धनुषा समाचारदाता
जनकपुरधाम, माघ ११ गते । मधेश प्रदेशमा माघ ११ गते आइतबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन मधेश प्रदेशका निर्वाचन अधिकृत सुभाषबाबु पुरीले दिनुभएको जानकारी अनुसार मतदानका लागि धनुषाको जनकपुधाम उपमहानगरपालिका–४ स्थित रहेको श्री महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा दुई वटा मतदान केन्द्र निर्माण गर्नुका साथै मतदान अधिकृत नियुक्त गर्ने कामदेखि लिएर मतपत्र हस्तान्तरण गर्नेसम्मको सम्पूर्ण काम पूरा भएको छ । उहाँले मधेश प्रदेश सभाका एक सय प्रदेश सभा सदस्य र विभिन्न पालिकाका प्रमुख र उपप्रमुख गरी २६४ गरी जम्मा ३६४ मतदाता रहेको यस निर्वाचनमा माघ ११ गते आइतबार बिहान ९ देखि ३ बजेसम्म मतदान हुने समयसीमा निर्धारण गरिएको बताउनुभयो ।
उहाँले मतदान सम्पन्न हुनेबित्तिकै सर्वदलीय बैठक बसेर मतगणनाबारे निर्णय लिने जानकारी दिनुभयो । मधेश प्रदेशमा चार सिटका लागि ११ जना चुनावी मैदानमा रहेको मधेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णचन्द्र राउतले जानकारी दिनुभयो । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार खुलातर्फ लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र नेपाली कम्युनिस्ट पार्टीका लक्ष्मण पौडेल, महिलातर्फ नेकपा (एमाले) का रेखा झा, नेपाली कम्युनिस्ट पार्टीका सुमीकुमारी अग्रवाल र जसपा नेपालका चन्द्रकलादेवी साह, दलिततर्फ नेपाली कांग्रेसका धर्मेन्द्र पासवान उम्मेदवार हुनुहुन्छ ।
नेपाली कम्युनिस्ट पार्टीका शम्भु पासवान हजारी र जसपा नेपालका चमेलीदेवी दास, अपाङ्गता भएका व्यक्ति÷अल्पसङ्ख्यक समूहतर्फ नेपाली कांगे्रसका रञ्जित कर्ण, नेपाल कम्युनिस्ट पार्टीका रमानन्दन प्रसाद र जसपा नेपालका शैलेशकुमार चौधरी गरी जम्मा ११ जना चुनावी मैदानमा रहनुभएको छ । मधेश प्रदेशमा निर्वाचनबाट महिला एक जना, दलित एक जना, अपाङ्गता भएका व्यक्ति÷अल्पसङ्ख्यक समूहबाट एक जना र अन्य समूहबाट एक जना गरी चार जना निर्वाचित हुने छन् ।