नवराज नेपाली
बागलुङ (गलकोट) माघ १५ गते । धौलागिरी आयुर्वेद अस्पताल व्यवस्थापन समिति बागलुङको नवनियुक्त अध्यक्ष तेजबहादुर कुवँरले पदभार ग्रहण गर्नुभएको छ । गण्डकी प्रदेश सरकारद्वारा हालै अध्यक्षमा नियुक्त कुवँरले आगामी तीन वर्षका लागि समितिको नेतृत्व सम्हाल्ने हुनभएको हो । उहाँले अस्पतालको स्तरवृद्धि तथा व्यवस्थापन सुधारमा प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।
अध्यक्ष कुवँरले अस्पताललाई एक सेवादायी संस्थाका रूपमा विकास गर्न आफूले सक्दो प्रयास गर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले आयुर्वेद अस्पताललाई सुदृढ बनाउने कार्यमा प्रदेश सरकारले मुख्य भूमिका खेलेको उल्लेख गर्नुभएको थियोे ।
मन्त्री पाठकले विश्वव्यापी रूपमा बढ्दै गएको आयुर्वेद उपचारको महत्त्वलाई आधुनिक चिकित्सा प्रणालीसँगै अघि बढाउनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रमका अतिथि गण्डकी प्रदेशसभा सदस्य दिपेन्द्रबहादुर थापाले जिल्लामा पाइने जडिबुटीको पहिचान, सङ्कलन, व्यवस्थापन तथा प्रशोधनमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको थियोे । यसले अस्पताललाई आम्दानीसँग जोड्ने भएकाले सुदृढीकरणमा समेत सहयोग पुग्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ तथा धौलागिरी प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्मा अस्पतालका डा कमलविक्रम पौडेलले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
व्यवस्थापन समितिका सदस्यहरूमा पार्वती खड्का अधिकारी र सञ्जिप कँडेल रहेका रहनुभएको छ । जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय र नगरपालिका पदेन सदस्य रहने समितिमा अस्पताल प्रमुख पदेन सचिव रहने व्यवस्था रहेको धौलागिरि आयुर्वेद अस्पतालका प्रमुख डा शरद पन्थीले बताउनुभयो ।