शेरबहादुर सार्की
बाजुरा, माघ ११ गते । बाजुराको बुढीनन्दा नगरपालिका–९ डप्कमा रहेको श्री सिद्धेश्वरी अनाथ, विपन्न तथा जनजाति आवासीय आधारभूत विद्यालयमा अध्ययनरत अनाथ बालबालिकाहरूलाई चिसोभन्दा पनि पढाइप्रतिको चाहना बढी देखिएको छ ।
अभिभावकविहीन बालबालिकालाई संरक्षण र शिक्षालाई प्राथमिकता दिँदै आएको यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरू चिसोका बाबजुद पनि पढाइ नछुटाउने प्रयासमा जुटेका छन् । हिमाली भेगको उचाइमा अवस्थित विद्यालयमा हिउँद याम अत्यन्त चिसो हुने गर्छ । आकाशमा सामान्य बादल लाग्दा पनि चिसो बढ्ने र पानी परेपछि हिमपात सुरु हुने गरेको विद्यालयका शिक्षकले जनाएका छन् ।
यस विद्यालयमा प्रायः अनाथ, भोटे जनजाति तथा गरिब–विपन्न परिवारका बालबालिकाहरू अध्ययन गर्छन् । हिउँदमा नियमित रूपमा हुने हिमपातका कारण पठनपाठनमा कठिनाइ भए पनि विद्यार्थीहरूको उत्साह कम भएको छैन ।
विद्यालयका कक्षा छात्र कार्मा बोहराका अनुसार अन्य विद्यालयको तुलनामा यहाँ पढाइलाई बढी प्राथमिकता दिइन्छ । “शिक्षकहरूले हाम्रो पढाइलाई निरन्तरता दिन शनिबार पनि कक्षा लिनुहुन्छ,” उहाँले भन्नुभयो ।
बोहराले थप्नुभयो, “म विद्यालयमै बस्छु । यहाँ खाने–बस्ने सबै व्यवस्था छ । अहिले बाक्लो हिमपातका कारण विद्यालय वरिपरि हिउँ जमेको छ । हिउँ लामो समय नपग्लिने हुँदा चिसोमा पढ्न गाह्रो हुन्छ । तर चिसोभन्दा पनि हामीलाई पढाइको माया बढी छ । आगो बालेर भए पनि कक्षाकोठामै बसेर पढ्छौँ । बाक्लो लुगा भएको भए अझ सहज हुन्थ्यो ।”
विद्यालयका अधिकांश विद्यार्थी अनाथ, दलित तथा जनजाति समुदायका हुन् । जिल्लाभर यस्तै प्रकृतिको आवासीय विद्यालय यही मात्र भएकाले विभिन्न ठाउँबाट अनाथ बालबालिका यहाँ आउने गरेका छन् । तर विद्यालयको आर्थिक अवस्था कमजोर भएकाले चिसो मौसममा न्यानो लुगा अभावले समस्या भइरहेको विद्यालयका प्रधानाध्यापक तुलाबहादुर रावतले बताउनुभयो ।
“हिउँदमा घाम लागेको दिनमा पनि यहाँ निकै चिसो हुन्छ । अहिले परेको हिमपातले विद्यालय पूरै ढाकिएको छ । यस्तो अवस्थामा बालबालिकालाई चिसोबाट जोगाउन चुनौती भएको छ,” रावतले भन्नुभयो ।
हाल विद्यालयमा १० जना टुहुरा, एक जना अनाथ, १५ जना जनजाति, द्वन्द्वपीडित र दलित तथा ४० जना भोट समुदायका गरी जम्मा ६६ जना बालबालिका अध्ययनरत छन् । उनीहरूका लागि न्यानो लुगाकपडाको अत्यन्त आवश्यकता रहेको प्रधानाध्यापक रावतले उल्लेख गर्नुभयो । “यदि कतैबाट न्यानो लुगा सहयोग प्राप्त भए बालबालिकालाई ठूलो राहत हुने थियो,” उहाँले भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह गुरुङका अनुसार जिल्लामै सम्भवतः यही एक मात्र आवासीय विद्यालय हो । “हामीले आफ्नै पहलमा विद्यालय सञ्चालन गरेका हौँ। विभिन्न ठाउँबाट अनाथ तथा टुहुरा बालबालिका यहाँ आउँछन् । तर आर्थिक अवस्था कमजोर हुँदा उनीहरूलाई राखेर पढाउन कठिनाइ भइरहेको छ,” उहाँले बताउनुभयो ।