पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानी व्रत गर्ने परम्परा छ । विधिपूर्वक व्रत लिनेले दिनहुँ स्नान गरी चोखो खाएर मध्याह्नमा विधिपूर्वक स्वस्थानी परमेश्वरीको पूजा र उनको माहत्म्य वाचन वा श्रवण गर्छन् । विधिपूर्वक व्रत गर्न नसक्नेले दैनिक बिहान वा बेलुकी श्रीस्वस्थानी व्रतकथा पढ्ने–सुन्ने चलन छ । कतिपयले भने माघ शुक्ल पूर्णिमाका एक दिन मात्र विधिपूर्वक स्वस्थानीको व्रत लिन्छन् । पूजा गर्छन् ।
स्वस्थानी नेपालीको मौलिक व्रत हो । पुराणमा उल्लेख भए पनि (पद्मपुराणमा १५३ श्लोकको स्वस्थानी व्रतकथा छ) भारतीय सनातनीले यो व्रत गर्दैनन् । नेपाली समाजमा स्वस्थानी व्रत र यसको कथाको ठुलो महत्व छ । इतिहासकार तथा संस्कृति अध्येताका अनुसार पहिले काठमाडौँ उपत्यका, त्यसमा पनि नेवार समुदायले मात्र लिने व्रत उनीहरूको बसाइसराइँसँगै देशभर फैलियो । अरू जातिले पनि अपनाउन थाले । नेपालीभाषी रहेका भारतका सिक्किम र दार्जिलिङलगायत स्थानमा समेत पुग्यो । अहिले विश्वका जुनसुकै कुनामा परिवारसहित बसोबास गरिरहेका नेपालीले स्वस्थानी व्रत गरेको देखिन्छ ।
गुह्येश्वरी– पवित्र पाशुपत क्षेत्रमा बागमती नदीको किनारमा समस्त सनातनीको आस्थाको केन्द्र बनेर रहेकी छिन्, गुह्येश्वरी । स्वस्थानी व्रतकथामा गुह्येश्वरी देवीको उत्पत्तिबारे यस्तो प्रसङ्ग आउँछ, पत्नी सतीदेवीको असामयिक देहत्यागले आहत भएका महादेव उनको शरीर बोकेर पृथ्वी भ्रमण गरिरहन्छन् । महादेव यसरी विक्षिप्त भई हिँदा सृष्टि प्रक्रियामै असर पर्ने भन्दै भगवान् विष्णुले सतीदेवीको मृत शरीरमा औँसा (कुहाउने ब्याक्टेरिया) हालिदिन्छन् । यसको प्रभावले सतीदेवीका शरीरका क्रमशः एक एक अङ्ग झर्न थाल्छन् । बोकेर हिँडेका महादेवलाई पत्तो हुँदैन । सतीदेवीका अङ्ग खसेका प्रत्येक स्थानमा शक्तिपीठ स्थापना हुन्छ ।
किराँतेश्वर– किराँतेश्वरलाई नेपालका ६४ ज्योतिर्लिङ्गमध्ये सिद्धलिङ्गका रूपमा किराँतेश्वरको महिमा छ । स्वस्थानी व्रतकथामा महादेवले कसरी किराँतेश्वरको रूप लिए भन्ने उल्लेख छ । विवाहपछि पार्वतीलाई छकाउने ध्येयका साथ महादेव किराँतस्वरूप भएर श्लेषमान्तक वनमा रहन्छन् । ध्यानदृष्टिले विचार गरेर हेर्दा महादेव त्यो अवस्थामा बसेको थाहा पाउँदा पार्वती पनि किराँतीनी भई वनमा पुग्छिन् । महादेव उनको रूप र कुरामा भुल्छन् । पार्वतीले महादेवलाई छक्याएर माइती (हिमालय पर्वत र मेनकाको घर पु¥याउँछिन् । यसबाट लज्जित भएका महादेव श्लेषमान्तक वनको उत्तरतर्फ किराँतेश्वर महादेव भएर रहन्छन् ।
वागमती/गौरीघाट– बल्ल–बल्ल भेट्टाएर पार्वतीद्वारा ससुराली पु¥याइएका महादेव फेरि सुटुक्क भाग्छन् । पार्वती फेरि विलाप गर्न लाग्छिन् । कहाँ गए होलान् भनेर पुनः ध्यानदृष्टिले विचार गर्दा किराँतेश्वर शिवलिङ्ग भई बसको थाहा पाउँछिन् । उनलाई खुसी बनाउने ध्येयले बागमतीको किनारमा पुगी नित्य स्नान गरी किराँतेश्वरको पूजा गर्न थाल्छिन् । गौरीले स्नान गरेको हुनाले बागमतीको त्यो तटलाई गौरीघाट भनिएको स्वस्थानी व्रतकथामा बताइएको छ । अहिले त्यहाँ गौरीको मूर्ति छ ।
श्लेषमान्तक वन/मृगस्थली– पार्वतीलाई छकाउनका निम्ति महादेव श्लेषमान्तक वनको नैऋत्यकोणमा रहेको ठुलो तलाउमा मृग भई क्रीडा गरिरहेका हुन्छन् । श्लेषमान्तक (लप्सीको) वन र मृग भई विचरण गरेको यो स्थल मृगस्थलीको रूपमा स्वस्थानीमा आएको छ । अहिले मृगपालन गरी पौराणिक झल्को दिन खोजिए पनि त्यसको उचित व्यवस्थापन हुन सकेको देखिँदैन ।
