• १० माघ २०८२, शनिबार

दुई पत्रकारलाई हरि–जमुना पत्रकारिता पुरस्कार

blog

पत्रकार थारुलाई हरि–जमुना पत्रकारिता पुरस्कार प्रदान गरिंदै । सिराज खान

सिराज खान

नेपालगन्ज, माघ १० गते । स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले यस वर्षको हरि–जमुना पत्रकारिता पुरस्कार बाँकेका पत्रकारद्वय रुपनी जिएम र भगतराम थारुलाई प्रदान गरेको छ ।

संघद्धारा शुक्रबार नेपालगन्जमा आयोजित एक कार्यक्रममा नेपालगन्ज उपमहानगरका नगर प्रमुख प्रशान्त विष्ट, वरिष्ठ पत्रकार पूर्णलाल चुके, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेका निवर्तमान अध्यक्ष नमस्कार शाह लगायतले पुरस्कृत पत्रकारलाई संयुक्त रुपमा नगद पुरस्कार, सम्मानपत्र र दोसल्ला ओढाएर प्रदान गर्नुभयो ।

शिक्षक माधवी शाहले स्वर्गीय माता पिताको नामबाट संघमा स्थापना गरेको हरिजमुना स्मृती अक्षय कोषमार्फत प्रदान गरिएको पुरस्कारको राशी जनही पाँच हजार १५१ रुपियाँ रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपालगन्जका नगर प्रमुख विष्टले राज्यको चौथो अङ्गको रुपमा रहेको पत्रकारिता क्षेत्रमा स्वतन्त्रता र निश्पक्षताको खाँचो रहेको बताउँदै लोकतन्त्रलाई बलियो बनाउन दलीय पत्रकारिताको अन्त्य हुनुपर्ने कुरामा जोड दिनुभयो । 

उहाँले प्रजातन्त्रको विकास र जनताको चाहना पूरा गर्न पत्रकारलाई कुनै दलको बिल्ला नलगाएर स्वतन्त्र छाडिदिनुपर्ने सुझाव दिनुभयो । स्वतन्त्र पत्रकार संघ बाँकेका अध्यक्ष मन भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार पूर्णलाल चुके, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरी, महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे, अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाह, गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाका पूर्वअध्यक्ष तेजविक्रम शाह, हरिजमुना स्मृति अक्षय कोषकी सञ्चालक माधवी शाहलगायतले अहिलेको सोसल मिडियाको युगमा पत्रकारको जिम्मेवारी थप बढेको कुरामा जोड दिनुभयो ।