• १३ पुस २०८१, शनिबार

आमिस भिलेजमा एक दिन

blog

वास्तवमा अमेरिका आएपछि थाहा भयो समरको महत्त्व । नेपालमा हुँदा हिउँद मन पराउने मान्छे म । हिउँदका दिनहरू एकदमै मन पथ्र्यो मलाई । तोरी फुलेको फाँटमा हिउँदका गोधुली साँझहरूसँग बिछट्टै लगाव छ मेरो । तर यहाँ आएपछि पो थाहा भयो किन मान्छेहरू ‘आई लभ समर’ भन्छन् भनेर । २०१३ को डिसेम्बरको यौटा घमाइलो दिनमा सियाटल आइपुगेथेँ । पहिलो पटक नेपालबाट अमेरिका आउँदा । त्यतिबेला सबैले भनेको सम्झन्छु ‘महिनामा १–२ पटक घामको मुख देख्न पाउने ठाउँमा आउँदा पनि आइपुगेकै दिन घाम देख्न पायौ । लक्की रहेछौ ।’ सियाटलमा त्यतिबेला ३, ४ महिनासम्म देखेको दिक्कलाग्दो हिउँदेझरी । न्युजर्सी, न्युयोर्क र बोस्टनतिरका चिसा र हिउँ पर्ने दिनहरूले विन्टरप्रतिको वितृष्णा सजिलै थाहा पाउन सकिन्थ्यो । समरका लामा लामा घमाइला, रमाइला दिनहरूप्रतिको प्यार बुझ्न कठिन भएन ।

यताको अर्को चलन लामो बिदा चाहिँ विशेष बनाउनै पर्ने । हुन त हाम्रोमा हुने दसैँ तिहारको जस्तो लामो छुट्टी कहिले पनि हुने हैन । लामो सप्ताहन्त नै हो यहाँको लामो बिदा भनेको । त्यही शनिबार र आइतबारे नियमित बिदाको अलावा अर्को एकदिन सँगै थपिनु नै लामो बिदा हो । वर्षमा ४, ५ पटक आउने यस्ता लङ विकेन्ड विशेष बनाउन सकिएन भने ठूलै कुरा गुमाएझैँ लाग्ने । 

नोभेम्बर ६, २०१९ बुधबार । एउटा कामको अनुगमन गर्न बङ्गाली सहकर्मी र मसँगै साइट जाँदै थियौँ । कुराको सिलसिलामा उही प्रसङ्गनिस्कियो– ‘यो विकेन्ड त लङ विकेन्ड हो क्यारे । ११ तारिक सोमबार भेट्रान्स डे । के छ योजना ?’

मैले आफ्नो खासै योजना नभएको सुनाएँ–  ‘टाढा जाने कुनै योजना छैन । आफू वरपर नजिकै भएका प्रायः ठाउँ घुमिसकियो । सायद घरमै साथीभाइ जमघट गरेर बार्बिक्यु गर्नुपर्ला ।’ साथमा उनको योजना सोधेँ ।

‘म त गएको विकेन्ड खुबै व्यस्त भएँ । ओक्लाहोमाबाट एउटा कन्फन्सनमा आएकी साथीलाई घरि न्युयोर्क घरि आमिस भिलेजतिर घुमाउन जाँदा थाकेको छु । अब घरमै बसेर थकाइ मार्छु । फुर्सदमा घर हेर्नुपर्ला किन्नका लागि ।’

ए तिमी आमिस भिलेज पनि गयौ ? कस्तो छ ?’

उसले आमिस भिलेज घुमेको कुरा सुनाउना साथ उत्सुकता बढ्यो मेरो । मध्य अगस्टको कुनै दिन हामी त्यहाँ घुम्न जाने कि भनेर योजना बनाएको थिएँ शौरभसँग । तर कुन्नि के कारणले गर्दा योजना पूरा हुन सकेन त्यतिबेला ।

सोनीलाई भने यो योजना बनेको र भत्केको दुवैकुरा थाहा थिएन ।

‘एकपटक घुम्न ठीकै छ । जाँदा हुन्छ । तर मेरो साथीले खासै मन पराइनँ । उसलाई त न्युयोर्कले नै लोभ्यायो ।’

