प्रतीक इच्छुक शर्मा
सल्यान, माघ १५ गते । सल्यान जिल्लाका दुई हजार ६६९ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार कक्षा ६ मा अध्ययनरत किशोरी तथा विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरीलाई खोप दिइनेछ ।
यस अभियानअन्तर्गत गत वर्ष खोप लगाउन छुटेका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई समेत समेटिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । खोप अभियान जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालन हुने जनस्वास्थ्य अधिकृत तथा खोप संयोजक तारा रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाभर रहेका २४७ खोप केन्द्रबाट अभियान सञ्चालन गरिनेछ । देशव्यापी रूपमा सञ्चालन हुने यो कार्यक्रम माघ २७ गतेदेखि फागुन ५ गतेसम्म चल्नेछ । विद्यालय जाने किशोरीलाई विद्यालयमै खोप दिइनेछ भने विद्यालय नजाने किशोरीलाई नजिकको खोप केन्द्रबाट खोप लगाइने व्यवस्था गरिएको छ ।
खोप अभियानलाई प्रभावकारी बनाउन करिब पाँच सय स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन गरिने जनाइएको छ । जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरी अभियान सञ्चालन गरिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समिति संयोजक वेलाराम रावलले सल्यानमा खोपको पहुँच राम्रो रहेकाले आगामी दिनमा कसैलाई पनि खोपबाट नछुटाउन निर्देशन दिनुभयो । प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले खोप अभियानलाई प्रभावकारी बनाउँदै सबै किशोरीको पहुँचमा खोप पु¥याउन सरोकारवाला सबै निकाय सक्रिय हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख असबिर बुढाथोकी, समन्वय अधिकारी निमबहादुर ओली, स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगर, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतलगायत स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।