सन्तोष दहित
दाङ, माघ ११ गते । राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा मतदान प्रक्रिया सुरू भएको छ । प्रदेशमा तीन सिटका लागि आठ उम्मेदवारबिच प्रतिस्पर्धा हुँदैछ ।
दाङको घोराही–१५ स्थित कर्मचारी मिलन केन्द्रमा मतदान र मतगणनाका लागि आवश्यक सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार मतदान केन्द्र (क) मा प्रदेश सभा सदस्यहरूले र मतदान केन्द्र (ख) मा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
निर्वाचनका लागि दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । आज हुने निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले तालमेल गरेर उम्मेदवार उठाएका छन् भने नेकपा (माओवादी केन्द्र) बाट तीन जना र राष्ट्रिय जनमोर्चाबाट दुई जना उम्मेदवार रहेका छन् ।
कांग्रेस–एमाले गठबन्धनको तर्फबाट अन्य कोटामा गुल्मी निवासी चन्द्रबहादुर केसी, अपाङ्ग/अल्पसङ्ख्यक कोटामा दाङ निवासी बासुदेव घिमिरे र महिला कोटामा एमाले नेत्री रामकुमारी झाँक्री उम्मेदवार हुनुहुन्छ ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट अन्य कोटामा नवलपरासी पश्चिम निवासी वृहस्पति अधिकारी, महिला कोटामा पाल्पा निवासी दुर्गाकुमारी भण्डारी र अपाङ्ग÷अल्पसङ्ख्यक कोटामा बाँके निवासी सर्जन विक उम्मेदवार छन् । यस्तै, राष्ट्रिय जनमोर्चाबाट अन्य कोटामा प्युठान निवासी बोमबहादुर खत्री र महिला कोटामा प्युठानकै पद्मा पण्डित उम्मेदवार रहेका छन् ।
लुम्बिनी प्रदेशमा यसपटक तीन सय जना मतदाता रहेका छन्, जसमा प्रदेश सभा सदस्य ८३ जना र प्रदेशका १२ जिल्लाका एक सय नौ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी जम्मा तीन सय जना मतदाता छन् ।