हुन पनि कहाँ विश्वको व्यापारिक राजधानी वैभवशाली न्युयोर्कको चमकधमक । कहाँको त्यो अठारौँशताब्दीको जनजीवन । ती दुईबीच तुलना हुने कुरै थिएन । 

मलाई पनि त्यो जनजीवन साह्रै अनौठै होला भनेर जान मन लागेको हैन । तर पनि अमेरिका जस्तो विकसित ठाउँ । त्यसमाथि न्युयोर्क जस्तो विश्वको आकर्षण रहने स्थानबाट जम्मा १५० माइल पर हाम्रो पिछडिएको गाउँको झैँ जनजीवन जिउने मान्छे हेर्न मात्र मन लागेको ।

उनले ‘एकपटक घुम्न राम्रै छ’ भनेपछि यो पालि सप्ताहन्तमा घुम्न जाने गन्तव्य मिल्यो भन्ने सोचेँ । साइटको अनुगमनकै क्रममा एकपटक सोनीलाई फोन गरेँ । ‘लौ है हाम्रो लङ विकेन्ड योजना बन्यो । आमिस भिलेज जाने भइयो । के छ विचार ?’ 

‘के हो त्यो भनेको ?

‘आमिस भनेको अमेरिकाको राउटे क्या । आधुनिक वैज्ञानिक उपकरण प्रयोग नगर्ने । साधारण जीवनयापन जिउने मान्छेहरूको समुदाय ।

‘कति टाढा रै’छ जान ?’

‘हाम्रोबाट ८५ माइल । त्यही डेढ घन्टा जतिको ड्राइभ ।’

‘हुन्छ जाऊँ । म त जहाँ जान पनि तयार । सोनीको स्वीकृतिपछि फेरि त्यहाँको घुम्ने समय तालिका, टिकट आदि बारे साथीलाई सोधेँ ।

डेढ घन्टाको बस टुर र अरू आधा घन्टाको फार्महाउस घुम्ने प्याकेजको ३० डलर प्रतिव्यक्ति खर्च लाग्ने रहेछ । पहिले बुकिङ गरेर जाँदा सजिलो हुने । र फोनबाटै बुकिङ गर्न सकिने कुरा पनि उनले बताइन् ।

शनिबार १० नोभेम्बरको बिहान ११ः३० बजेको टिकट थियो । सो समयमा पुग्नेगरी ९ बजे निस्कियौँ । गुगल म्यापको साहारामा ड्राइभ गर्दै थिएँ । पुग्नुपर्ने ठाउँ ५ माइल जति बाँकी रहँदा वरपरका केही घरमा बाहिरपट्टि लस्करै लुगा कपडा लुकाएको दृश्य देखिन थाले । ‘ओहो यहाँबाटै पो सुरु भइसक्यो आमिसहरूको बस्ती?’ पल्याकपुलुक बाहिरतिर हेर्दै शौरभ बोल्यो ।

‘कसरी थाहा भयो भाइ ?’ सोनीको जिज्ञासु स्वर सुनियो ।

आमिसबारे राम्ररी भेउ पाएकी थिइनन् उनले । न त मैले नै राम्रोसँग बताएथेँ । एकदम सामान्यकुरा मात्रै भनेथेँ–‘सामान्य जीवनयापन गर्ने समुदाय । तडकभडक नरुचाउने। नेपालको राउटे सम्झ न त्यस्तै ।’

खासमा त मैले पनि गहिरोसँग कहाँ बुझेको थिएँ र ? मेरो बुझाइ पनि त्यति मात्रै थियो ।

‘ऊ के त भाउजू घरबाहिर लुगा सुकाएको ! आमिसहरू यसरी नै लुगा सुकाउँछन् । हामीले जस्तै । यिनीहरू बिजुली प्रयोग गर्दैनन् । बिजुलीको तार नहुनुले पनि यिनीहरूको घर भनेर चुनिन्छ । ऊ त्यो घरमा स्टार जस्तो साइन देख्नु भयो नि ? त्यो पनि यिनीहरूको घर हो भनेर चिन्ने अर्को आधार हो । सोनीको जिज्ञासामा शौरभको उत्तर थियो ।

