• १० माघ २०८२, शनिबार

वैदेशिक सहायताको धेरै खर्च बजेट प्रणालीभन्दा बाहिरबाट

blog

धेरै जसो गैरसरकारी संस्थाले नेपालमा खर्च गर्ने ठुलो रकम गैरबजेटरी

काठमाडौँ, माघ १० गते । नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता रकम राष्ट्रिय बजेट प्रणाली र सरकारी कोषभन्दा बाहिरबाट खर्च हुने क्रम निरन्तर बढ्न थालेको छ । सरकारको वार्षिक बजेट पुस्तिका (रातो किताब) मा समावेश हुने रकमलाई बजेटभित्र (अन बजेट) र रातो किताबमा समावेश नभई खर्च हुने रकमलाई बजेटबाहिर (अफ बजेट) को खर्च मानिन्छ । 

त्यस्तै रातो किताबमा समावेश भएको रकम पनि केही सरकारको ढुकुटी अर्थात् सञ्चित कोष प्रणालीमार्फत (अन ट्रेजरी) खर्च हुने गरेको छ भने ठुलो रकम कोषबाहिर (अफ ट्रेजरी) खर्च हुने गरेको छ । 

अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको डेभलपमेन्ट कोअपरेसन रिपोर्ट सन् २०२२/२३ अनुसार उक्त आर्थिक वर्षमा नेपालले पाएको कुल विकास सहायता रकमको साढे २२ प्रतिशत बजेट प्रणालीभन्दा बाहिरबाटै खर्च भएको देखिएको छ । 

प्रतिवेदन अनुसार नेपालले सन् २०२२/२३ मा एक अर्ब ४० करोड अमेरिकी डलर बराबरको विकास सहायता प्राप्त गरेकामा एक अर्ब १० करोड हाराहारी अर्थात् करिब ७७.५ प्रतिशत बजेट अन्तर्गत र ३० करोड ९३ अमेरिकी डलर अर्थात् २२.५ प्रतिशत बजेटबाहिर आएको देखिन्छ । बजेट अन्तर्गतमध्ये पनि ४०.३ प्रतिशत अर्थात् ४२ करोड ८१ लाख अमेरिकी डलर मात्र सरकारी कोषबाट खर्च भएको छ ।

सन् २०२१/२२ मा नेपालले प्राप्त गरेको कुल वैदेशिक विकास सहायताको २०.८ प्रतिशत रकम सरकारको वार्षिक बजेटबाहिरबाट खर्च भएको छ । अर्थात् अघिल्लो वर्षको तुलनामा सन् २०२२/२३ मा बजेट बाहिरको वैदेशिक सहायता १.७ प्रतिशत विन्दुले बढेको छ । त्यस्तै सन् २०१९/२० मा १६.५ प्रतिशत र सन् २०२०/२१ मा १५.७ बजेट बाहिरैबाट खर्च भएको थियो । सन् २०२०/२१ यताका चार वर्षमा मात्रै त्यस्तो खर्च साढे छ प्रतिशत विन्दुले बढेको छ । 

पछिल्ला वर्षमा विकास सहायता रकम पनि निरन्तर घटिरहेको छ । सन् २०२१/२२ मा नेपालले दुई अर्ब ४० करोड अमेरिकी डलर बराबरको वैदेशिक विकास सहायता प्रतिबद्धता पाएकामा वास्तविक प्राप्ति अमेरिकी डलर एक अर्ब ४० करोड बराबर थियो । त्योभन्दा अघिल्लो वर्ष अर्थात् सन् २०२०/२१ मा नेपालले एक अर्ब ७० करोड अमेरिकी डलर बराबर विकास सहायता लिएको थियो भने सन् २०१९/२० मा पछिल्लो १० वर्षयताकै उच्च दुई अर्ब अमेरिकी डलर बराबर विकास सहायता प्राप्त गरेको थियो । विकास सहायता प्राप्तिको यो तथ्याङ्क हेर्दा सन् २०१९/२० मा २६.९ प्रतिशतले बढेको थियो भने पछिल्ला वर्षमा निरन्तर घटिरहेको छ ।

बजेटबाहिरको सहायता कुन वर्षमा कति ?

अर्थ मन्त्रालयको प्रतिवेदन अनुसार धेरै जसो गैरसरकारी संस्थाले नेपालमा खर्च गर्ने ठुलो रकम गैरबजेटरी देखिन्छ । अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०१९/२० मा नेपालले दुई अर्ब अमेरिकी डलर बराबर विकास सहायता प्राप्त गर्दा एक अर्ब सात करोड अमेरिकी डलर बजेट अन्तर्गत आएको थियो । जुन ८३.५ पाँच प्रतिशत बराबर हो । उक्त वर्ष प्राप्त भएको कुल वैदेशिक सहायतामा १६.५ प्रतिशत बजेट बाहिरको खर्च देखिन्छ । 

त्यस्तै उक्त वर्ष ५२.८ प्रतिशत मात्र अनट्रेजरी खर्च छ । सन् २०२०/२१ मा एक अर्ब ७० करोड अमेरिकी डलर वैदेशिक विकास सहायता प्राप्ति हुँदा एक अर्ब ४० करोड अमेरिकी डलर बजेट अन्तर्गत र २६ करोड ४७ लाख अमेरिकी डलर बजेट बाहिरबाट आएको छ । ८४.३ प्रतिशत बजेटभित्रबाट र १५.७ प्रतिशत बजेट बाहिरबाट खर्च भएको छ । उक्त वर्ष ६६.६ प्रतिशत विकास सहायता सरकारी कोष प्रणालीबाट खर्च भएको छ । त्यस्तै सन् २०२१/२२ मा वैदेशिक विकास सहायतामध्ये बजेट अन्तर्गत ७९.२ र २०.८ प्रतिशत बजेट बाहिरको थियो । उक्त वर्षमा अन ट्रेजरी खर्च भएको विकास सहायताको अंश ५७.४ प्रतिशत बराबर छ । सन् २०२२/२३ सम्म आइपुग्दा एक अर्ब ४० करोड अमेरिकी डलर बराबरको विकास सहायता प्राप्त गरेकामा एक अर्ब १० करोड हाराहारी अर्थात् करिब ७७.५ प्रतिशत बजेट अन्तर्गत र ३० करोड ९३ अमेरिकी डलर अर्थात् २२.५ प्रतिशत बजेट बाहिरबाट आएको देखिन्छ । बजेट अन्तर्गतमध्ये पनि ४०.३ प्रतिशत अर्थात् ४२ करोड ८१ लाख अमेरिकी डलर मात्र सरकारी कोषबाट खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।