हरिकृष्ण ऐडी
मुगु, माघ १० गते। चिसो बढेसँगै जिल्लाको विभित्र ठाउँमा हिमपात सुरु भएको छ । शुक्रबार रातिदेखि नै परेको हिमपातले जनजीवन प्रभावित भएको छ ।
हिमपातका कारण जिल्लाको छायानाथ रारा नगरपालिका , सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिका लगायतका क्षेत्रमा घाम लाग्न सकेको छैन ।
घाम नलाग्दा जिल्लामा तापक्रम अझै घट्दै गएको छ । चिसो बढेपछि नागरिकको जनजीवन प्रभावित भएकाले चिसोबाट जोगिनका लागि शुक्रबार छायानाथ रारा नगरपालिकाले भेडा चरनका लागि गोठालालाई लेकमा नजान आग्रह गरेको छ।
छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बालबालिकालाई मात्र नभई ज्येष्ठ नागरिक पनि प्रभावित भएको भन्दै जाडो बढेको बेला बुढापाका घरभित्रै न्यानो भएर बस्नु उपयुक्त रहेको सुझाव दिनुभएको छ ।
ज्येष्ठ नागरिक, बालबालिका चिसो बाट जोगिनका लागि न्यानो कपडा र तातोपानी नियमित प्रयोग गर्न उहाँको सुझाव छ ।
चिसो बढेपछि बालबालिकालाई विद्यालय जान समस्या भएको छायानाथ रारा नगरपालिका वडा नं– २ की जयलक्ष्मी मल्ल बताउनुहुन्छ । चिसोले गर्दा विभिन्न स्वास्थ्य समस्या हुन सक्ने भएकाले चिसोबाट जोगिनुपर्ने जिल्ला अस्पताल मुगुका डा. दिपक शाहीको सुझाव छ । चिसोका कारण खास गरेर निमोनिया, विभिन्न भाइरल रोग लाग्न सक्ने उहाँको भनाइ छ ।
चिसोबाट जोगिनका लागि न्यानो कपडा लगाउनुपर्ने, जस्ता उपाय अपनाउन सकिने स्वास्थ्यकर्मीको सुझाव रहेको छ । त्यसैगरी, तातो पानी र तातो झोलिलो पदार्थ खाएमा फाइदा हुने डा. शाहीले बताउनुभयो ।