उनीहरूको बस्तीतिर पुग्दा खेती किसानी गर्ने ठूलो फाँटहरू देखिए । सोनीलाई आफ्नो घरतिरको याद आएछ । भनिन्– ‘हाम्रो तराईतिरको जस्तै फाँट रहेछ यता त ।’

तिमी भर्खर नेपालबाट आएकाले यो ठाउँ घुम्दा खासै अनौठो नलाग्न पनि सक्छ । २, ४ वर्ष यहीँ बसेपछि भने अलि अनौठो हुन्थ्यो होला ।

हुनत म यहाँ आएको ६ वर्ष भएपनि यस्तो जीवनशैली देखेर छक्क चाहिँ पर्दिनँ । मैले आफैँ गाउँमा खेतीपाती गरेको छु । भैँसीको मल बोक्ने, भकारो सोहोर्ने आदि इत्यादि । आमाहरूले चाडपर्वको बेला लुगा बानमा पकाएर धोएको साक्षी बनेको छु । खरानी पानीमा लुगा पकाएर तादी खोलामा काठको मुङ्ग्रोले लुगा पिटीपिटी धुनुहुन्थ्यो । बगरैभरी सुकाउनुहुन्थ्यो । बरु तिमीहरूलाई दुवैलाई मेरो यो कुरा चाहिँ नौलो लाग्ला । यही हाम्रो छेउछाउ बस्ने कति साथीहरूले आफ्नो स्कुले पढाइ टुकी बत्तीमा सकेका हुन् । बिजुली बत्तीमा पढेकै एसएलसी पास भएपछि सहर पसेपछि रे । यति मात्र फरक हो कि हाम्रा भोगाइका कारण अभाव हो । अविकास हो । यिनीहरूको कारण चाहिँ संस्कार । चलन र धर्म ।

यहाँ अमेरिकामा बिजुलीबिना जीवन सम्भव छ भन्नेसम्म सोच्दैनन् । मास्टर्स पढ्ने बेला रिसर्च मेथोलोजीको कक्षामा पाएको ज्ञान । एकदिन क्रिटिकल राइटिङ सन्दर्भ चलिरहँदा खै कसरी हो यो विषयले प्रवेश पायो । मैले बिजुलीबिना जीवन किन सम्भव छैन ? मेरो देशका ४० प्रतिशत जनसङ्ख्याले बिजुली उपयोग गर्दैनन् । रपनि त जीवन चलिरहेकै छ । म आफू नै त्यसको भुक्तभोगी हुँ । १८ घण्टासम्म लोडेसेडिङ बेहोरेको मैले यस्तो अभिव्यक्ति दिएँ । कक्षाका सबैजना छक्क पर्दै मतिर हेर्दै थिए । सायद मलाई कुनै छुट्टै प्रजातिको मान्छे सोचे होला ।

करिब सवा एघार बजेतिर पुग्यौँ । पार्किङ लटमा गाडी पार्क गरेर काउन्टरमा गयौँ । त्यहाँ एकजना केटी मुस्कानसहित सेवामा हाजिर थिइन् ।

‘गुड मर्निङ । म यहाँहरूलाई कसरी सहयोग गर्न सक्छु ?’

‘हाम्रो रिजर्भेसन छ तीन जनाको ।’

‘कुन समयको लागि ? ११ः३० को हो?’

मुन्टो तलमाथि गरेँ, हो को सङ्केतमा ।

‘कृपया तपाईंको नाम भन्नुस् त ।’

‘कृष्ण ।’

आफ्नो कम्युटरमा रिजर्भेसन डिटेल कन्फर्म गरिन् । त्यहीँ नजिकै पार्क गरेको बसतिर देखाउँदै बोलिन्– ‘यही बस हो, अबको पालोमा । तपाईंहरू जानका लागि तयार हुनुहोस् । अबको केही क्षणमै बस जान्छ । पहिला डेढ घन्टाको बस टुरमा जानुहोस् । अनि यताको बाँकी घुम्नुहोला । इन्जोय योर ट्रिप ।’ हामीसँग बोल्दै गर्दा उनले भ्रमण प्याकेजको डिटेल लेखिएको ब्रोसर हाम्रो हातमा थमाइसकेकी थिइन् । 

