शशिधर पराजुली
विराटनगर, माघ ११ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ मा चुनावी सरगर्मी बढ्न थालेको छ । मनोनयन दर्तासँगै मुख्य राजनीतिक दलका उम्मेदवार आन्तरिक रणनीति र घरदैलोको प्रारम्भिक तयारीमा जुटेका छन् । यस पटकको निर्वाचनमा पुरानो विरासत जोगाउने दाउमा रहेका नेपाली कांग्रेसका डा. शेखर कोइराला र नेकपा (एमाले) का विनोद ढकालबिचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।
रोचक भिडन्त
यस क्षेत्रमा निर्वाचनको सबैभन्दा रोचक पक्ष डा. शेखर कोइराला र विनोद ढकालबिचको पुनः प्रतिस्पर्धा हो । यसअघि २०६४ सालको संविधान सभा निर्वाचनमा यी दुई नेताबिच यही क्षेत्रमा प्रतिस्पर्धा भएको थियो भने त्यतिबेला कोइराला निर्वाचित हुनुभएको थियो । ठिक १७ वर्षपछि एमालेले पुनः ढकाललाई कोइरालाविरुद्ध मैदानमा उतारेको छ । २०६४ यता भएका पाँचवटा निर्वाचनमा लगातार उम्मेदवार बन्नुभएका कोइरालाले तीन पटक जित हासिल गरिसक्नुभएको छ । गत २०७९ सालको निर्वाचनमा उहाँले एमालेका लालबाबु पण्डितलाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गर्नुभएको थियो ।
आन्तरिक तयारीमा डा. शेखर
मनोनयनपछि डा. शेखर कोइरालाको समूहले पहिलो चरणको आन्तरिक तयारी सम्पन्न गरेको छ । कोइरालाले विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका र सुन्दरहरैँचा नगरपालिकाका वडा तथा क्षेत्र स्तरका नेतासँग छलफललाई तीव्र बनाइरहनुभएको छ । उहाँको सचिवालयका अनुसार हालसम्म तीन वटै युनिटका पदाधिकारीसँग छुट्टाछुट्टै बैठक, बौद्धिक समुदाय (प्राध्यापक, चिकित्सक, कानुन व्यवसायी) सँग अन्तर्क्रिया र कुनै पनि दलमा आबद्ध नभएका लोकतन्त्रवादी युवा विद्यार्थीसँग छलफल गरिसकिएको छ । पछिल्लो समय बढ्दो ‘स्वतन्त्र’ लहरलाई चिर्न कोइरालाले युवा र बौद्धिक वर्गलाई केन्द्रित गरेर रणनीति बनाउनुभएको देखिन्छ ।
एमाले र अन्य दलको रणनीति
नेकपा (एमाले) ले यस पटक पूर्वमन्त्री लालबाबु पण्डितलाई निर्वाचन कमान्डर तोकेर विनोद ढकाललाई जिताउने अभियान सुरु गरेको छ । एमालेले टोलस्तरसम्मै परिचालन कमिटी गठन गरिरहेको छ । यस्तै नेपाली कम्युनिस्ट पार्टीका ओपेन्द्रकुमार रायले एक हजार एक सदस्यीय ठुलो परिचालन कमिटी बनाएर मजदुर र किसानको मत तान्ने प्रयास गरिरहनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य पनि युवा मतदातामाझ एजेन्डासहित पुग्ने तयारीमा हुनुहुन्छ ।