चाँदनी आचार्य
घोडाघोडी (कैलाली), माघ १४ गते । पितृसत्तात्मक समाजिक संरचनाका कारण घरधन्दामै सीमित हुँदैआएका सुदूरपश्चिमका ग्रामीण महिलाहरू चुलो–चौकाबाट बाहिर आउन थालेका छन् ।
विभिन्न गैरसरकारी संस्थाहरुले महिलाकेन्द्रित भएर लैङ्गिक–आर्थिक सशक्तीकरणका कार्यक्रममार्फत सीप विकास र स्वरोजगारीमा सघाउन थालेपछि आर्थिक क्रियाकलापमा सुदूरका ग्रामीण महिलाको सहभागिता बढ्दैगएको हो ।
व्यावसायिक कृषि तथा अग्र्यानिक तरकारी खेती, पशुपालन, सीपमा आधारित विभिन्न सामग्री उत्पादन, घरेलु तथा साना उद्यम सञ्चालन लगायतसँग सम्बन्धित विविध तालिमहरू सुदूरपश्चिम प्रदेशसँगको साझेदारीमा वा छुट्टै पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले पछिल्लो केही वर्षयता यस प्रदेशमा सञ्चालन गरिरहेका छन् । यसबाट लाभान्वित हुने महिलाको सङ्ख्या बढ्दै जाँदा समुदायमा यसको प्रभाव देखिन थालेको छ ।
सीप, परिश्रम र स्वरोजगारीबाट आय आर्जन गर्न थालेपछि महिलाले घरपरिवारको खर्च व्यवस्थापन र आर्थिक निर्णयमा आफ्नो उपस्थिति बढाउँदै गएका छन् । साथै, व्यक्तिगत, पारिवारिक र सामाजिक स्तरमा पनि उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमतामा सुधार हुन थालेको देखिन्छ । यसबाट सुदूरपश्चिम प्रदेशका ग्रामीण क्षेत्रमा महिला हिंसा न्युनीकरण लगायतमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
सुदूरपश्चिममा खासगरी ग्रामीण महिलामाथि विविध हिंसा (घरायसी, यौन, सामाजिक कुप्रथा) अझै पनि गहिरो समस्याका रूपमा रहेको छ, जसले व्यक्तिगत, पारिवारिक र सामुदायिक स्तरमा महिलाको सशक्तीकरणमा ठुलो बाधा गरिरहेको छ । आर्थिक गतिविधिमा सक्रियता र पारिवारिक आय आर्जनमा महिलाको भूमिका पनि बढ्दै जाँदा यसले महिला हिंसालाई निरुत्साहित गर्दै लैजान मद्दत पुग्ने विश्वास सामाजिक अभियन्ताहरूको छ ।
सुदूरपश्चिमका महिलाहरूको ठुलो हिस्सा (करिब ४०%) निरक्षर छ । माध्यमिक तहमाथिको शिक्षा हासिल गरेका महिलाको सङ्ख्या १५ प्रतिशतभन्दा कम छ । सम्पत्ति र आर्थिक स्रोतहरूमा पहुँच कमजोर छ । घर–जग्गामा स्वामित्व हुने महिलाको सङ्ख्या १ देखि ३ प्रतिशतबिच मात्र रहेको छ । बैँक खातामा आबद्धता ३४% हाराहारी मात्र भएको केन्द्रिय तथ्याङ्क कार्यालयको अभिलेख छ । सकारात्मक पाटो– विभिन्न घरायसी निर्णयमा संलग्न हुने महिलाको हिस्सामा सुधार हुँदै गएको र यो ५० देखि ७० प्रतिशत पुगेको छ ।

महिला हिंसा रोकथाम, आर्थिक सशक्तीकरण, नेतृत्व विकास लगायतलाई ध्यानमा राखेर तीनै तहका सरकारले विभिन्न नीति तथा कार्यक्रम लागु गरेपछि यसबाट देशभरका पिछडिएको क्षेत्रका थुप्रै महिला लाभान्वित भएका छन् । सुदूरपश्चिमका ग्रामीण महिला पनि यसका हिस्सेदार हुन् ।
सङ्घ, प्रदेश र स्थानीय सरकारले विभिन्न नीतिगत सुधार तथा कार्यक्रम अघि बढाउँदा महिलाको आर्थिक तथा सामाजिक पक्षको सशक्तीकरणमा सुधार देखिन थालेको स्थानीय सरोकारवालको भनाइ छ ।
