• ११ माघ २०८२, आइतबार

टाइगर कप भलिबलमा न्यु डायमन्ड विजयी

blog

पोखरामा जारी टाइगर कप भलिबलमा न्यु डायमन्ड र एपिएफ क्लब प्रतिस्पर्धा गर्दै । तस्बिर : माधवप्रसाद बराल

माधवप्रसाद बराल
माछापुच्छ्रे(कास्की), माघ ११ गते ।
पोखरामा जारी टाइगर कप भलिबलमा न्यु डायमन्ड स्पोर्टस् क्लबले जित निकालेको छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आइतबार पहिलो खेलमा महिलातर्फ न्यु डायमन्डले विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) माथि ३–० को सोझो सेटको जित निकालेको हो । न्यु डायमन्डले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२३ ले जित्यो । खेलमा प्लेयर अफ द म्याच न्यु डायमन्डकी सुमित्रा रेग्मी हुनुभयो ।

न्यु डायमण्डको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो । एपिएफले भने पहिलो हार बेहोरेको छ । यसअघि एपिएफले थाइल्यान्ड क्विन्सलाई पाँचौं सेटमा पराजित गरेको थियो ।

आइतबार दोस्रो खेल महिलातर्फ नेपाल पुलिस क्लब र थाइल्यान्ड क्विन्सबिच हुनेछ । त्यसपछि पुरुषतर्फका खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेलमा एपिएफ र पर्वत भलिबल सङ्घ भिड्नेछन् । दोस्रो खेलमा पुलिस र आर्मी खेल्ने तालिका छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।