• १० चैत २०८२, मङ्गलबार

निर्वाचन आचार संहिता पालन गर्न सबै पक्ष सहमत

blog

निर्वाचन आचार संहिता कार्यान्वयनबारे छलफल कार्यक्रममा सहभागीहरू।तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, माघ १५ गते ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता पूर्ण रूपमा पालन गर्ने प्रतिबद्धता जनाएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, हुम्लाले आयोजना गरेको निर्वाचन आचार संहिता सम्बन्धी अभिमुखीकरण तथा कार्यान्वयनबारेको छलफल कार्यक्रममा सहभागी राजनीतिक दलका उम्मेदवार, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी तथा अन्य सरोकारवालाले आचार संहिता  पालन गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका हुन्।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयमुक्त र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै पक्षले रचनात्मक र सहयोगी भूमिका खेल्ने निर्णय गरिएको जानकारी दिनुभयो। 

उहाँका अनुसार आचार संहिता उल्लङ्घन भए कानुनअनुसार कारबाही गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पछि नहट्ने निष्कर्ष बैठकबाट निकालिएको छ।

मुख्य निर्वाचन अधिकृत बैकुण्ठ बरालले निर्वाचन आचार संहिता पालन भए नभएको अनुगमनमा नागरिक समाजको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभयो । 

 निर्वाचन आयोगले सरोकारवाला पक्षका लागि आचार संहिता छुट्टाछुट्टै जारी गरिसकेको छ।नेपाल पत्रकार महासंघका उपाध्यक्ष छपाल लामाले निर्वाचन सफल पार्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै लागू भएका निर्वाचन आचार संहिता पालन गर्नु पनि सबै सरोकारवाला पक्षको जिम्मेवारी भएको बताउनुभयो।

 उहाँले निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारहरूबाट आचार संहिता पालन गर्ने प्रतिबद्धता आउनु सकारात्मक पक्ष भएको धारणा राख्नुभयो। 

साथै, मतदानमा जनसहभागिता बढाउन महासंघमार्फत सञ्चारकर्मीले सहयोगी भूमिका खेल्ने जानकारी दिनुभयो।कार्यक्रममा विशेष परिस्थितिमा भइरहेको निर्वाचन भएकाले नवयुवाको भावना कदर गर्दै सबै पक्ष निर्वाचन सफल पार्न सक्रिय हुनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

कार्यक्रममा नेपाली काँग्रेसका उम्मेदवार जयपति रोकाया, नेकपा (एमाले) का दलबहादुर फडेरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढा, नेकपा (नेकपा) का डा.दिपेन्द्र रोकाया, राष्ट्रिय स्वतन्त्र पार्टीका टासी लाङ्जोम, नेकपा (माओवादी केन्द्र) का कुम्भ बुढा र प्रगतिशील लोकतान्त्रिक पार्टीका जटिल कार्कीको उपस्थिति रहेको थियो।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीको समेत कार्यक्रममा सहभागिता रहेको थियो।