अनिल पराजुली
हेटौँडा, माघ १० गते । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका दुई निर्वाचन क्षेत्रका १५ जना स्वतन्त्र उम्मेदवारले आफ्नो चुनाव चिह्न पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवारलाई रोज्न लगाएर चुनाव चिह्न प्रदान गरेको हो ।
मकवानपुरको निर्वाचन क्षेत्र नं.१ का स्वतन्त्र उम्मेदवार अमर दंगाले खसीको टाउको, अमिक परियारले काउली, टिका प्रसाद चौलागाईले चेसको गोटी, प्रमिला कुमारी खतिवडाले ठेकी, मठु पुलामी मगरले फिरफिरे, राकेश कुमार शर्माले आँप, राज कुमार खड्काले प्रेसर कुकर, राजाराम बोगटीले जिप, सुशिला सुवेदीले झोला र ज्ञान सागर लामालाई कैची चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै मकवानपुरको निर्वाचन क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार अमृत वलले त्रिभुज, कृष्ण राम श्रेष्ठले जिप, प्रतिक्षा बानियाँले ठेकी, रमेश आचार्यले क्यामरा र सितामाया वलले ट्रफी चुनाव चिह्न पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ । चुनावी मैदानमा रहेका राजनीतिक दलको चिन्ह भने निर्वाचन आयोगमा दर्ता भएको चुनाव चिह्न अनुसार निर्धारण भएको प्रदेश निर्वाचन अधिकारी हरि प्रसाद ढकालले जानकारी दिनुभयो ।
दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ४४ जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन आयोगले तोकेको समयभित्र कुनैपनि दल र स्वतन्त्रका उम्मेद्वारले उम्मेद्वारी फिर्ता नलिएपछि सबै उम्मेद्वारी कायम भएको हो । मकवानपुरमा निर्वाचन क्षेत्र नम्बर–१ मा २३ जना र क्षेत्र नम्बर–२ मा २१ जनाले उम्मेदवारी दिनुभएको छ । क्षेत्र नम्बर–१ बाट विभिन्न दलबाट १३ जना र १० जना स्वतन्त्र तथा क्षेत्र नम्बर–२ बाट विभिन्न दलबाट १६ जना र ५ जना स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दिनुभएको छ ।