लम्कीचुहा नगर प्रमुख सुशीला शाहीका अनुसार, पालिकाले महिलाको आवश्यकता र मागअनुसारका सीपमूलक कार्यक्रममा सहयोग गर्दैआएको छ । आर्थिक सशक्तीकरणको अवस्थामा सुधारले सुदूरका धेरै महिलाको आत्मविश्वास बलियो बनाएको छ ।
२०७७ सालदेखि ७५३ वटै पालिकामा गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम लागु भएपछि यसबाट प्रदेशका पनि थुप्रै महिलाहरू लाभान्वित भएको लम्कीचुहा नगरपालिका लघुउद्यम कार्यक्रमका सहजकर्ता अरुण चौधरी बताउनुभयो ।
फेरिँदै आत्मसम्मान
सीप, स्वरोजगार र व्यावसायिक कृषिले महिलाको आर्थिक सशक्तीकरणमा प्रभावकारी नतिजा ल्याएका उदाहरणहरू सुदूरपश्चिममा बाक्लै देखिन थालेका छन् ।
खासगरी तराईको जिल्लामा महिलाको सक्रियतामा प्राङ्गारिक (अग्र्यानिक) तरकारी खेती बढेको छ । यसले उनीहरूको परिश्रम र उत्पादनलाई बजारसम्म जोड्दै आर्थिक सशक्तिकरणलाई बल पुग्छ ।
कैलालीको गोदावरी नगरपालिका–८, फकलपुरकी राजकुमारी चौधरीले आफ्नो ५ कट्ठा करेसाबारीमा मौसमी तरकारी खेतीका साथै प्लास्टिक टनेलभित्र च्याउको व्यावसायिक खेती गर्दै आउनु भएको छ । अहिले फसल बजार लैजान तयारी अवस्थामा छ ।
बिषादी र रासायनिक मल प्रयोग गरेको भन्दा अग्र्यानिक मल हालेर उब्जाएको तरकारीको बजार र मूल्य राम्रो रहेको बुझेपछि उहाँले आफैंले घरछेउमै गड्यौलाको मल र झोल मल पनि उत्पादन गर्दै आउनुभएको हो । बजार लैजान तरकारी टिप्दै गर्दा भेटिएकी उहाँले भन्नुभयो, ‘यो सबै अर्गानिक छ । मैले बिषादी र रासायनिक मल हालेको छैन । आफैंले बनाएको झोल मल, गड्यौंला मल प्रयोग गरेको छु ।’
राजकुमारी लगायतका महिलालाई व्यावसायिक अर्गानिक तरकारी खेती र उत्पादनको बजारीकरणका विषयमा आएको चेतना र ज्ञानको प्रमुख कारण विभिन्न गाउँमा गठित विभिन्न महिला समूह र त्यसमार्फत बढेको छलफल, मासिक बचत, आर्थिक–सामाजिक विषयको चासो हो । महिला समूहहरूको सक्रियता देखेर विभिन्न गैरसरकारी संस्थाहरूले उनीहरूलाई अर्गानिक तरकारी खेती र उत्पादनको बजारीकरणबारे प्राविधिक र व्यावहारिक ज्ञान तथा प्रशिक्षणमा सहयोग गरेका छन् ।
यसतर्फ सुदूरका ग्रामिक महिलाको आकर्षण र सहभागिता बढाएको छ । यसले उनीहरूको आर्थिक अवस्था, आत्मविश्वास, नेतृत्व क्षमता र सशक्तीकरणमा पनि निकै सुधार आएको छ ।
दुई दशकदेखि घर–घर डुलेर टोकरीमा तरकारी बेच्दै आएकी फकलपुरकै मायादेवी चौधरीले पनि पछिल्लो समय प्राङ्गारिक तरकारी खेतीमा लाग्नुभएको छ । उहाँ भन्नुुहुन्छ, ‘टोकरीमा घर–घर डुलाएर तरकारी बेच्दा भनेजस्तो दाम आउँदैनथ्यो भने हैरानी आफ्नै ठाउँमा थियो । अर्गानिक तरकारी खेती गर्न थालेपछि अहिले व्यापारी बारीमै गाडी लिएर तरकारी किन्न आउँछन् ।’
पहिला बजारको उचित ज्ञान नहुँदा बिचौलियालाई सस्तोमा तरकारी बेच्नुपर्ने बाध्यताबाट गुज्रँदैआएका कैलालीका ग्रामीण महिला अहिले सरकार तथा गैरसरकारी संस्थाले सञ्चालनका गरेका विभिन्न कार्यक्रममार्फत सशक्तीकरणको सवालमा लाभान्वित भएका छन् ।