हामी उनलाई धन्यवाद भनेर बसमा चढ्यौँ । हामीसँगै अरू ८, ९ जना पनि थपिए । एकजना महिला ड्राइभर आइन् । बस स्टार्ट गरेसँगै उनको परिचयात्मक कुराकानी सुरु भयो । उनको नाम भुलेँ मैले । उनी यतै नजिककै स्कुलको शिक्षिका थिइन् । फुर्सदमा आमिस टुरको बस चलाउँथिन् । सबैलाई बसमा स्वागत गर्दै यात्राबारे बोल्न थालिन्– यहाँहरू अब मसँग डेट घन्टा घुम्नुहुनेछ । करिब १२ एकर जग्गा र त्यस वरपर फैलिएको आमिसको जीवनपद्धतिबारे बताउँदै जानेछु । बीचमा २ ठाउँमा रोक्नेछु । त्यहाँ आमिसको उत्पादन बिक्री हुनेछ । त्यहाँ झरेर १५ मिनेटभित्रमा मन लागेको कुरा किनेर बस चढिसक्नुपर्छ । सबैजना यो यात्राका लागि उत्साहित हुनुहुन्छ नि हैन ?’

हामी सबैले होमा हो मिलायौँ ।

गाडी चल्न सुरु भो । गाडीसँग उनको धारावाहिक जानकारी पनि सुरु भयो । म १०–१५ माइल प्रतिघन्टाको दरमा चलाउँदै वरपरको सबैकुरा बताउँदै जानेछु । केही प्रश्न भए सोध्न सक्नुहुन्छ । यसो भन्दै गर्दा तुरुन्त उनै बोलिन्–‘ए हे मैले त मुख्य कुरा भन्नै छुटाएँछु । कृपया आमिसहरूको फोटो नखिच्नु होला है?’

छेउकै एउटी महिलाले सोधिन्– ‘किन आमिसहरू फोटो खिच्दैनन् ?’

‘अँ खिच्दैनन् । कोही कोही चाहिँ आफ्नो अनुहार नदेखिने गरी खिच्दा खासै माइन्ड गर्दैनन् ।’

हामीले सुनिरह्यौँ । पुनः हाम्रो गाइड नै बोल्न थालिन् । यहाँमध्ये कसैलाई आमिसको इतिहास थाहा छ?

हामी ३ लाई त थाहा थिएन नै । अरूलाई पनि थाहा रहेनछ । अब पालो उनैको आयो इतिहास बताउने । उनका अनुसार आमिसहरू परम्परागत क्रिस्चियन चर्चाका अनुयायी समुदायका व्यक्तिहरू हुन् । स्विस जर्मन एनावापिस्ट (बच्चा अवस्थामा कर्मकाण्ड चलाउने परम्परा नमान्ने । कसैले आफू चर्चको अनुसरण गर्ने र कर्मकाण्डमा सामेल हुने कुराको स्वघोषणा नगर्दासम्म कर्मकाण्ड नगर्ने समुदाय) ओरिजिन जो ‘एडल्टबाप्टिजम’, चर्च र राज्यको फरक अस्तित्वमा विश्वास गर्छ । (बाप्टिजम्– क्रिस्चियन धर्मअनुसार कर्मकाण्ड गर्ने कार्य) ।

आमिसहरूको सुरुवात सन् १६९३ मा जाकोभ अमानको नेतृत्वमास्विजरल्यान्डमा भएको स्विस र एल्साटिएन मेन्नोनाइट एनावापिस्टको विभाजनपछि भएको रहेछ ।

जो अमानलाई पच्छ्याए उनीहरू आमिसको रूपमा चिनिए । यो समुदाय विशेषगरी सरलता र परम्परागत जनजीवनका लागि परिचित छन् । हाल यिनीहरू ४ प्रकारका समुदायमा विभाजित रहेछन् । ‘ओल्ड अर्डर’, ‘न्यु अर्डर’, ‘बिची आमिस’ र आमिस मेन्नोटाइस’ । 

