धर्बेन्द्र झा
जनकपुरधाम, माघ ११ गते । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत मधेश प्रदेशमा चार सिटका लागि आज भइरहेको मतदान जारी छ । मधेश प्रदेशको राजधानी जनकपुधामको श्री महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा निर्माण गरिएको दुई वटा मतदान केन्द्रमा मतदान जारी छ ।
समाचार तयार पार्दासम्ममा ५० प्रतिशत मतदान भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मधेश प्रदेश सभाका १०० प्रदेश सभा सदस्य र विभिन्न पालिकाका प्रमुख र उपप्रमुख गरी २६४ जना गरी जम्मा ३६४ जना मतदाता रहेको यस निर्वाचनमा आज बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने समयसीमा निर्धारण गरिएको छ।
मतदान सम्पन्न हुनेबित्तिकै सर्वदलीय बैठक बसेर मतगणनाबारेमा निर्णय लिने निर्वाचन अधिकृत सुभाषबाबु पुरीले जानकारी दिनुभयो । मधेश प्रदेशमा चार सिटका लागि ११ जना चुनावी मैदानमा रहनुभएको मधेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णचन्द्र राउतले जानकारी दिनुभयो ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार खुल्ला तर्फ लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मण पौडेल, महिला तर्फ नेकपा एमालेका रेखा झा, नेपाली कम्युनिष्ट पार्टीका सुमिकुमारी अग्रवाल र जसपा नेपालका चन्द्रकला देवी साह, दलिततर्फ नेपाली काँग्रेसका धर्मेन्द्र पासवान, नेपाली कम्युनिष्ट पार्टीका शम्भु पासवान हजारी र जसपा नेपालका चमेलीदेवी दास, अपाङ्ग भएका व्यक्ति ÷अल्पसङ्ख्यक समूहतर्फ नेपाली काँग्रेसका रंजित कर्ण ,नेपाल कम्युनिष्ट पार्टीका रमानन्दन प्रसाद र जसपा नेपालका शैलेशकुमार चौधरी गरी जम्मा ११ जना चुनावी मैदानमा रहनुभएको छ । मधेश प्रदेशमा निर्वाचनबाट महिला एक जना,दलित एक जना, अपाङ्ग भएका व्यक्ति-अल्पसङ्ख्यक समूहबाट एक जना र अन्य समूहबाट एक जना गरी चार जना निर्वाचित हुनेछन् ।