गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १६ गते । नेपाल–रुस साहित्य समाज (नेरुसास), रुसी सदन काठमाडौँ र बुक क्लब भक्तपुर ख्वपछेँ र खौमाले बिहीबार भक्तपुर दरबार स्क्वायरमा एक साहित्यिक साँझको आयोजना गरी विश्वप्रसिद्ध लेखक आन्तोन चेखभलाई सम्झेको छ । सो कार्यक्रमले रुसी साहित्य र संस्कृतिप्रेमीका साथै जिज्ञासु विद्यार्थीलाई एकै ठाउँमा जमघट गराएको थियो ।
नेरुसासका महासचिव तथा मित्रकुञ्जका उपाध्यक्ष रामविन्दु श्रेष्ठले साहित्यले देश र पुस्तालाई एकताबद्ध गर्नुका साथै भिन्न मुलुक, भिन्न भूगोल र संस्कृतिलाई जोड्छ, किशोरावस्थामा हामीले अनुदित रुसी साहित्यको झ्यालबाट रुसी र सोभियत संसारलाई देखेका थियौँ भन्नुभयो ।
कार्यक्रमका प्रमुख प्रस्तोता कवि अभय श्रेष्ठले चेखभका कथा र नाटकको सङ्क्षिप्त समीक्षा पस्कँदै उनका रचनाले जिन्दगीको नयाँ नयाँ सत्यसँग साक्षात्कार गराउँछ भन्नुभयो । पूर्वराजदूत एवं साहित्यकार प्राडा जङ्गब चौहानले आफू चेखभको घरआँगन, सङ्ग्रहालयमा घुमेको, त्यहाँका बासिन्दाले लेखक साहित्यकारलाई गरेको सम्मान अनुपम रहेको सम्झना सुनाउनुभयो ।
यसै गरी रुसी सदनकी निर्देशक अनस्तासिया खोख्लभाले चेखभका कथाका पात्र नेपाली समाजमा पनि भेटिएको हुँदा यहाँका पाठकले उनका रचनासँग आत्मसात् गरेको छ भन्नुभयो ।
कार्यक्रममा भक्तपुरका विद्यार्थी विराट् मानन्धरले चेखभको कारिन्दाको मृत्यु कथा वाचन गर्नुभएको थियो । अर्का विद्यार्थी रामविन्दु श्रेष्ठले त्यसको दार्शनिक पक्षको विश्लेषण गर्नुभयो । कवियित्री शकुन्तला जोशीले वरको बोटसम्बन्धी कविता पाठ गर्नुभयो ।
कार्यक्रमको दोस्रो खण्डमा रुसी सदन र लेखकद्वय विष्णुबहादुर सिंह र चन्द्रकान्त आचार्यबाट बुक क्लबलाई पुस्तक उपहार प्रदान गरिएको थियो । विश्व साहित्य इतिहासमा रुसी लेखक एवं साहित्यकार चेखभले दिएको योगदान शीर्षस्थानमा रहेको छ । विश्वका कतिपय लेखकले चेखभलाई कथा शिरोमणि मानेका छन् । रुसी साहित्यको काव्य विधामा पुस्किनको जुन स्थान छ गद्य विधामा चेखभको त्यही स्थान छ भनेर लेभ टोल्सटोय भन्नुहुन्छ । आफ्ना पात्रको चरित्र चित्रणमा अद्वितीय चेखभले समाज जस्तो छ त्यसलाई त्यसरी नै इमानदारीपूर्वक कृतिमा प्रस्तुत गर्नुभएको छ । त्यसैले उहाँलाई समाजको प्रखर मनोविज्ञान विश्लेषक पनि मानिएको छ ।