• ११ माघ २०८२, आइतबार

सबै वैदेशिक लगानी स्वचालित मार्गबाट

blog

यसअघि स्वचालित मार्गबाट अधिकतम ५० करोड रुपियाँ लगानी स्वीकृत गर्ने व्यवस्था थियो 

काठमाडौँ, माघ ११ गते । सबै किसिमको वैदेशिक लगानी स्वचालित मार्गबाट स्वीकृत हुने भएको छ । 

सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने अधिकतम सीमा हटाएसँगै अटोमेटिक रुटबाट जति पनि लगानी स्वीकृत हुने भएको हो । स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्न पाउने व्यवस्थासँगै लगानीकर्तालाई सहज हुने अपेक्षा गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तोकिएका व्यवसायका क्षेत्रमा स्वचालित मार्गबाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृति दिने निर्णय गरेको थियो । यसअघि स्वचालित मार्गबाट ५० करोड रुपियाँ लगानी स्वीकृत गर्ने व्यवस्था थियो ।  

उद्योग विभाग विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका प्रमुख प्रशान्त बोहोराले विदेशी लगानीको माथिल्लो सीमा हटाएसँगै लगानीकर्ताले स्वचालित मार्गबाट जतिपनि लगानी स्वीकृत गर्न सक्ने जानकारी दिनुभयो । नेपालमा लगानी गर्न घरमै बसेर लगानी स्वीकृत गर्न सकिने उहाँले जानकारी दिनुभयो । यसअघि ५० करोड रुपियाँभन्दा बढीको लगानी स्वीकृत गर्न उद्योग विभागमा जानुपर्ने थियो । यसअघि सूचना प्रविधिमा आधारित उद्योगमा भने स्वचालित मार्गबाट विदेशी लगानीको स्वीकृति गर्दा लगानीको न्यूनतम सीमा लागु नहुने व्यवस्था गरेको थियो । विभागले वैशाख २०८१ अटोमेटिक रुटमार्फत विदेशी लगानी स्वीकृति हुने प्रणाली कार्यान्वयनमा ल्याएको थियो ।

सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्थाका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ को पहिलो संशोधन गरेको थियो । विदेशी लगानी गर्ने उद्योग क्षेत्रमा ऊर्जामूलक उद्योग, कृषि तथा वन पैदावारमा आधारित उद्योग, पूर्वाधार उद्योग, पर्यटन उद्योग, सूचना प्रविधिमा आधारित उद्योग, सेवामूलक उद्योग र उत्पादनमूलक उद्योग रहेका छन् ।

उनन्चालिस अर्बको लगानी प्रतिबद्धता

विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा ३९ अर्बको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता (एफडिआई) आएको छ । चालु आवको साउनदेखि पुससम्म ४७५ परियोजनामार्फत ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो । छ महिनामा ४६० वटा साना, आठ वटा मझौला र सात वटा ठुला उद्योगमा लगानी प्रतिबद्धता आएको छ । 

क्षेत्रगत रूपमा कृषि क्षेत्रमा १३ परियोजनाका लागि २१ अर्ब ८८ करोड, पर्यटन क्षेत्रमा १४५ वटा परियोजनाका लागि १० अर्ब ५४ करोड २० लाख, सेवामूलक क्षेत्रका ३१ परियोजनामा तीन अर्ब ४६ करोड ६० लाख, उत्पादन मुलुक क्षेत्रका २७ परियोजनाका लागि दुई अर्ब तीन करोड र सुचना प्रविधि क्षेत्रमा २५७ वटा परियोजनाका लागि एक अर्ब सात करोड ८४ लाख रुपियाँ लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । 

विभागका अनुसार सुरुदेखि हालसम्म सात हजार ७१३ परियोजनामार्फत छ खर्ब ७५ अर्ब ४३ करोड ३३ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता धेरै आए पनि भित्रिने लगानी भने न्यून रहेको छ । 

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि मङ्सिरसम्म सात अर्ब ४७ करोड रुपियाँ लगानी भित्रिएको छ । छिमेकी मुलुक भारत, चीन, कतार, कोरिया, सिङ्गापुर, आयरल्यान्डलगायतका मुलुकबाट नेपालमा लगानी आउने गरेको छ ।