आमिसहरू १८औँ शताब्दीमा स्विजरल्यान्डबाट अमेरिका आएका रहेछन् । अमेरिकाका मुख्यगरी पेन्सलभेनिया, ओहायो, इन्डियाना करिब ३० राज्य र क्यानडामा बसोबास गर्छन् । यो समुदाय अमेरिकाको सबैभन्दा चाँडो जनसङ्ख्या वृद्धि हुने समुदाय पनि हो । सन् १९२० मा करिब ५००० जनसङ्ख्या आजसम्म आइपुग्दा करिब ३० लाख पुगिसक्यो । यसको कारण हो सन्तानलाई ईश्वरको वरदानको रूपमा लिनु । साथै खेतीकिसानीमा सहयोगीको रूपमा काम लगाउनु । यहाँनेर हाम्रो नेपाली उखान यहाँ मिलेझैँ लाग्यो– ‘जसको भैँसी उसको वन, जसका छोरा उसका धन ।’ हामी आपसमा यस्तै कुरा गर्दैछौँ । बस आफ्नै गतिमा छ ।

हामी आमिसको इतिहास सुन्दै बाहिर आमिसको खेतबारी हेर्दै हिँडिरहेका थियौँ । अगाडिबाट एउटा बग्गी आयो । हाम्रो ध्यान त्यसैमा गयो । जसै हाम्रो ध्यान त्यता गयो उनी त्यही विषयमा प्रवेश गरिन्– ‘यिनीहरूको मुख्य पेसा कृषि हो र मुख्य बाहन यही बग्गी ।’

‘मोटर कार प्रयोग गर्दैनन् ?’ कोही बोल्यो ।

‘आफैँले चलाउँदैनन् तर गैर आमिसको चढ्न सक्छन् । उनीहरूको बुझाइमा कार किन्नु÷ चलाउनु भनेको स्तर देखाउनुजस्तो अर्थ लाग्छ । जसले गर्दा समुदायमा घमण्ड र प्रतिस्पर्धा बढ्नेछ । त्यसैले आमिस संस्कारको विरुद्ध गएको ठानिन्छ ।’

ठूल्ठूला फाँटहरूमा काम गरिरहेका केही मानिस देखिए । आँखा बाहिर ध्यान चाहिँ गाइडतिर छ । केही बताइहाल्छिन् कि भनेर । उनले धेरै कुरा बताउँदै थिइन् । जस्तै आमिसहरू बिजुली प्रयोग गर्दैनन् । तर सोलार प्रयोग गर्छन् । टीभी, मोबाइल आदि इलेक्ट्रोनिक सामना प्रयोग गर्दैनन् । 

मुख्य नगदे बालीको सुर्ती खेती गर्छन् । सम्पर्कको लागि सार्वजनिक टेलिफोन बुथ स्थापना गर्छन् । बैङ्क, क्रेडिट कार्ड प्रयोग गर्दैनन् आदि । 

हाम्रो सिटभन्दा अघिल्लो सिटकी बूढी आमैले सोधिन्– ‘यिनीहरू अमेरिकाकै नागरिक हुन् त ?’

‘हुन् अमेरिकी नागरिक नै हुन् । राज्यको जग्गा जमिन र आयकर तिर्छन् तर सोसियल सेक्युरिटी र मेडिकियर तिर्दैनन् । बापतमा राज्यबाट पनि बेरोजगारी भत्ता, सोसियल सेक्युरिटी सुविधा आदि लिँदैनन् । आफ्नो सदस्यको हेरचाह गर्नु सम्बन्धित समुदायको जिम्मेवारी सम्झन्छन् । अर्को कुरा यिनीहरू केन्द्रीय चुनावमा भाग लिँदैनन् । पुलिस,  सेनामा जानबाट टाढै रहन्छन् । 

‘सबैतिरबाट छुट्टिएर बस्ने भएपछि यिनीहरू उपचार गर्न कसरी गर्छन् त ?’ स्वास्थ्य क्षेत्रसँग सम्बन्धित भएर होला सोनीले उपचारको कुरा सोधिन् ।

‘आधुनिक मेडिकल उपचार गर्न धर्मको बन्देज त छैन । तर प्रायः स्थानीय डक्टरकोमा नै जाने गर्छन् ।’ सोनीले उनको जिज्ञासाको जबाफ पाइन् ।

