• ११ माघ २०८२, आइतबार

प्रथम लिङ्तेप गोल्डकपमा दुई खेल हुँदै

blog

सेमिफाइनलमा पुग्न सफल आयोजक रातोका खेलाडीहरू । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू 
फुङलिङ, पुस ११ गते ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी आमन्त्रित प्रथम लिङ्तेप गोल्डकपमा आइतबार दुई खेल हुने भएको छ । बसन्त पञ्चमीको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा सञ्चालित गोल्ड कपमा आज क्वाटरफाइनका दुई खेल हुने भएको हो ।

जसमा पहिलो खेलमा साथीभाइ युवा क्लब फुङलिङ र पुवाजुङ फुटबल क्लब इलामबीच प्रतिस्पर्धा हुने छ । यस्तै, दोस्रो खेलमा पृथ्वी लेस्नमाया युथ क्लब खाम्लुङ र कुम्मायक कुसायक पाँचथरबिच प्रतिस्पर्धा हुने छ । शनिबार भएको खेलमा मानाभारा युथ स्पोर्टिङ क्लब खेजेनिमलाई ४–१ गोल अन्तरले पराजित गर्दै प्रगतिशील युवा क्लब आयोजक रातो सेमिफाइनलमा प्रवेश गरेको हो ।

यस्तै शुक्रबार भएको उद्घाटन खेलमा लालिमा युवा क्लब ढुङ्गेसाँघुले आयोजक निलोलाई ७–३ गोल अन्तरले पराजित गरेको छ । यो सँगै लालिमा युवा क्लब ढुङ्गेसाँघु पनि सेमिफाइनलमा प्रवेश गरी सकेको छ ।

तुलसी स्मृति प्रतिष्ठान खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगिताका विजेता टिमले तीन लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुने टिमले एक लाख ५२ हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद दुई हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई जनही ४ हजार रुपियाँ र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई आठ हजार रुपियाँ प्रदान गरिनेछ । फुटबलको माध्यमबाट मेरिङदेनमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले गोल्डकपको आयोजना गरिएको हो । प्रतियोगिताको फाइनल खेल माघ १३ गते हुनेछ  । प्रतियोगिता सञ्चालन गर्न करिब ११ लाख रुपियाँ लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।