रवीन्द्र उप्रेती
बर्दिबास, माघ १५ गते ।पूर्वपश्चिम लोकमार्गअन्तर्गत बर्दीबास नगरपालिका–१ स्थित शुभ स्वस्तिक अस्पताल नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी मोटरसाइकल पछाडि बसेका बर्दीबास नगरपालिका–१४ का १९ वर्षीय शैलेश मगरको उपचारका क्रममा बुधबार राति मृत्यु भएको बर्दीबास प्रहरीले जनाएको छ ।
सोही ठाँउका १८ वर्षीय मोटरसाइकल चालक अविनाश खड्काको गम्भीर अवस्थामा शुभ स्वस्तिक अस्पतालमै उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय बर्दीबासका अनुसार बुधबार साँझ पूर्वबाट पश्चिमतर्फ तीव्र गतिमा जाँदै गरेको बा. प्र. ०२–०१९ प. ३१०३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनापछि घाइते दुवै जनालाई उपचारका लागि शुभ स्वस्तिक अस्पतालमा भर्ना गरिएकोमा मगरको हिजो राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको मोटरसाइकललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दीबासका प्रहरी नायब उपरीक्षक विकास बलमेले जानकारी दिनुभयो। मृतक मगरको शव पोस्टमार्टमका लागि बर्दीबास अस्पताल लगिएको छ ।