करिब ४५, ५० मिनेट जति पछि बस एउटा स्टोरमा रोकियो । जुन आमिस समुदायको सपिङ सेन्टर रहेछ । पूर्वजानकारीअनुसार हामीलाई १५ मिनेटभित्र बसमा आउन भनियो । हामी त्यहाँ रहेका सामान हेर्न थाल्यौँ । उनीहरूले तयार गरेको मह, ब्रोकाउली किन्यौँ र केही फोटो खिचेर बसमा आयौँ । बसमा बसिसकेपछि शौरभले गाइडलाई सोध्यो–‘कोही बच्चाले म आमिस बन्दिनँ भन्न पाउँछ कि पाउँदैन ?’

‘पाउँछ । १६ वर्षको उमेर भएपछि यिनीहरूको सामाजिक जीवन सुरु हुन्छ । जसलाई ‘रुमस्प्रिङ्गा’ भन्छन् । यसको अर्थ हो वरपर चाहार्नु । जीवनको यो क्षण तिनीहरूको बिहेपछि अन्त्य हुन्छ । यही समयमा उनीहरूले निर्णय गर्नुपर्छ ‘बापिटाइज’ हुने चर्चमा सामेल हुने कि आमिस समुदाय बन्ने भनेर । यो निर्णय चाहिँ १८ देखि २१ वर्षको बीचमा गरिसक्नुपर्छ ।’

‘आमिस समुदायभन्दा बाहिर बिहे गर्न मिल्छ ?’ शौरभले थप प्रश्न ग¥यो ।

‘आमिस र गैरआमिस बिहे गर्न मिल्दैन । यदि बाहिरको बिहे गर्ने भए १८–२१ वर्षको अवधिमा आमिस समुदाय छोड्नुपर्छ । बापिटाइज्ड नभई विवाह गर्न पनि अनुमति हुँदैन आमिस समुदायमा । प्रायः आमिसहरूको विवाह ‘फल सिजन’पछि खेतीपाती भिœयाएर हुन्छ, त्यो पनि मङ्गलबार र बिहीबार । त्यस्तो बेला न त फूलको प्रयोग गर्छन् न फोटोग्राफी । फेरि दुलहीले विवाहमा लगाउने कपडा आफैँले तयार गर्नुपर्छ र कपडा नीलो रङको हुन्छ ।

ओहो कति धेरै बन्धन । हामी मिनेट मिनेटमा फोटो खिचेर फेसबुक रङ्ग्याउने बानी परेकालाई विवाहमा पनि फोटो खिचिँदैन भन्दा अनौठो लाग्यो ।

केही बेरको बस यात्रापछि हामी अर्को ठाउँमा रोकियौँ । त्यहाँको ‘प्रिज्जल’ एकदम छुट्टै स्वादको र प्रख्यात छ भन्ने जानाकारी गाडीमा नै पाइसकेको थियौँ । यस दोकानमा आमिसहरूले बनाएका ह्यान्डिक्राफ्ट हे¥यौँ । आमिसहरू खेतीपातीसँगै ह्यान्डिक्राफ्टका लागि पनि प्रख्यात रहेछन् । प्रिज्जल खाँदै फेरि बाँकी यात्रा ग¥यौँ । बाटोमा केही केटा मान्छे देखिए । जुँगा काटेर दाह्री पालेका थिए । उनीहरूलाई देखाउँदै गाइड बोलिन्, ‘यी विवाहित केटा हुन् ।’

मैले सोधेँ– कसरी थाहा पायौ ।

उत्तर आयो– बिहे गरेको पुरुषले जुँगा काटेर दाह्री पाल्छन् । उनीहरू औँठी साटासाट गर्दैनन् । विवाह गरेको सङ्केत यही लामो दाह्री नै हो । बिहेअघि दाह्री काट्न रोकतोक छैन तर बिहेपछि काट्नुलाई ठूलै अपराध मानिन्छ ।’

‘अचम्म’ कोही बोल्यो ।

‘हो अचम्मै छ यिनीहरूको चलन ।’

