एटलान्टा, माघ १० गते । अमेरिकाको पूर्वी क्षेत्रका दुई–तिहाइ भूभागमा शक्तिशाली हिउँदे आँधीको पूर्वानुमान गरिएसँगै करोडौं मानिस विद्युत आपूर्ति अवरुद्ध हुने र घर तताउने सुविधा गुम्ने जोखिममा परेका छन् ।
दक्षिण क्यारोलिनाको न्युएबरी इलेक्ट्रिक कोअपरेटिभका प्रमुख कार्यकारी अधिकृत किथ एभरीले आवश्यक जनशक्ति र उपकरण तैनाथ गर्न टोलीसँग समन्वय गरिरहेको बताउनुभयो । एभरीका अनुसार सन् २०२४ मा १४ हजार ग्राहकलाई प्रभावित पारेको थियो, तर यस पटकको आँधी अझै खतरनाक हुन सक्ने उहाँको चिन्ता छ । “मलाई बरफे आँधी सबैभन्दा डर लाग्छ,” एभरीले भन्नुभयो ।
अधिकारीले वर्षाका कारण विद्युत प्रणालीमा गम्भीर असर पर्न सक्ने भन्दै अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् । दक्षिणी राज्यमा विद्युत अवरुद्ध हुनु भनेको केवल बत्ती निभ्नु मात्र नभई घर तताउने सुविधा नै बन्द हुनु हो । अमेरिकी जनगणना ब्युरोका अनुसार अलाबामा, जर्जिया, टेक्सास, टेनेसी, क्यारोलिनाका राज्य लगायत धेरै क्षेत्रमा अधिकांश घर विद्युतबाट नै तताइन्छन् ।
टेक्सासको सन् २०२१ को सङ्कटबाट सिकाइ
सन् २०२१ मा आएको विन्टर स्टर्म ‘युरी’ ले टेक्सासको विद्युत प्रणाली पाँच दिनसम्म ध्वस्त पारेको थियो, जसका कारण २४६ जनाको ज्यान गएको थियो । विशेषज्ञका अनुसार उक्त सङ्कट मुख्यतः विद्युत केन्द्र र प्राकृतिक ग्यास प्रणालीलाई चिसो मौसम अनुकूल नबनाइएकाले भएको थियो ।
ग्रिडरेभेन नामक कम्पनीका प्रमुख कार्यकारी अधिकृत जर्ज रुटेले युरीबाट धेरै पाठ सिकिएको भए पनि अत्यधिक चिसोका बेला ट्रान्समिसन लाइनमा समस्या देखिन सक्ने चेतावनी दिनु भएको छ । टेक्सासका गभर्नर ग्रेग एबोटले राज्यको विद्युत ग्रिड अहिले पूर्ण रूपमा तयार रहेको दाबी गरे पनि बरफले तारमा भार बढ्दा र रुख ढल्दा स्थानीय रूपमा विद्युत अवरोध हुन सक्ने स्वीकार गरेका छन् ।
कमजोर समुदाय बढी प्रभावित
विशेषज्ञका अनुसार विद्युत अवरोधले सामाजिक असमानता पनि उजागर गर्छ । अध्ययन अनुसार हिस्पानिक समुदायमा बढी विद्युत अवरोध देखिएको छ भने अश्वेत समुदायमा लामो समयसम्म विद्युत नआउने समस्या बढी देखिएको छ । विद्युत बन्द हुँदा चिकित्सकीय उपकरण प्रयोग गर्ने, शिशु स्याहार गर्ने तथा न्यून आय भएका परिवार झनै जोखिममा पर्छन् ।
न्युयोर्क सिटी युनिभर्सिटीकी समाजशास्त्री जेनिफर लर्डका अनुसार करिब छ जनामध्ये एक अमेरिकी परिवार पहिल्यै ऊर्जा बिल तिर्न ढिला गरिरहेको अवस्थामा थप चिसोले आर्थिक बोझ अझै बढ्न सक्छ । “आँधी सकिएको एक-दुई महिनापछि ठूलो बिल आउँछ, जसले धेरै परिवारलाई विद्युत विच्छेदको जोखिममा पुर्याउँछ,” उहाँले भन्नुभयो ।
विद्युत कम्पनी सतर्क
दक्षिणपूर्वी अमेरिकाका विद्युत सेवा प्रदायकले सम्भावित लामो समयसम्मको विद्युत अवरोधका लागि तयारी गर्न उपभोक्तालाई आग्रह गरेका छन् । ड्यूक एनर्जीले उत्तर र दक्षिण क्यारोलिनामा लाखौं ग्राहकलाई सेवा दिने भन्दै हजारौं कर्मचारीलाई तयारी अवस्थामा राखेको जनाएको छ । त्यसै गरी, टेनेसी भ्याली अथोरिटीले विगतका अनुभवबाट सिकेर सयौं मिलियन डलर लगानी गरी विद्युत प्रणालीलाई चिसो मौसम अनुकूल बनाइएको दाबी गरेको छ । रासस/एपी