सन्तोष दहित
दाङ, माघ ११ गते । लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनमा बिहान ११ः४५ बजेसम्म २०४ मत खसेको छ। दाङको घोराही –१५ स्थित कर्मचारी मिलन केन्द्रमा बिहानैदेखि मतदान जारी छ।
मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार प्रदेशसभा सदस्यतर्फ महिला २५ र पुरुष ३५ गरी जम्मा ६० मत खसेको छ । त्यस्तै, स्थानीय तहका प्रमुख तथा उपप्रमुखतर्फ महिला ५४ र पुरुष ९० गरी जम्मा १४४ मत खसेको छ ।
लुम्बिनी प्रदेशमा तीन सिटका लागि आठ उम्मेदवारबिच प्रतिस्पर्धा भइरहेको छ। मतदान केन्द्र (क) मा प्रदेशसभा सदस्य र मतदान केन्द्र (ख) मा स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गरिरहेका छन् ।
निर्वाचनका लागि दुई मतदान केन्द्रमा गरी २० जना कर्मचारी खटाइएका छन्। लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८३ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३ सय मतदाता रहेका छन् ।