यस्तै कुराकानी गर्दै हाम्रो डेढ घन्टे बस यात्रा सकियो । गाइडले टिकट काउन्टर अगाडि हामीलाई छोड्दै बाँकी भ्रमणको सुखद कामना गरिन् । हामी पनि उनलाई यात्राभरको सहयोगी साथका लागि धन्यवाद दिएर छुट्यौँ । बस यात्रा पछि बाँकी थियो– फार्महाउस भ्रमण । ३० मिनेटको यो भ्रमणमा आमिसको घर घुमियो । बेडरुम केटा मान्छे र केटी मान्छेको फरक फरक हुने रहेछ । हामी नेपालमा बच्चामा सबैजना सँगै सुत्दथ्यौँ । यिनीहरूको पनि चलन यस्तै रहेछ । एउटै खाटमा एकजना मात्र नसुत्ने रहेछन् । बेडरुममै कपडाहरू झुन्ड्याइराखेको । ओहो यी सबै देख्दा मलाई आफ्नै गाउँका घरहरूको याद आयो । उनीहरूको कपडा अति सामान्य, टाँक वा जिपर प्रयोग नगरेका घरमै बनेका सादा फेब्रिक कपडाको मुख्यतः गाढा रङको हुने । यसको अर्थ कपडाको शैलीले पनि मानवीयताप्रति प्रोत्साहित र बाहिरी दुनियाँबाट फरक देखिनु रहेछ । अर्को अचम्म त त्यतिबेला लाग्यो जब महिलाहरूले विवाहपछि ऐना हेर्न नमिल्ने भने थाहा भयो । त्यसैले घरका भित्तामा कतै पनि ऐना देखिएन ।

यही क्रममा जीवनशैली बारे थप जान्ने अवसर पाइयो । 

समर याममा राति ९ देखि ९ः३० बजेसम्ममा सुतिसक्ने र विन्टरमा ८ः३० देखि ९ बजेसम्म सुत्ने चलन रहेछ । बिहान भने ४ः४५ मा उठिसक्ने र साढे ५ देखि काम गर्न थाल्ने । लिङ्गका आधारमा कामको बाँडफाँट । पुरुषहरूको जिम्मा खेतीपातीमा र महिलाहरू घरको काम, पकाउने, लुगा धुने र अन्य सरसफाइ ।गाइडसहितको फार्म हाउस घुमिसकेर हामी नजिकै रहेको विद्यालयमा गयौँ । यिनीहरूको समुदायको छुट्टै विद्यालय हुनेरहेछ । आठ कक्षासम्म पढाइ हुने विद्यालयमा एउटा मात्र कक्षाकोठा थियो । विद्यालयमा पढाउने शिक्षक अविवाहित हुनुपर्ने नियम रहेछ । पढाइमा मूलतः गणित, भूगोल, भोकेसनल  ट्रेनिङ, आमिस इतिहास र मूल्य मान्यता पढाउने रहेछन् । आफ्नो घर समुदायमा जर्मन भाषा प्रयोग गरे पनि विद्यालयमा भने अङ्ग्रेजी भाषा प्रयोग गर्दारहेछन् । 

विद्यालय घुमेर सकिएपछि हामी वरपर घुम्यौँ । उनीहरूले प्रयोग गर्ने औजारहरूका छेउमा केही फोटो खिचिसकेर घोडाको तबेला घुम्न गयौँ । घोडाको तबेला नजिकै हाँस, कुखुरा पनि पालेका थिए । यति घुमिसक्दा घामले डाँडो काट्न लागिसकेको थियो । यसरी हिउँदको एउटा छोटो दिनमा बिल्कुलै नौलो संस्कार भएको समुदायबारे धेरै कुरा जान्न पाएर म खुसी थिएँ । घर फर्किन गाडी स्टार्ट गर्दै सोनीलाई सोधेँ– कस्तो लाग्यो आजको घुमाइ ? उत्तर आयो– ‘रमाइलो नै भयो नि यस्ता अनौठा अनौठा कुरा थाहा पाउँदा ।’

उनले पनि रमाइलो लाग्यो भनेपछि मैले थपेँ– ‘ह्याप्पी वाइफ ह्याप्पी लाइफ, कसो ?’

हामी दुवै हास्यौँ । पछिल्लो सिटबाट शौरभ पनि हाँसेको आवाज सुनियो । 

न्यूजर्सी, अमेरिका