• ७ जेठ २०८१, सोमबार

क्याम्पस प्रमुखमाथि बलात्कारको आरोप : पदबाट राजीनामा

blog

बैतडी, असार  ३० गते । बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि बलात्कारको आरोप लागेको छ । 

आरोप लागेका नेगीविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै कैलालीकी एक महिलाले दिएको जाहेरीका आधारमा नेगीविरुद्ध इलाका प्रहरी कार्यालय पाटनमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको हो । 

पीडित महिलाले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि क्याम्पस प्रमुख नेगीलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारी भएको प्रहरीले जनाएको छ । 

कैलाली घर भई बैतडीको पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको छ । 

यही असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो । पीडित महिलाको बुधबार स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षण रिपोर्ट आउन बाँकी छ । क्याम्पस प्रमुख नेगीले पदबाटसमेत राजीनामा दिएका छन् ।