• १५ माघ २०८२, बिहिबार

नयाँ अनुहारसँग गौरीशङ्करको प्रतिस्पर्धा

blog

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), माघ १५ गते । कैलाली क्षेत्र नम्बर ३ मा दुई पटक प्रतिनिधि सभा र एक पटक संविधान सभा निर्वाचनमा उम्मेदवार भइसक्नु भएका पूर्वमन्त्री गौरीशङ्कर चौधरी यस पटक अधिकांश नयाँ अनुहारसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । नेकपा (एमाले) का केन्द्रीय सदस्य चौधरीले नेपाली कांग्रेसका भीमबहादुर बडुवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका जगतप्रसाद जोशीसँग मुख्य प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । यद्यपि मुख्य प्रतिस्पर्धामा रहेको नेपाली कम्युनिस्ट पार्टीका वीरमान चौधरी तत्कालीन माओवादीबाट संविधान सभा सदस्य र प्रदेश सभा सदस्य भइसक्नुभएको छ । 

उहाँ २०७० सालको संविधान सभा निर्वाचन र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा विजयी भए पनि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पराजित हुनुभएको थियो ।  २०७९ सालको प्रतिनिधि सभा चुनावमा कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी विजयी हुनुभएको थियो । उहाँले नेपाली कांग्रेस र तत्कालीन नेकपा (माओवादी केन्द्र) को गठबन्धन उम्मेदवार कृष्णकुमार चौधरीलाई पाँच हजार बढी मतले पछाडि पार्दै जित हासिल गर्नुभएको थियो । सो चुनावमा गौरीशङ्कर चौधरीले नौ हजार ८७४ मत प्राप्त गरेर तेस्रो हुनु भएको थियो ।

उम्मेदवार चौधरीले २०७९ सालको चुनावमा नागरिक उन्मुक्ति पार्टीको लहर र गठबन्धनका विरुद्ध एक्लै चुनावमा हार बेहोर्नु परे पनि यस पटक जित्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले २०७९ सालमा जनताले जिताएर पठाएका नयाँ अनुहारले जनताका लागि केही गर्न नसकेको उल्लेख गर्दै आफूले पहिला पूरा गर्न नसकेका योजना पूरा गर्नका लागि पनि यस पटक फेरि उम्मेदवारी रहेको बताउनुभयो । उहाँ दुई पटक मन्त्री  हुनुभएको थियो । आफू मन्त्री हुँदा कृषि क्षेत्रमा केही नयाँ काम गरेको र विकासका योजनासमेत ल्याएको उहाँले दाबी गर्नुभयो ।  

रेशम चौधरी पक्ष नागरिक उन्मुक्ति पार्टी नेपालको उम्मेदवारका रूपमा विक्रम चौधरी अहिले चुनावी मैदानमा हुनुहुन्छ । २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा भजनी नगरपालिका–३ को वडाध्यक्षमा निर्वाचित चौधरी यस पटक प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्नुभएको छ । 

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा विजयी गङ्गाराम चौधरी आफू नउठ्ने भएपछि वडाध्यक्ष चौधरीलाई अगाडि सार्नुभएको हो । 

यस पटकको चुनावमा बलियो उम्मेदवारका रूपमा कांगेसका बडुवाललाई पनि हेरिएको छ । समानुपातिक उम्मेदवार तथा क्षेत्रीय सभापति रिता चौधरीले यस पटक सुध्रिएर आएको कांग्रेसले धेरै जनताको मत तान्ने विश्वास व्यक्त गर्नुभयो । प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार वीरमान चौधरी २०७४ सालको प्रदेश सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३  क बाट तत्कालीन नेकपा (माओवादी) बाट चुनाव जित्नुभएको थियो । उहाँ २०६४ को संविधान सभा सदस्यमा पनि कैलाली ३ बाट निर्वाचित हुनुभएको थियो । नेता चौधरीलाई समेत बलियो उम्मेदवारका रूपमा हेरिएको छ । 

उहाँले आफूले प्रदेश सभा र संविधान सभामा रहँदा जनताका पक्षमा धेरै काम गरेको बताउँदै त्यसको निरन्तरताका लागि आफू उम्मेदवार बनेको बताउनुभयो । उहाँले आफू नयाँ पुस्ताको भावना बुझ्ने प्रतिनिधि हुने दाबी पनि गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएका जगतप्रसाद जोशीलाई प्रतिस्पर्धी उम्मेदवारका रूपमा हेरिएको छ । खासै चर्चामा नरहेका जोशीको उम्मेदवारी अन्तिम समयमा परेको थियो । टिकटको चर्चामा रहेका लक्ष्मण थारूको उम्मेदवारी दर्ता प्रव्रिmयामा कागजात नपुगेपछि जोशीको उम्मेदवारी दर्ता भएको थियो । ११ वटा दलले उम्मेदवारी दर्ता गरे पनि गएका चुनाव र वर्तमान अवस्थालाई हेर्दा नयाँ र पुराना अनुहार र दलबिचको प्रतिस्पर्धालाई रोचक रूपमा हेरिएको छ । कैलाली क्षेत्र नम्बर ३ मा एक लाख नौ हजार ११८ जना मतदाता रहेका छन् ।