क्यान्सर असाध्य रोगमा पर्छ । कुनै बेला क्यान्सरलाई ‘नो एन्सर’ पनि भन्ने गरिन्थ्यो तर बिस्तारै उपचार सम्भव हुँदै छ । क्यान्सर फैलिँदो छ । नेपालमा मात्र होइन, विश्वभर नै । मानिसको जीवनशैली पनि क्यान्सर बढ्ने कारण बनेको छ । प्राकृतिक खानपान र जीवनशैली मानिस निरोगी हुन सक्ने मुख्य आधार हो । आधुनिकताका नाममा मानिस प्राकृतिक खानापान र जीवनशैलीबाट टाढा पुग्दै छ । चाँडो मुनाफाको लोभमा अखाद्य उत्पादन बढिरहेको छ । स्वादे जिब्रो र तीव्र मुनाफाका कारण मानिसमा त्यस्तो खानाको प्रयोग बढेको छ । भान्सामा दैनिक प्रयोग हुने तरकारी पनि स्वस्थकर हुन सकेको छैन । अधिक विषादी प्रयोग गरिएको तरकारी भान्सामा पुग्ने गरेको छ । मापदण्डविपरीतको विषादीका कारण विषादीयुक्त तरकारीले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ । जीवनशैली पनि फेरिएको छ । सहरी जीवनशैली राति अबेरसम्म जागा बस्ने अनि बिहान ढिलोसम्म सुत्ने प्रवृत्ति बढ्दो छ । खानपानमा बजारीकरण हुँदो छ । ‘फास्ट फुड’ को प्रचलन बढिरहेको छ । त्यस्तो खानामा स्वादका निम्ति अखाद्य वस्तु मिसाइन्छ । शुद्ध तेल प्रयोग हुँदैन । धूमपानको लतले पनि स्वास्थ्यमा प्रतिकूल असर पार्छ । मद्यपानको समस्या छ । जीवनशैलीले मोटोपना बढ्दो छ । शारीरिक काम गर्ने प्रचलन कम हुँदा पनि मोटोपन बढिरहेको छ । प्रदूषित वातावरणीय कारणले हावा स्वच्छ छैन । यी धेरै कारणले क्यान्सरलगायतका रोगका बिरामी बढ्न थालेका छन् ।
कुनै पनि रोग बढ्दै जानु राम्रो होइन । भनिन्छ, रोग लाग्नुभन्दा रोग लाग्नै नदिनु उचित हो । रोग लाग्नै नदिन जीवनशैली र खानपानमा सुधार हुनु पर्छ । त्यस्तो खालको जीवनशैलीका निम्ति जनचेतना विस्तार हुनु पर्छ । रोग लागिसकेपछि उपचार पाउनु पर्छ । नेपालमै क्यान्सर रोगको उपचार सम्भव हुँदै गएको छ । यो भने खुसीको कुरा हो । नेपालमै ९९ प्रतिशत क्यान्सरको उपचार सम्भव हुने बताउन थालिएको छ । केही सीमित क्यान्सरको उपचारका निम्ति भने देशबाहिर जानुपर्ने बाध्यता छ । त्यस्ता उपचारका निम्ति प्रायः भारत जाने प्रचलन छ । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेको भनाइमा नेपालमा सम्भव नहुने केही क्यान्सरको उपचारका लागि मात्र बिरामी भारतलगायत मुलुकमा जाने गरेका छन् । कतिपय बाध्यता र कतिपय नेपालमा उपचारको विश्वास नभएर पनि बिरामी बाहिर जाने गर्छन् । नेपालमा ‘रोबोटिक सर्जरी’, ‘रोबोटिक थेरापी’ तथा ‘प्रोटोनथेरापी’ जस्ता क्यान्सरका उपचार प्रविधि भने छैन । यस्ता प्रविधि प्रयोग हुने सीमित बिरामी भने अझै पनि बाहिरै जानु पर्छ । ‘प्रोटोनथेरापी’ क्यान्सर सेक्ने मेसिन हो र यो महँगो उपचार प्रविधि हो । यस प्रविधिका निम्ति ठुलो धनराशि खर्च हुन्छ । भारतमा पनि सीमित मात्रामा यस्ता उपचार प्रविधि छन् । उपचारमा ठुलो धनराशि खर्च हुने हुँदा यस्तो प्रविधिका बिरामी पीडित छन् ।
अधिकांश क्यान्सर रोगीको उपचार स्वदेशमै हुने भनिए पनि व्यावहारिक रूपमा त्यस्तो सहजता पाउन भने कठिन छ । सरकारी अस्पतालमा उपचार सरल हुने भए पनि व्यवस्थापन प्रभावकारी हुन सकेको पाइँदैन । कतिपय सरकारी अस्पतालका चिकित्सक तथा कर्मचारी नै निजी क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाका लगानीकर्तासमेत हुने गरेको पाइएको बताइन्छ । बिरामीलाई भरसक निजी स्वास्थ्य संस्थातिर पठाउन पनि कतिपय सरकारी स्वास्थ्य संस्थामा राम्रो उपचार हुँदैन भन्ने बिरामीको गुनासो हुने गरेको छ । अस्पतालमा आफ्नो मानिस छ भने त्यसैका आधारमा राम्रो उपचार हुने तर सर्वसाधारणको उपचार राम्रो हुन नसक्ने कतिपय तिता अनुभवसमेत पाइने गरेको छ । संविधानले नै स्वास्थ्य उपचार नागरिकको हकका रूपमा स्थापित गरेको छ । सहज उपचारका निम्ति बिमा कार्यक्रम सञ्चालनमा ल्याइए पनि अहिले कतिपय अस्पतालमा स्वास्थ्य बिमा सङ्कटमा परेको छ । स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनु पर्छ । क्यान्सरलगायत असाध्य रोगको उपचारका निम्ति सरकारले पनि ठुलो लगानी गरेको छ । बिरामीलाई सहुलियत दिएको छ । त्यसको पहुँचका आधारमा मात्र कार्यव्यवहार हुने गरेको कतिपय पीडितको भनाइ पाइन्छ । यताका दुई/तीन दशकमा देशभित्र स्वास्थ्य सेवा विस्तार भएको छ । क्यान्सरलगायतका जटिल रोगको उपचार देशभित्रै हुन थालेको छ । यो राम्रो पक्ष हो । यसमा अझै सहजता ल्याउन धेरै सुधारको खाँचो छ । सुधार निरन्तर हुनु पर्छ ।