टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), माघ ११ गते । गुल्मीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधी जनबोध मावि रुरु क्षेत्र गाउँपालिका–५ ले जितेको छ । तम्घासमा रहेको खुकुरी युथ क्लवले माघ ६ देखि १० गतेसम्म इस्मा गाउँपालिका –१ झरनास्थित बिपी पार्कमा क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो । जनबोध माविले गत वर्षको बिजेता जसहयोग मावि रेसुङ्गा–५ लाई पराजित गरेको छ ।
प्रमुख अतिथि इस्मा गाउँपालिका–१ का वडा अध्यक्ष शेरबहादुर कुवँरले प्रतियोगितामा बिजेता जनबोधले नगद २५ हजार पाँच सय ५५ र उपबिजेता जनसयोग माविले १५ हजार पाँच सय ५५ रुपियाँसहित ट्रफी, मेडल एवम् प्रमाणपत्र प्रदान गर्नुभयो ।
प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरु मात्र सहभागि थिए । प्रतियोगितामा जनसहयोग मावि, सिद्धबाबा मावि, महेन्द्र मावि, लिटल स्टार इङ्लिस बोर्डिङ स्कुल, ब्राइटर इङ्लिस बोर्डिङ स्कुल, नयाँगाउँ मावि सहभागी थिए । त्यस्तै गण्डकी इङ्लिस बोर्डिङ स्कुल, भगवती मावि, रेसुङ्गा मावि, भाडगाउँ मावि, जनजागृती मावि, जनबोध मावि, रेन्बो इङ्लिस बोर्डि स्कूल, दुर्गाभवन मावि, आदर्श विध्या आश्रम, पालुखा मावि र बुद्व मावि गरि कुल १७ विध्यालय सहभागी भएको क्लवका खेल संयोजक कृष्ण श्रीसले जानकारी दिनुभयो ।
पछिल्लो समय नेपालमा क्रिकेटप्रतिको रुची बढ्दै गएकाले विद्यालयस्तरबाटै क्रिकेट खेलाडी उत्पादन गर्ने एवम् उनीहरुको प्रतिभा पहिचान गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको क्लवका अध्यक्ष निशान टन्डनले बताउनुभयो । गत वर्ष २१ हजार पुरस्कार राखिएकोमा यो वर्ष २५ हजार पुराइएको छ । गत वर्षको खुकुरी क्रिकेट कप रेसुङ्गा नगरपालिका–५ को जनसहयोग माविले जितेको थियो । क्लबले खेलसँगै सामाजिक क्षेत्रमा ठूलो योगदान गर्दै आएको छ ।
बर्सेनि होली उत्सव गर्ने क्लबले तिहारमा भैलो खेलेर उठेको रकम सिद्धबाबा माविमा अक्षय कोष बनाएर गायन प्रतिभा जन्माउने उदेश्य राखेको क्लब अध्यक्ष टण्डनले बताउनुभयो । साथै टोलमा सरसफाइ, फोहोर सङ्कलनका लागि डस्विन वितरण, होर्डिङबोर्ड निर्माण र आफ्नै खुकुरी ब्यान्ड मार्फत विभिन्न साँस्कृतिक कार्यक्रम गर्दै आएको छ ।