ललित बसेल
सुर्खेत, माघ ११ गते । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा मतदान सुरु भएको छ । आइतबार बिहान ९ बजेदेखि सुरु भएको मतदानमा पहिलो मतदान कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गर्नुभएको छ । मतदान केन्द्र प्रदेश निर्वाचन कार्यालय सुर्खेतलाई बनाइएको छ ।
कर्णाली प्रदेशसभाका ४० जना प्रदेशसभा सदस्य र ७९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष १५८ गरी कूल १९८ जना मतदाताले मतदान गर्ने निर्वाचन अधिकृत दिपक ढकालले बताउनुभयो । उहाँका अनुसार मतदान दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचनमा प्रदेशसभा सदस्यहरुको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षको मतभार १९ रहेको उहाँले जनाउनुभयो ।
एक महिला र एक अन्य गरी दुई पदका लागि कर्णालीमा चार जना उम्मेदवार रहेका छन् । कांग्रेस एमाले गठवन्धनबाट महिलामा एमालेका मिनासिंह रखाल (दैलेख) र कांग्रेसका अन्यमा ललितजंग शाही (जुम्ला) उम्मेदवार हुनुहुन्छ भने नेपाली कम्युनिष्ट पार्टीबाट रुकुम पश्चिमका बुद्धिप्रसाद शर्मा र डोल्पाका अन्जु महतारा उम्मेदवार हुनुहुन्छ । दिउँसो ३ बजे मतदान सकिएलगत्तै मतगणना भइ घोषणासमेत गर्ने कार्यक्रम रहेको छ ।