राममणि दाहाल
मकवानपुर, माघ ११ गते । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा आइतबार निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ ।
दुई वटा मतदान केन्द्र रहने उक्त मतदानस्थलमा प्रदेश सभाका सदस्यका लागि (क) मतदान केन्द्र र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि (ख) मतदान केन्द्र बनाइएको प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेश, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँले मतदान कार्य बिहान ९ बाट ३ बजेसम्म हुने र मतदान सकिएसँगै मतगणना गरिने बताउनुभयो । निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् ।
बागमती प्रदेशबाट महिलातर्फ एक र अन्य क्षेत्रबाट एक गरी दुई सदस्यका लागि चार पार्टीका छ जनाको उम्मेदवारी रहेको छ ।
महिलातर्फ कांग्रेसबाट चितवनकी गीता देवकोटा र एमालेबाट अन्यतर्फ काठमाडौँका प्रेमप्रसाद दंगाल उम्मेदवार हुनुहुन्छ ।
यस्तै, नेकपाको तर्फबाट अन्यतर्फ सिन्धुपाल्चोकका प्रेमप्रसाद सापकोटा र महिलातर्फ काठमाडौँकी सरोजकुमारी झा तथा नेमकिपाबाट महिलातर्फ काठमाडौँकी कविता महर्जन र अन्यतर्फ भक्तपुरका विक्रम ढुकुछुले उम्मेदवार बन्नुभएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशका ११० सदस्यीय प्रदेशसभा र ११९ स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा नगरप्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना रहेको निर्वाचन मण्डल रहेको छ । तर आज हुने निर्वाचनमा १० जना मतदाता घटेर ३३८ जनाको मात्र मताधिकार रहेको छ ।
कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक, एमाले र नेपाली कम्युनिष्ट पार्टीका दुई–दुई गरी छ जना प्रदेश सभा सदस्यले पदबाट राजीनामा दिएका छन् । काठमाडौँ महानगरपालिका, भरतपुर महानगर पालिका र धुलिखेल नगरपालिकाका नगरप्रमुखले पदबाट राजीनामा दिनुभएको छ ।
यस्तै, कांग्रेसबाट निर्वाचित नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा निलिम्बित हुनुभएको छ ।
प्रदेश सभा सदस्यको ५३ र नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको १९ मतभार रहेको छ ।
शनिबार कांग्रेस र एमालेका मतदाताहरुको हेटौँडामा भएको भेलामा दुवै पार्टीका नेताहरुले आफ्ना उम्मेदवारलाई मतदान गर्न निर्देशन दिएका थिए ।
कांग्रेसको तीन हजार ९४१ र एमालेको दुई हजार ४४६ मतभार गरी मतभार छ हजार ३८७ मतभार रहेको छ ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको दुई हजार ६१३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६५५, नेपाल मजदुर किसान पार्टीको १९७, हाम्रो नेपाली पार्टीको १०६ र स्वतन्त्रको १९ मतभार रहेको छ ।
आगामी फागुन २० गते पदावधि सकिने १८ जना राष्ट्रिय सभा सदस्यमध्ये बागमती प्रदेशबाट दुई जना सदस्यको लागि निर्वाचन हुँदैछ ।