• १२ माघ २०८२, सोमबार

‘चिल्ड्रेन लाइफ कप’का लागि आज अमर र आदर्श भिड्दै

blog

चिल्ड्रेन लाइफ कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको आदर्श विद्यामन्दिरको टोली । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, माघ १२ गते ।
चौथो संस्करणको ‘चिल्ड्रेन लाइफ कप’ फुटबल प्रतियोगिताको उपाधिका लागि अमर आदर्श आवासिय मावि र आदर्श विद्यामन्दिर भिड्ने भएका छन् । सदरमुकाम बागलुङ बजारस्थित बाङेचौर खेल मैदानमा आइतबार सम्पन्न सेमीफाइनल खेल जित्दै अमर र आदर्शले फाइनलको यात्रा पक्का गरेका हुन् ।

आइतबार भएको पहिलो सेमीफाइनल खेलमा न्यु ओयसिस एकेडेमीलाई ०–२ गोलले पराजित गर्दै अमर आदर्शले फाइनलमा प्रवेश गरेको हो । ओयसिसमाथि हाबी बनेको अमर आदर्शको जितका लागि करन नेपालीले पहिलो हाफको ३२ औं मिनेट र प्रदिप परियारले खेलको ६८ औं मिनेटमा गोल गर्नुभएको थियो ।

दोस्रो सेमीफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी आयोजक चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुल ‘निलो’लाई ट्राइबेकरमा पराजित गर्दै आदर्श विद्यामन्दिरले फाइनलको यात्रा तय गरेको छ । खेलको निर्धारित समय बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

ट्राइबेकरमा चिल्ड्रेनका कप्तान वरदान थापा र सुलभ रोका गोल गर्न असफल हुनुभयो । थापा र रोकाको प्रहार आदर्श विद्यामन्दिरका गोलरक्षकले निष्तेज पार्नुभएको थियो ।  आदर्शको जितका लागि कप्तान सुझाव बानियाँ, एन्जल घर्ति, अमन थापा र साजन विकले गोल गर्दा चिल्ड्रेनका लागि रिडिस क्षेत्री, सुलभ रोका र सक्षम श्रेष्ठले गोल गर्नुभयो ।

फाइनल खेल सोमबार दिउँसो १ बजे हुने आयोजक चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबले जनाएको छ । प्रतियोगिताको विजेताले ५५ हजार पाँच सय ५५ रुपियाँ र उपविजेताले ३३ हजार तीन सय ३३ रुपियाँ नगद पुरस्कार, ट्रफी र मेडल पाउने प्राप्त गर्ने प्रतियोगिताका संयोजक जीवन रोका क्षेत्रीले जानकारी दिनुभयो ।

रोकाका अनुसार, खेलमा सेमीफाइनल यात्रा गर्ने विद्यालयले १० हजारका दरले यातायात खर्च पाएका छन् । खेलका विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई सम्मान गरिने छ ।

विगत चार वर्षदेखि क्लबले विद्यालय स्तरीय छात्र फुटबल प्रतियोगिता गर्दै आएको छ । झण्डै पाँच लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताका लागि चिल्ड्रेन लाइफ बोर्डिङमा पढेका तथा विभिन्न रुपमा जोडिएका व्यक्तिले क्लबका गतिविधिमा साथ दिंदै आएको क्लबका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिनुभयो ।