• १५ माघ २०८२, बिहिबार

एक मात्र महिला उम्मेदवार चुनावी मैदानमा

blog

बेलौरी समाचारदाता

बेलौरी (कञ्चनपुर), माघ १५ गते  ।  आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट एक जना मात्रै महिला उम्मेदवार चुनावी मैदानमा उत्रिनुभएको छ । १६ वटा दलले पुरुषलाई उम्मेदवार बनाउँदा एक दलले मात्रै महिलालाई उम्मेदवार बनाएको हो । क्षेत्र नम्बर ३ मा आमजनता पार्टी (एकल चुनाव चिह्न) बाट लक्ष्मीकुमारी विष्ट भट्ट उम्मेदवार बन्नुभएको छ । भट्ट पहिलो पटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नुभएको हो । भीमदत्त नगरपालिका–१८, निम्बुखेडा घर भएका भट्टले महिलाको हकहितका लागि यस पटक चुनावमा उम्मेदवार बनेको बताउनुभयो । उहाँ पेसाले कटाइसिलाइ गर्दै आउनुभएको छ । साथै कञ्चनपुरकी निर्मला पन्तका दोषीलाई कानुनी कठघरमा उभ्याउन आफू उम्मेदवार बनेकोसमेत उहाँले बताउनुभयो । 

ठुला भनिएका दलले समेत महिलालाई अवसरबाट वञ्चित गर्दै आएकाले आमजनता पार्टीबाट आफू उम्मेदवार बनेको उहाँले बताउनुभयो । निर्वाचन क्षेत्र नम्बर ३ मा एक लाख तीन हजार ८६ मतदाता हुनुहुन्छ । जसमध्ये पुरुष मतदाताभन्दा महिला मतदाता दुई हजार ११२ जना छन् । महिला मतदाता सङ्ख्या ५२ हजार ५९९ रहेका छन् । यहाँ विस. २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका नेता लेखक ३० हजार ५४४ मतसहित विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार निरुदेवी पालले १८ हजार ४४८ मत पाउनुभएको थियो । 

अमरगढी समाचारदाताका अनुसार पुरुषभन्दा थोरै बढी महिला मतदाता सङ्ख्या रहेको डडेलधुरामा महिला उम्मेदवारी भने परेको छैन । समानुपातिकतर्फ महिला उम्मेदवार बनाइए पनि प्रत्यक्षतर्फ भने महिला उम्मेदवारी नपरेको हो । डडेलधुरामा कुल मतदाता सङ्ख्या ९१ हजार ९१९ रहेको जिल्ला निर्वाचन कार्यालय डडेलधुराका निर्वाचन अधिकृत करुणाकर अवस्थीले जानकारी दिनुभयो । यसमध्ये महिला मतदाताको सङ्ख्या ४५ हजार ९८३ रहेको भने पुरुष मतदाता सङ्ख्या ४५ हजार ९३६ रहेको छ । पुरुषभन्दा महिला मतदाताको सङ्ख्या ४७ ले बढी रहेको उहाँले बताउनुभयो । 

सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले दलित महिला हरिना कामीलाई समानुपातिक उम्मेदवार बनाएको भए पनि अन्य दलबाट समानुपातिकमा समेत महिला अटाउन सकेका छैनन् ।