किएभ, युक्रेन, माघ १० गते । युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि भएको रूसी आक्रमणमा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । देशभर हवाई हमलाको चेतावनी जारी गरिएको छ ।
किएभका सैन्य अधिकारीले ड्रोन र ब्यालेस्टिक मिसाइलको खतरा रहेको जानकारी दिएका छन् । किएभका मेयर भिताली क्लित्स्कोले टेलीग्राममा लेख्नुभयो,“किएभमा ठूलो आक्रमण भइरहेको छ । कृपया आश्रय स्थलबाट बाहिर ननिस्कनुहोस् । केही गैर-आवासीय भवनमा क्षति पुगेको छ ।”
अहिलेसम्म एक जनाको मृत्यु भएको छ र चार जना घाइते भएका छन् । घाइते मध्ये तीन जनालाई अस्पतालमा भर्ना गरिएको छ । ड्रोनको अवशेषले केही भवनमा आगो लगाएको छ भने राजधानीका केही क्षेत्रमा तातो पानी र जलसेवा अवरुद्ध भएको छ । किएभ बाहिरका चार जना थप घाइते भएका छन् ।
पूर्वी युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा मेयर इगोर तेरेखोवका अनुसार इरानी निर्माण शहेद ड्रोनले केही आवासीय भवनमा क्षति पुर्याएको छ । प्रहरीले खार्किभमा १५ जना घाइते भएका छन् र दुई स्वास्थ्य संस्था पनि क्षतिग्रस्त भएको बताएको छ ।
यी आक्रमण त्यस्तो समयमा भएका छन्, जब रूस, युक्रेन र अमेरिकाका वार्ताकारले अबुधाबीमा चार वर्ष लामो युद्ध अन्त्य गर्ने योजनामा पहिलो प्रत्यक्ष वार्ता गरेका थिए । युक्रेनी राष्ट्रपति भोलोडिमिर जÞेलेन्स्कीले भूमि विवाद अझै प्रमुख अड्चन बनेको बताउनु भएको छ, र मस्कोले किएभलाई पूर्वी डोनबास क्षेत्रबाट फिर्ता हुन दबाव दिइरहेको छ । रासस/एएफपी