नेपाल सरकार, युरोपेली सङ्घ र संयुक्त राष्ट्रले संयुक्त रूपमा सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहमा ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम सञ्चालन गरिरहेको छ । यस कार्यक्रमले किसानलाई तरकारी व्यापारीसँग जोड्ने काम गरेको छ । अर्गानिक तरकारी खरिदका लागि व्यापारीसँग सम्झौता गराएपछि कृषक महिलालाई बजारीकरणमा सहज भएको छ ।
यस कार्यक्रमको प्रभावकारीताकै कारण फकलपुरका अधिकांश महिलाहरू व्यावसायिक अर्गानिक तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेपछि महिलालाई घर व्यवहार चलाउन सहज भएको छ भने उनीहरूको व्यक्तित्व विकास भएको छ ।
लैङ्गिक हिंसा रोकथाम, महिला तथा सिमान्तकृत समुदायको आर्थिक सशक्तीकरण, लैङ्गिक उत्तरदायी शासन र सामाजिकसँगै आर्थिक रूपमा सबल बनाउने उद्देश्यले ‘सशक्त महिला, समृद्ध नेपाल’ परियोजना सुरु गरिएको कार्यक्रमकी सुदूरपश्चिम प्रदेश संयोजक प्रतिभा चौधरीले बताउनुभयो ।
जसअन्तर्गत कैलालीका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र चुरे गाउँपालिका, डोटीको जोरायल गाउँपालिका र दिपायल शिलगढी नगरपालिका, बझाङका दुर्गाथली, मष्टा र खप्तडछान्ना गाउँपालिका, बाजुराको बडीमालिका नगरपालिका र कञ्चनपुरको बेलौरी नगरपालिकामा कार्यक्रम लागु भएको छ । कार्यक्रमले महिलाको नेतृत्व विकास, सशक्तीकरण, महिला हिंसा न्युनीकरण, आर्थिक शसक्तीकरणमा सहयोग गरेको संयोजक चौधरीको भनाइ छ ।
‘पहिले अरूसँग बोल्न डराउने महिला अचेल निर्धक्कसँग आफ्ना कुरा भन्ने मात्र होइन, समाजमा कसैलाई अन्याय परेको छ भने पीडितको पक्षमा बोल्नसमेत पछि पर्दैनन्’ राजकुमारी भन्नुहुन्छ, ‘आजभोलि त म आफैं पनि गाउँमा आउने समस्या समाधान गर्न पनि सक्षम भएको छु । आफ्नो परिवार मिलाएर राखेको छु । गाउँघरमा श्रीमान्–श्रीमतीबिच हुने असमझदारी, झैँ–झगडा मिलाउन सहयोग गरेको छु भन्ने आत्मविश्वास बढेको छ ।’
पहिला–पहिला घरमा निर्णय लिनुपर्दा श्रीमानलाई सोध्नुपर्ने, आफूले केही काम गर्दा गाली खाइन्छ कि भन्ने डर पालेका महिला आर्थिक सशक्तीकरणका कारण अचेल परिवारको नेतृत्वसमेत सम्हाल्न थालेका छन्, यसको उदाहरण हुनुहुन्छ मायादेवी । उहाँको घरमा पहिला आर्थिकदेखि पारिवारिक निर्णयहरू सबै श्रीमानकै चल्थ्यो । तर अहिले अवस्था उल्टो छ । उहाँ भन्नुहुन्छ, ‘अहिले बारीमा कुन तरकारी लगाउने भन्नेदेखि घर व्यवहारसम्मको निर्णय मेरै हुन्छ, श्रीमानले सहमति जनाउनु हुन्छ । तरकारी बेचेको पैसा मेरै हातमा हुन्छ । घर खर्चको निर्णय पनि आफ्नै हातमा छ ।’
यतिमात्र नभएर व्यावसायिक तरकारी खेतीबाट भएको आम्दानीबाट घर खर्च गरेर बचेको पैसा बैँक तथा वित्तीय संस्थामा बचत गर्ने, घरमा आवश्यक पर्नेलाई सल्लाहमा खर्च दिनेदेखि गाउँघरमा आवश्यक पर्नेलाई पैंचो लगाउनेसम्म महिलाले गर्न थालेका छन् । जबकि, पहिला बैँकमा खाता खोल्नुपर्छ, बचत गर्नुपर्छ भन्ने चेतनाको अभाव कैलालीका अधिकांश ग्रामीण महिलामा थियो ।
अहिले बैँकमा खाता खोलेर आम्दानीलाई बचत गर्न थालेको महिला फकलपुरमै पनि प्रसस्त छन् । श्रीमान् र छोराछोरीहरू काममा व्यस्त हुनेको घर चलाउने सम्पूर्ण जिम्मा महिलाले पाएका छन् ।
