• ११ माघ २०८२, आइतबार

ओखलढुङ्गामा कडा चुनावी प्रतिस्पर्धा

blog

शेरबहादुर राई  

ओखलढुङ्गा, माघ ११ गते । ओखलढुङ्गामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दलबिच कडा प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार चुनावी मैदानमा उत्रिएसँगै जिल्लाको राजनीतिक माहोल तातिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गाका अनुसार जिल्लामा १६ जनाले उम्मेदवारी दर्ता गराएकोमा तोकिएको अवधिभित्र स्वतन्त्र उम्मेदवार सन्तबहादुर तामाङले उम्मेदवारी फिर्ता लिएपछि हाल १५ जना उम्मेदवार कायम भएका छन् । 

उम्मेदवारी दर्तापछि दाबीविरोधको अवधिमा कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले जानकारी दिनुभयो । यद्यपि १५ जना उम्मेदवार चुनावी मैदानमा रहे पनि मुख्यतः कांग्रेस, एमाले, नेकपा र रास्वपाबिच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यस पटक ओखलढुङ्गाबाट प्रतिनिधि सभाका लागि सबै नयाँ उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसबाट कुमार लुइटेल, नेकपा (एमाले) बाट अस्मिता थापा, नेकपाबाट अम्बिरबाबु गुरुङ र रास्वपाबाट विश्वराज पोखरेल उम्मेदवार हुनुहुन्छ । 

श्रम संस्कृति पार्टीबाट डा. उद्धवकुमार राई, उज्यालो नेपाल पार्टीबाट जेनजी अगुवा किशोरी कार्की, राप्रपा नेपालबाट डिकप्रसाद बास्तोला, जनता समाजवादी पार्टीबाट नेत्रबहादुर नेम्वाङ, मङ्गोल नेसन अर्गनाइजेसनबाट बजेन्द्र वाम्बुले राई, नेपाल मजदुर किसान पार्टीबाट सविना प्रजापति उम्मेवदवार हुनुहुन्छ । 

राष्ट्रिय जनमोर्चा नेपालबाट शेरबहादुर खत्री, समावेशी समाजवादी पार्टीबाट तेस्रो लिङ्गी पिङ्की राई, मितेरी पार्टी नेपालबाट कुमारबहादुर तामाङ तथा स्वतन्त्र उम्मेदवार नारनकाजी तामाङ र विक्रम दाहाल रहनुभएको छ । यसअघिसम्म जिल्लामा कांग्रेस र एमालेबिच मुख्य प्रतिस्पर्धा हुँदै आएको भए पनि यस पटक नेकपा र रास्वपाले पनि बलियो दाबी प्रस्तुत गरेका छन् । 

नेकपाका उम्मेदवार अम्बिरबाबु गुरुङ एमाले परित्याग गरी उम्मेदवार बन्नुभएको हो । कोशी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहनुभएका गुरुङको समर्थनमा एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, सहसचिव राजीव कटुवाललगायत ३८ जनाले एमाले परित्याग गरेका छन् । नेकपाबाट गुरुङको उम्मेदवारीले अझ कडा प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेसका उम्मेदवार कुमार लुइटेल पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्नुभएको हो । उहाँ कांग्रेस कोशी प्रदेश समितिका सदस्य हुनुहुन्छ । 

एमालेकी उम्मेदवार अस्मिता थापा लिखु गाउँपालिकाकी उपाध्यक्ष हुनुहुन्छ भने रास्वपाका उम्मेदवार विश्वराज पोखरेल नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआइजी) हुनुहुन्छ । प्रभावशाली उम्मेदवारबिच हुने प्रतिस्पर्धाका कारण यस पटकको प्रतिनिधि सभा निर्वाचन ओखलढुङ्गामा रोचक र निर्णायक बन्ने देखिएको छ । यसअघिको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका रामहरि खतिवडाले ३३ हजार ५५६ मत ल्याएर विजयी हुनुभएको थियो भने नेकपा (एमाले) का यज्ञराज सुनुवारले २६ हजार ७३८ मत प्राप्त गर्नुभएको थियो ।