• १५ माघ २०८२, बिहिबार

निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन तनहुँका दलहरू प्रतिबद्ध

blog

आफ्नो भनाइ राख्नु हुँदै प्रमुख निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्याय । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 
तनहुँ, माघ १५ गते ।
तनहुँका राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको अक्षरसः पालना गर्दै स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्न साझा प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लामा क्रियाशील राजनीतिक दल, उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूलाई आचारसंहिताबारे अभिमुखीकरण गर्न बिहीबार आयोजित कार्यक्रममा उनीहरूले निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा भव्य बनाउने प्रण गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृत एवम् आचारसंहिता अनुगमन संयोजक विष्णुप्रसाद उपाध्यायले निर्वाचनको मर्यादा जोगाउनु सबैको सामूहिक जिम्मेवारी भएको उल्लेख गर्नुभयो । “आचारसंहिताको पालना गर्नु नैतिक दायित्व मात्र होइन, कानुनी बाध्यता पनि हो,“ उहाँले भन्नुभयो, “यदि कसैले उल्लङ्घन गरेको पाइएमा वा उजुरी परेमा कानुनबमोजिम कडा कारबाही गरिनेछ ।’’

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण बनाउन प्रशासन तयारी अवस्थामा रहेको बताउनुभयो । विशेषगरी सामाजिक सञ्जालमार्फत हुन सक्ने मिथ्या सूचना र भ्रामक प्रचारलाई रोक्न कडा निगरानी बढाइएको उहाँको भनाइ थियो । सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जिल्लाका संवेदनशील मानिएका ८ वटै निर्वाचन केन्द्रमा विशेष सुरक्षा टोली परिचालन गरी नागरिकलाई भयरहित वातावरणमा मतदान गर्ने सुनिश्चितता प्रदान गरिने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख अशोक खनालले निर्वाचन खर्चलाई पारदर्शी बनाउन उम्मेदवारले अनिवार्य रूपमा बैंक खातामार्फत मात्र कारोबार गर्नुपर्नेमा जोड दिनुभयो ।

अभिमुखीकरणका क्रममा उम्मेदवारी दर्तापछि नै प्रचारप्रसार सुरु भएको विषयमा उठेका जिज्ञासाको जवाफ दिँदै राजनीतिक नेतृत्वले नियमको कदर गर्ने बताएका छन् । नेपाली कांग्रेसका उपसभापति देवकुमार श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष हरिराज कँडेल, नेकपाका रामचन्द्र सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपाध्यक्ष सूर्यभक्त पौडेल लगायतले निर्वाचन आयोगको कार्यतालिका र आचारसंहिताभित्रै रहेर आफ्ना गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

जिल्ला निर्वाचन अधिकृत विकास लम्सालले हालसम्म जिल्लामा आचारसंहिता उल्लंघनका उजुरी नपरेको जानकारी दिँदै राजनीतिक दल, कर्मचारी, शिक्षक र सञ्चारकर्मी सबैले कर्तव्य पालना गर्नुपर्ने बताउनुभयो । बैठकमा नेपाली सेनाका प्रमुख सेनानी हरि खड्का, जिल्ला प्रहरी प्रमुख टेकबहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक अशोककुमार लम्साल, राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक मनोज ढकाल लगायत सुरक्षा निकायका प्रमुख एवम् सरोकारवालाहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले निर्वाचनलाई भड्किलो र खर्चिलो बनाउनुको साटो विचार र एजेन्डाको प्रतिस्पर्धा बनाउनुपर्नेमा जोड दिएका थिए ।