जीवछ यादव
लहान, माघ ११ गते । लहान नगरपालिका–१ र २ मा बसोबास गर्ने करिब तीन सय घरपरिवार मुसहर समुदायले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुरक्षित आवास र शौचालय निर्माणको विश्वसनीय प्रतिबद्धता जनाउने दल तथा उम्मेदवारलाई मात्र मतदान गर्ने बताएका छन् ।
लहान नगरपालिका–१ निवासी सन्तोष सदायले भन्नुभयो, “खुला आकाशमुनि खाना पकाउने चुल्हो अगाडि एक धुर जग्गामा घर बनाउने कि शौचालय ? प्रत्येक चुनावमा सबै दलले सुरक्षित घर बनाइदिने आश्वासन दिए, तर कसैले पूरा गरेनन् । यसपटक विश्वसनीय आधार भएको दल र उम्मेदवारलाई मात्रै मत दिनेछु ।”
लहान नगरपालिकामा करिब आठ हजारको सङ्ख्यामा रहेको मुसहर समुदायको यही मागलाई दलित अभियन्ता सोनिया सदायले पनि प्राथमिकताका साथ उठाइरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “यसपटक मुसहर समुदायको मत मदिरा र पैसामा बिक्री हुँदैन । लहान नगरपालिका–१ मा शीतलहरका बेला मदिरा सेवनका कारण दुई महिनामै आठ जनाको मृत्यु भयो । शिक्षा, स्वास्थ्य, आवास र रोजगारी संवैधानिक हक हुन्, तर कुनै सरकारले यसको ग्यारेन्टी गरेन । अब मत खेर फालिँदैन ।”
एउटै घरमा पाँच–पाँच जनासम्म सुतेर रात बिताउनुपर्ने बाध्यता रहेको मुसहर समुदाय अब कति पीडा सहिरहने ? गर्मी, जाडो र वर्षामा बस्न सुरक्षित घर नहुँदा उकुसमुकुसमा जीवन बिताउँदै आएको लहान–१ की मनसर सदाय बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ, “यस बस्तीमा ४० वर्ष नपुग्दै मदिरा सेवनकै कारण मृत्यु भइरहेको छ । मुसहर समुदाय ठुलो मानवीय सङ्कटमा छ ।”
लहान नगरपालिका–१ मा १३९ र वडा नम्बर २ मा १९७ घरपरिवारमा शौचालय छैन । आठ वर्षअघि खुला दिसामुक्त घोषणा गर्न सिफारिस रोकिएपछि प्रहरी परिचालन गरी चुल्हो र देवताघरसँगै टाँसिएर बनाइएका चर्पीहरू अहिले प्रयोगविहीन अवस्थामा रहेको विकन परियोजनाका समूह नेतृत्वकर्ता इन्जिनियर कविन्द्र पुडासेनीले जानकारी दिनुभयो । उहाँका अनुसार लहान नगरपालिकामा १६ प्रतिशत अर्थात् चार हजार २०१ घरमा शौचालय छैन । सबैभन्दा बढी लहान नगरपालिका–२४ मा करिब पाँच सय घरपरिवार शौचालयविहीन भएर खुला दिसा गर्न बाध्य छन् ।
लहान नगरपालिका, विकन परियोजनाअन्तर्गत वाटरएडको सहयोगमा चारवटा सामुदायिक शौचालय निर्माण गरिएको छ । तर जग्गाको अभाव, कमजोर आर्थिक अवस्था, शौचालयको फोहोर व्यवस्थापन, जनचेतना र शिक्षाको कमीका कारण खुला दिसामुक्त घोषणा गरिएको आठ वर्षमै समस्या देखिएको लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “अब दीर्घकालीन समाधानका लागि वडा, नगरपालिका र सरोकारवालासँग मिलेर अघि बढ्ने गृहकार्य भइरहेको छ।”