अनिल पराजुली
हेटौँडा, माघ १० गते । स्थानीय उत्पादनको प्रवर्धन, बजारीकरण तथा रोजगार सिर्जनामा सहयोग पु¥याउने उद्देश्यले घरेलु उत्पादन प्रवर्धन प्रदर्शनी, नृत्य प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी मेला हुने भएको छ ।
हेटौँडा उपमहानगरपालिका –१० को आयोजनामा माघ १६ र १७ गते मेला हुन लागेको हो । हेटौँडा –१० स्थित बसपार्कमा आयोजना हुने प्रदर्शनीमा हेटौँडा उपमहानगरका –१९ वटै वडामा स्थानीयस्तरमा उत्पादन भएका घरेलु उत्पादनको प्रदर्शनी तथा बिक्री गरिने वडाअध्यक्ष फुर्वादोर्जे लामाले जानकारी दिनुभयो ।
१९ वटै वडाका किसान तथा व्यवसायीले उत्पादन तथा निर्माण गरेका सामग्री प्रदर्शनीमा राखिने छन् । प्रदर्शनीका लागि घरेलु उत्पादनका एक सयवटा स्टल रहनेछन् । स्टल राख्ने उत्पादक तथा व्यवसायीका लागि यातायात सुविधा उपलब्ध गराइने र स्टल निःशुल्क प्रदान गरिने वडाअध्यक्ष लामाले बताउनुभयो ।
उत्कृष्ट प्रदर्शनी गर्ने सहभागीलाई पुरस्कृत पनि गरिनेछ । मौलिक सांस्कृतिक नृत्य प्रतियोगितामा पनि १९ वटै वडाको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३५ हजार र २० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिनेछ । सान्त्वना पुरस्कारस्वरुप चार जनालाई जनही ५ हजार रुपियाँ प्रदान गरिने जानकारी दिइएको छ ।
प्रदर्शनीअवधिमा मौलिक खानाका परिकारका स्टल, ज्येष्ठ नागरिक सम्मान, वडाभित्रका संस्थागत तथा सामुदायिक विद्यालयबाट एसइई र माध्यमिक तहमा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी सम्मान, राष्ट्रिय खेलाडी सम्मान, अटोमेकानिक मिस्त्री सम्मान, उद्यमशीलता सम्मान, कृषक सम्मानलगायत विभिन्न विधामा सम्मान कार्यक्रम आयोजना गरिने वडा कार्यालयले जनाएको छ ।