गोकर्ण– महादेवलाई नदेखेपछि ब्रह्मा, विष्णु र इन्द्र उनलाई खोज्न हिँड्छन् । तपस्यारत पार्वतीले महादेव रहेको स्थान बताइदिन्छिन् र कुनचाहिँ मृग महादेव हुन् भन्ने पनि चिनाइदिन्छन् । तिनै जना महादेवरूपी मृगको नजिक पुगेर अनेक स्तुति गर्छन् तर महादेवरूपी मृग उफ्री उफ्री भाग्छ । यसरी पार लाग्ने नदेखेपछि उनीहरू घेरा हालेर मृग समात्ने निष्कर्षमा पुग्छन् । घेरा हाल्दा पनि उफ्रेर भाग्न खोज्दा तिनैले सिङ समात्न पुग्छन् । सिङको फेदमा विष्णुले माझमा ब्रह्मा र टुप्पोमा इन्द्रले समातेका हुन्छन् । मृग भाग्छ । फलस्वरूप सिङ उप्किन्छ । तिनै देवताले बल गरेर समातेका हुनाले तीन टुक्रा हुन पुग्छ ।
सिङ भाँचिएपछि उनीहरूलाई अपराधबोध हुन्छ । महादेवको तपस्या गर्न थाल्छन् । क्षमा माग्छन् । महादेवले केही दोष नलाग्ने बताउँदै इन्द्रका हातको इन्द्रलोकमा र विष्णुका हातको पातालमा लगी स्थापना गर्नु भन्छन् । ब्रह्माको हातमा रहेको नेपालको गोकर्णमा स्थापना गर्नु भनी महादेवले आज्ञा गर्छन् । त्यसपछि महादेव बागमती किनार पुगी पार्वतीलाई साथमा राखी कैलाश प्रवेश गरेको सन्दर्भ आउँछ । त्यो त गोकर्णको सन्दर्भ सतीदेवीको अङ्ग पतनका बेला पनि आएको छ ।
साँखु/शालीनदी– स्वस्थानी व्रतकथामा साँखु वा शङ्खरापुर नाम आउँदैन तर लावण्यदेशको प्रसङ्ग आउँछ । संस्कृति र इतिहासका अध्येता पौराणिक सन्दर्भलाई समेत अध्ययन गरी अहिलेको साँखु नै लावण्यदेश भएको मान्छन् । सबै पक्षबाट समृद्ध भएकाले यो राज्यको नाम लावण्यदेश रहेको बताइन्छ । श्रीस्वस्थानी व्रतकथामा गोमा ब्राह्मणीका पुत्र नवराज यही लावण्य देशको राजा भएको उल्लेख छ । गोमाको व्रतको प्रभावले नवराजलाई हरिहरले दर्शन दिएको र राजा बन्ने वरदान दिएको बताइन्छ ।
त्यहीँ लावण्यदेशको प्रमुख नदीका रूपमा शालीनदीको उल्लेख छ । आफ्ना पति राजा भएको खबर पाएसँगै खुशीयालीमा हतार गरी निस्केकी चन्द्रावती लावण्य देशतर्फ लाग्दै गर्दा ढिलो भएको भन्दै डोली बोक्नेसँग क्रोधित हुन्छिन् । अप्सराहरूले गरेको श्रीस्वस्थानीको व्रतको प्रसाद खाँदै गरेका डोलेहरूलाई दुव्र्यवहार गर्छिन् । प्रसाद कुल्चेर मिल्काउँछिन् । त्यसैको प्रभावले बिच बाटोमा पुग्दा ठुलो हुरी आउँछ । चन्द्रावती त्यही हुरीमा परेर शालीनदी किनारमा आइपुग्छिन् । अनावश्यक व्रmोधको परिणामस्वरूप बर्सौंसम्म दुःख पाई नदी किनारमा रहन्छिन् । बर्सौंपछि स्वस्थानी देवीकै व्रतले उनी पापमुक्त भई लावण्यदेशकी महारानी बन्न पुग्छिन् ।
पहिले काठमाडौँ उपत्यकालाई मात्र नेपाल भनिन्थ्यो । यसै कारण काठमाडौँको सेरोफेरो पुराणमा नेपाल नाममा आएको छ । स्वस्थानीमा पनि त्यही सन्दर्भ हो । काठमाडौँको मखनमा स्वस्थानी देवीको मूर्ति छ । यसै गरी साँखुस्थित शालीनदी किनारमा उनको मन्दिर छ । साँखुमा त स्वस्थानीसँग सम्बन्धित एक महिने माधवनारायणको मेला नै चल्छ । त्यहाँ व्रतालु विधिपूर्वक व्रत गर्छन् । बिहानै शालीनदीमा स्नान गरी दिउँसो स्वस्थानी र माधवनारायणको पूजा गर्ने बेलुकी माहत्म्य सुन्ने गर्छन् । बिचमा उनीहरू उपत्यकाका विभिन्न तीर्थस्थलको भ्रमण गर्छन् । यस्तै किसिमको व्रत भक्तपुरस्थित हनुमानघाटमा पनि चल्छ । शालीनदीमा माधवनारायणले पनि स्वस्थानीको व्रत बसेको प्रतीकका रूपमा एक महिने व्रतको परम्परा चलेको बताइन्छ ।
एक महिना रौनक रहँदा यी तीर्थस्थल अरू समयमा बेवास्ताका सिकार बन्ने गरेका छन् । पवित्र पाशुपत क्षेत्र भएर बग्ने बागमती नदीलाई प्रदूषित बनाइएको छ । एक महिना मेला चल्ने भक्तपुरको हनुमानघाटको अवस्था पनि त्यस्तै छ । अन्य तीर्थस्थलको सरसफाइ र संरक्षणमा पनि पर्याप्त ध्यान पुगेको देखिँदैन । सरोकारवाला निकायका साथै प्रत्येक श्रद्धालु यी सम्पदा तथा संस्कृति जोगाउन र विकृतिमुक्त बनाउन सचेत बन्नु पर्छ ।