र भाषा तथा तालिमको कमी भएका व्यक्तिले न्यून तलब पाउने गरेका छन् । यो समस्या सम्बोधन गर्न सिपयुक्त जनशक्ति तयार गर्ने र स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्ने कुरामा ध्यान दिन आवश्यक छ । 

हुन त विश्वव्यापीकरणले गर्दा विश्व नै एउटा गाउँ जस्तो भएको छ । विश्वका हरेक कुनामा नेपाली पुगेका छन् । हाम्रो आर्थिक प्रणालीको मेरुदण्ड बनेर विप्रेषण पठाइरहेका छन् । विश्वका प्रख्यात कलेज, विश्वविद्यालयमा अध्ययन अनुसन्धान गरेर नाम राखेका छन् । यो हाम्रा लागि गौरवको विषय हो तर सबभन्दा पहिले हामीले हाम्रो देशको विकास गर्नु जरुरी छ । हामीले एकअर्कालाई दोष दिनुभन्दा सबै नेपालीले आआफ्नो ठाउँमा आआफ्ना ज्ञान, सिप प्रयोग गरेर के गर्न सकिन्छ, त्यसतर्फ लाग्न जरुरी छ । आफू बसेको समाजलाई जागरुक बनाउँदै दिगो विकासतर्फको पाइला अघि बढाउनु पर्छ । अनि मात्र देश विकासले गति लिन्छ । 

शिक्षामा भएका लापरर्बाहीलाई निरुत्साहित गर्नु पर्छ । पारदर्शी राजनीतिको बाटो कोर्नु पर्छ । क्षमता भएका व्यक्तिलाई चुनावमा जिताउनु पर्छ । लोकतन्त्रमा जनता सर्वोपरि हुन्छन् । नजिकिँदै गरेको निर्वाचनमा हामीले विवेक प्रयोग गरी आफ्नो मताधिकार सदुपयोग गर्दै असल प्रतिनिधि छान्नु पर्छ । असल, कर्तव्यनिष्ठ, जुझारू व्यक्तिलाई छान्न सके अवश्य देशमा राम्रो हुन्छ । निर्वाचित नयाँ सरकारले युवालाई स्वदेशमै रोजगारीको अवसर दिन सकोस् । रोजगारीका लागि युवा विदेश जान नपरोस् । आउँदो पुस्ताले अरबको बालुवामा रापिलो गर्मीमा पसिना बगाउनु नपरोस् । नेपालीको पसिना नेपालकै उन्नति प्रगतिका लागि बगोस् । 

हाम्रो उद्यमको क्षेत्र पर्यटन पनि हो । यसको सुधार र प्रवर्तन गरी हाम्रो आर्थिकस्तर माथि उठाउन सकिन्छ । विभिन्न भौगोलिक क्षेत्रमा विभिन्न रहनसहन, संस्कृति, सांस्कृतिक विविधताले नेपाली समाजलाई अलौकिक सुन्दरता थपिएको छ । हाम्रो जस्तो प्राचीन सभ्यता बोकेको देश घुम्न, यहाँको सभ्यता जान्न बुझ्न, यहाँका संस्कृतिमा रमाउन खोज्ने विदेशीहरू संसारभर धेरै छन् तर त्यसका लागि हामीले पूर्वाधार पूर्ण रूपले विकसित गर्नु छ । 

हाम्रा सुन्दर गाउँ तथा बस्तीहरू रित्तिइँदै गएका छन् । गाउँ गाउँमा विकास भयो भने सहरमा सबै बस्नुपर्ने बाध्यता पनि हुँदैन । कृषिमा लगानी गरी कुन बाली कहाँ लगाउँदा राम्रो हुन्छ, अध्ययन अनुसन्धान गर्नु पर्छ । आधुनिक तरिका प्रयोग गरेर अर्गानिक खेती गर्नु पर्छ । यसले विदेशी पर्यटकलाई पनि आकर्षित गर्छ । अनि रित्तिँदै गएका गाउँमा मानिसको पुनः आगमन हुने छ । विदेश गएका पनि आफ्नै गाउँठाउँमा फर्किने छन् । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र हुँदै देशको शासन व्यवस्था सञ्चालनका प्रणाली अन्तर्गत सरकार पटक पटक बन्दै र फेरिँदै आएका छन् । अब चुनावपछि आउने नयाँ निर्वाचित सरकारको पहिलो प्राथमिकतामा यी मुद्दा पर्नु पर्छ ।