यस्तै, कैलालीको घोडाघोडी नगरपालिका–१२, त्रिवेणीकी सावित्री चौधरीले नगरपालिका दिएको दुना टपरी बनाउने तालिम लिएर यसलाई व्यावसायिक आकार दिनुभएको छ्, जसले उहाँको आत्मसम्मान र आत्मबल बढाएको छ । दुईचार रुपियाँका लागि श्रीमानको आस गर्नुपर्ने उहाँ सालका पातका दुना टपरी उत्पादन गर्ने लघु उद्यममार्फत आर्थिक रूपमा आत्मनिर्भर बन्दै जानुभएको छ ।
घरधन्दा सकेपछि जङ्गलबाट टिपेर ल्याएका सालका पातसँग उहाँको दैनिकी बित्छ । नगरपालिकाले सहयोग दिएको दुना टपरी बनाउने मेसिनबाट उहाँले दुना टपरी बनाउनुहुन्छ । नगरपालिकाले दिएको तालिममा सिकेको सीपले उहाँलाई अहिले घर बसी–बसी आम्दानी गर्न आत्मनिर्भर बनाएको छ ।
यो सीपसँगै नगरपालिकाले उपलब्ध गराएको मेसिनका कारण उहाँ मात्र होइन, अन्य सात महिला स्वरोजगार बनेका छन् । साबित्री भन्नुहुन्छ्, ‘आजभोलि त गोठाला गएकाहरुले जङ्गलबाट पात टिपेर ल्याउँछन् । १० रुपियाँ किलोको हिसाबले किन्ने गरेको छु । उहाँहरूलाई पनि सानोतिनो आम्दानी हुन्छ ।’
यस्तै, कक्षा १२ सम्म पढेकी घोडाघोडी–७ बस्ने २९ वर्षीया ज्ञानी चौधरीले बेरोजगार बस्नुभन्दा हातमा सीप भयो भने केही गर्न सकिन्छ भन्ने सोचका साथ सिलाइ–कटाई तालिम लिनुभयो । सामान्य लुगा फाटो सिलाउने कामबाट सुरू भएको उहाँले नगरपालिकाबाट ४५ दिने लेहेङ्गा चोली सिलाउने तालिम लिएपछि अहिले उहाँको आम्दानी बढेको छ ।

थारू परम्परागत पोशाक (लेहेङ्गा) बनाउन थालेपछि अहिले आम्दानी ह्वात्तै बढेको उहाँ बताउनुहुन्छ । ‘ब्लाउज, पेटीकोट सिलाउँदा एक–दुई सय मात्र आउँथ्यो । तर एउटै लेहेङगा सिलाउँदा पाँचदेखि १० हजारसम्म आउँछ । अचेल थारू लेहेङ्गा बनाएर बेच्न थालेको छु’ उहाँले भन्नुभयो ।
सीप र स्वरोजगारीले राम्रो आम्दानी गर्न थालेपछि अहिले घर–व्यवहार मात्र नभएर खेतीपातीमा लाग्ने खर्चसमेत सबै उहाँले धान्दै आउनुभएको छ । उत्साहित हुँदै सुनाउनुभयो, ‘आफूले कमाएर घरमा दिन पाउँदा गर्व लाग्छ । पहिले आफूलाई केही चाहियो भने श्रीमानसँग माग्नु पथ्र्यो, अहिले आफ्नै कमाइबाट निर्धक्क भएर खर्च गर्छु ।’
कञ्चनपुरको बेलौरी नगरपालिका–५ की २९ वर्षीया रिमा चौधरी दुई सन्तानकी आमा हुन् । उहाँका श्रीमान विद्यालय प्रशासनमा जागिरे छन् । १२ कक्षासम्म पढेकी रिमाले ४५ दिनको व्यवसाय सञ्चालन सम्बन्धी तालिम लिएपछि अहिले खाजा पसल सुरू गर्नुभएको छ । करिब एक लाख लगानी गरेर ठेलामा खाजा पसल सुरु गरेपछि उहाँले अचेल राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
व्यवसायबाट आम्दानी गर्न थालेपछि रिमाको परिवारमा खुसी बढेको छ, साँझ–बिहानको घरको काममा परिवारका सदस्यले सहयोग बढाएका छन् । ‘दैनिक चारदेखि ६ हजार रुपियाँसम्म व्यापार हुन्छ’ बेलौरीको पर्यटकीय क्षेत्र शोभा तालमा दिनभर ठेलामा खाजा बेचेर साँझ घर पुगेकी रिमाले सुनाउनुभयो, ‘खाली बस्दाकोजस्तो अरुको भनाइ सुन्नुपर्ने, पैसाका लागि अरुसँग हात फैलाउनुपर्ने बाध्यता हटेको छ ।’