• १० माघ २०८२, शनिबार

‘आफ्नै सामर्थ्य बिर्संदा निजी क्षेत्र कमजोर’

blog

रङ्गेली समाचारदाता

विराटनगर, माघ १० गते । देशको अर्थतन्त्र र रोजगारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको निजी क्षेत्र आफ्नै सामर्थ्य बिर्सेर अलमलमा परेको सरोकारवालाले बताएका छन् । विराटनगरमा राष्ट्रिय व्यावसायिक पहल तथा उद्योग सङ्गठन मोरङले नेपाल उद्योग वाणिज्य महासङ्घ, कोशीसँगको सहकार्यमा शुक्रबार आयोजना गरेको बृहत् अन्तर्क्रियामा उनीहरूले यस्तो बताएका हुन् । 

‘निजी क्षेत्र : प्रश्न, पहिचान र प्रतिबद्धता’ विषयक अन्तर्क्रियामा देशमा औद्योगिक तथा व्यावसायिक विकास र विस्तारबाट अर्थतन्त्रमा पु¥याउँदै आएको योगदानका प्रमुख हिस्सेदार निजी क्षेत्र आत्मगत रूपमा कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरिएको थियो । 

नेपाल व्यावसायिक पहलका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशीले निजी क्षेत्रको प्रतिनिधित्व गर्ने संस्थाबिच नै विभाजन आइरहेकोमा चिन्ता गर्नुभयो । उहाँले एकताबद्ध हुनुपर्ने यो क्षेत्रमा व्यक्तिगत उद्योग र व्यवसायका लागि स्वार्थगत राजनीतिक सम्झौता हाबीउन्मुख रहेको बताउनुभयो । यसले कुनै निश्चित उद्योग वा व्यापारीलाई फाइदा पुगिरहेका बेला समग्र निजी क्षेत्र निरीह बन्नु परिरहेको उहाँको भनाइ थियो । 

अध्यक्ष जोशीले जेनजी आन्दोलनपछि राज्य कमजोर र निरीह बन्दा निजी क्षेत्र त्रसित भएर बाँच्न परेको बताउनुभयो । उहाँले देश निर्वाचनमा गएको भए पनि त्यसले दिने राजनीतिक निकासमा निजी क्षेत्र कति सुरक्षित ? भन्ने अहिले अन्योल रहेको बताउनुभयो । उहाँले अब निजी क्षेत्रले प्रश्न, पहिचान र एकताका लागि प्रतिबद्ध हुने कुरामा साझा मत बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

समूह छलफलमा नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर तथा अर्थविज्ञ डा. चिरञ्जीवी नेपालले नेपालमा निजी क्षेत्रले आफ्नो अस्तित्व स्वीकार गर्न नसकेको बताउनुभयो । उहाँले आफैँ लगानी गर्ने, आफैँ मुनाफा आर्जन गर्ने, रोजगार सिर्जना गर्ने त्यति मात्रै नभई राज्यलाई कर बुझाएर राष्ट्रिय अर्थतन्त्र चलायमान बनाउने निजी क्षेत्र आवश्यक पर्दा पहल लिन सक्ने निम्छरो देखिएको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ पूर्वअध्यक्ष भवानी राणाले विकासको आधार मानिनुपर्ने निजी क्षेत्रको मनोबल कमजोर रहेको बताउनुभयो । उहाँले वर्तमान अन्तरिम सरकारले त निजी क्षेत्रलाई स्वीकार नै नगरेको गुनासो गर्दै आगामी फागुन २१ गतेको निर्वाचनमा भाग लिने दलको निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण पनि प्रस्ट नभएको बताउनुभयो । 

कोशी प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष सुबोधराज प्याकुरेलले राज्यमा सामाजिक न्याय र नागरिकको सुरक्षा नभएको महसुस भएमा व्यावसायिक वातावरण बिग्रने बताउनुभयो । उहाँले निजी क्षेत्र अहिले ठिक त्यही अवस्थाबाट गुज्रँदै गएकोमा चिन्ता गर्नुभयो । 

उद्योग सङ्गठन मोरङका पूर्वअध्यक्ष राकेश सुरानाले साझा धारणाबाट विभाजित हुँदा त्यसको असर जेनजी आन्दोलनमा निजी क्षेत्रले बेहोर्नु परेको बताउनुभयो । उहाँले दलहरू प्रतिबद्ध नहुनु मात्रै नभई निजीको कमजोर पहलकदमीले पनि जेनजी आन्दोलनलाई सहयोग गरेको विचार राख्नुभयो । 

राष्ट्रिय व्यावसायिक पहलका संयोजक किशोर प्रधानले जेनजी आन्दोलनको पृष्ठपोषक माओवादीको सशस्त्र सङ्घर्ष भएको आरोप लगाउनुभयो । उहाँले सशस्त्र सङ्घर्ष अन्तिम हुँदै गर्दा जन्मिएका युवाले राज्यसत्ता लिन ध्वंसको बाटो लिनुपर्ने बुझाइ राखेको उहाँको बुझाइ छ । 

उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले अनेक असजिलाका बिच पनि देशप्रतिको मायाले निजी क्षेत्रलाई बाँधिरहेको बताउनुभयो । राठीले असजिलो परिस्थिति झेल्न बारम्बारको सिकाइ धेरै भइसकेको बताउनुभयो ।